काठमाडौँ, ७ फागुनः राष्ट्रिय समाचार समिति (रासस) ले आजदेखि ‘रासस मिडिया सङ्ग्रहालय समाचार बुलेटिन’ कक्ष सर्वसाधारणका लागि खुला गरेको छ । राससको ६४औँ वार्षिकोत्सव मूल समारोहका अवसरमा आज सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो कक्षको उद्घाटन गर्नुभयो ।
विसं २०१८ फागुन ७ गते रासस स्थापना भएदेखि हालसम्मका समाचार बुलेटिनलाई सङ्ग्रहालयमा सङ्ग्रहित गरिएको छ । राससको महत्वपूर्ण सम्पत्ति र उपलब्धिका रूपमा रहेको समाचार बुलेटिनलाई पत्रकारिता गरिरहेका विद्यार्थी र मिडिया अध्येताका लागि खुला गरिएको राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले बताउनुभयो ।
उहाँले रासस राज्यको संस्था भएको र यसका बुलेटिन र समाचार सामग्रीहरू राससको मात्रै नभएर सम्पूर्ण नेपालीको सम्पत्ति भएकाले ती बुलेटिन अध्ययन अनुसन्धान गर्ने अवसर सबैले पाउन भन्ने उद्देश्यले बुलेटिन कक्ष अध्ययन अनुसन्धानका लागि खुला गरिएको बताउनुभयो ।
रासस समाचार बुलेटिन कक्षले मिडियाको अनुसन्धानमा रुचि राख्ने, आमसञ्चारका विद्यार्थी र क्रियाशील पत्रकारलाई लाभ हुनाका साथै नेपालमा समाचार ‘एजेन्सी’को विकासका सन्दर्भमा अध्ययन गर्न सघाउ पुग्ने राससका महाप्रबन्धक सिद्धराज राईले बताउनुभयो । भूकम्पले राससको भवन भत्काएपछि गोदाममा थुप्रिएका र जीर्ण भएका बुलेटिनलाई सङ्ग्रह गरी राससको इतिहासलाई जीवन्त बनाउन र अभिलेखलाई दुरुस्त बनाउन बुलेटिन कक्ष स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।
राससले चौबिसैँ घण्टा राष्ट्रिय तथा अन्तरराष्ट्रिय महत्वका आधिकारिक र विश्वसनीय समाचार सम्प्रेषण गर्दै आएको छ । राससको ६४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित मूल समारोह समितिको कार्यक्रम जारी छ ।
फोटो किताब लोकार्पण
राष्ट्रिय समाचार समिति (रासस)ले वार्षिकोत्सवका अवसरमा ‘राससको फोटो किताबः गणतन्त्रको १६ वर्ष’ पुस्तक प्रकाशन गरेको छ ।
राससको ६४ औँ वार्षिकोत्सव मूल समारोहका अवसरमा आज सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त पुस्तक सार्वजनिक गर्नुभयो । राज्य र सरकारको कामलाई प्रचारप्रसार गर्ने उद्देश्यले राससले गणतन्त्र दिवस २०८० को सन्दर्भमा ‘हाम्रो संस्कृति ः हाम्रो सम्पदा’ र गणतन्त्र दिवस–२०८१ को सन्दर्भमा ‘गणतन्त्रको उपलब्धि ः समृद्धिका लागि पूर्वाधार’ शीर्षकमा तस्बिर प्रदर्शनी गरेको थियो ।
उक्त प्रदर्शनीमा राखिएका तस्बिरलाई सङ्ग्रह गरेर ‘रासस फोटो किताब ः गणतन्त्रका १६ वर्ष’ पुस्तक प्रकाशन गरेको राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले बताउनुभयो । यो फोटो किताबले नेपालमा विकास तथा कुनै काम भएन भनेर स्थापित गर्न खोजिएको गलत भाष्यलाई चिर्न सहयोग पुग्ने विश्वास लिएको कार्यकारी अध्यक्ष झाले बताउनुभयो ।
सरकारले मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछिका १६ वर्षमा राजनीतिक स्थायित्वसँगै, सीमित स्रोत, साधन र प्रविधिका बीच नागरिकका आशा तथा अपेक्षालाई अधिकतम सम्बोधन गर्न प्रयत्न गरिरहेका छन् । यसबीचमा गठन भएका सङ्घ, प्रदेश र स्थानीय सरकारले सडक, पुल, जलविद्युत्, सञ्चारजस्ता पूर्वाधारको विकासलाई तीव्रता दिएका छन् । संविधानले परिलक्षित गरेको समतामूलक समाज निर्माणका लागि देखिने गरी काम भइरहेका छन् ।
यो वस्तुतथ्यलाई नजरअन्दाज गरेर देशमा केही भएन भन्नेजस्तो गरी नकारात्मक भाष्य सिर्जना गरी राजनीतिक तहमा प्राप्त सबै उपलब्धिलाई नकार्ने र जनतालाई दिग्भ्रमित तुल्याउने कार्यलाई थोरै भए पनि चिर्न यो फोटो किताबले सहयोग गर्ने कार्यकारी अध्यक्ष झाले बताउनुभयो । मुलुकमा भएको विकास र प्रगतिका विषयमा नागरिकलाई सही र सत्य कुराको जानकारी गराउनु पनि राष्ट्रिय समाचार समिति (रासस) जस्तो राज्यको समाचार एजेन्सीको मुख्य दायित्व भएको उहाँको भनाइ छ ।
पुस्तकमा राससकर्मीहरूले कैद गरेर राससको बुलेटिनमा प्रकाशित भएका तस्बिर र अतिआवश्यक तर रासससँग नभएका केही तस्बिरलाई सौजन्यका रूपमा सङ्ग्रह गरिएको राससका महाप्रबन्धक एवं पुस्तक प्रकाशन उपसमितिका संयोजक सिद्धराज राईले बताउनुभयो । “सकेसम्म महत्त्वपूर्ण तस्विरलाई समेट्ने प्रयास गरेका छौँ, यो पुस्तक एक प्रस्थानविन्दु मात्र हो”, उहाँले भन्नुभयो । पुस्तक सामूहिक प्रयासबाट गरिएको रचनात्मक कामको एक ठोस उपलब्धि भएको उहाँले बताउनुभयो ।
–––