
काठमाडौं, ४ फागुन: छैटौँ इन्टरटेन्मेन्ट टेबलटेनिस प्रतियोगिताको उपाधि राजेन्द्र बज्राचार्य, मुकेश महर्जन र अनिता महर्जनले जितेका छन् ।
नख्खुस्थित बुल्स क्लबमा टिम इभेन्टको स्पर्धामा मात्र प्रतिस्पर्धा भएको उक्त प्रतियोगिताको फाइनल खेलमा राजेन्द्र, मुकेश र अनिताको टोलीले रवीन्द्र शाक्य, हरिप्रसाद खरेल र राम महर्जन सम्मिलित टोलीलाई २–१ ले पराजित गर्दै उपाधि जितेको हो ।
इन्टरटेन्मेन्ट टेबलटेनिस टुर्नामेन्ट, ललितपुरद्वारा आयोजित प्रतियोगितामा किरण ब्यञ्जन्कार, डिकेन महर्जन र चिरीकाजी ब्यञ्जन्कार तेस्रो भए । पहिलो हुनेलाई थाइल्यान्डको पाँच दिनको भ्रमण, दोस्रोेलाई पोखराको तीन दिनको सम्पूर्ण प्याकेज र तेस्रोलाई होनर एक्स ५ मोबाइल पुरस्कारस्वरुप प्रदान गरिएको थियो ।
एकदिने उक्त प्रतियोगितामा ४४ समूहका एक सय ३२ खेलाडी सहभागी थिए । एक टोलीमा पुरुष÷महिलासहित तीन खेलाडी राख्न पाउने प्रावधान थियो । टोलीमा ३ डबल्स खेल भएका थिए ।
विजेतालाई बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, अखिल नेपाल टेबलटेनिस सङ्घका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, आयोजक इन्टरटेन्मेन्टका अध्यक्ष एवं अखिल नेपाल टेबलटेनिस सङ्घका उपाध्यक्ष सुमन खड्गीलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गर्नुभयो ।