
काठमाडौं, ७ फागुन । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (एनएसी) र जापानको राष्ट्रिय ध्वजावाहक जापान एयरलाइन्स(जेएएल)बीच व्यापार विस्तारको लागि द्धिपक्षीय आपसी सम्झौता (इन्टरलाईन पार्टनरसिप एग्रीमेण्ट)भएको छ ।
यस संझौता बमोजिम नेपाल वायुसेवा निगमको सिधा उडान मार्फत् जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलसम्म निगमको जहाजमा र त्यसपछिको छोटो तथा छिटो कनेक्टिङ फ्लाइटमार्फत् विभिन्न अमेरिकी तथा पश्चिमा मुलुक एवं कोरियाको यात्रा गर्न सहज हुनेछ ।
यो सम्झौता अनुसार नेपाल वायुसेवा निगमको टिकटबाट जापान एयरलाइन्सको कनेक्टिड. फ्लाइटमार्फत् विश्वभरिको अन्तिम गन्तव्यसम्मको लागि यात्रु तथा ब्यागेज चेक–इन सुविधा प्राप्त हुनेछ भने त्यसैगरी सोही नेटवर्कहुँदै विश्वभरिबाट पर्यटकहरु सहज रुपमा नेपाल भ्रमण गर्न सक्ने छन् । यसबाट नेपाल वायुसेवा निगमको व्यापार विस्तार हुनुको साथै समग्र देशको पर्यटन प्रवर्द्धन र विकास तथा विदेशी मुद्रा आर्जनमा टेवा पुग्ने विश्वास निगमले लिएको छ ।
निगमले यो कार्य कार्यकारी अध्यक्ष युबराज अधिकारीको विशेष निर्देशन र बजार व्यवस्थापन विभागको विशेष पहलमा लामो समय देखिको निरन्तर समन्वय तथा वार्ताबाट सम्पन्न भएको यस सम्झौतापश्चात् नेपाल र जापान दुई देशका राष्ट्रिय ध्वजावाहकमार्फत् एकआपसमा व्यापार विस्तार हुने, यात्रु वर्गको यात्रा सहज तथा किफायती हुने, विश्वभरका विभिन्न मुलुक एवं जापानको विभिन्न आन्तरिक गन्तव्य सम्म निगमकै टिकटमा विश्व स्तरिय सेवा प्रदान गर्न सकिने छ ।
यो सहित निगमसँग प्यासेन्जर इन्टरलाई पार्टनरसीप एग्रीमेण्ट गर्ने एयरलाइन्सको संख्या २५ पुगेको छ भने ंकार्गो इन्टरलाइन पार्टनरसीप एग्रीमेण्ट गर्ने एयरलाइन्सको संख्या २८ रहेको छ र आगामी दिनमा निगमको जहाजको संख्या थपिएसँगै निगमको विश्वव्यापी संजाल अझै फैलिने विश्वास लिइएको छ ।
यसबाट नेपाल र जापान बीचको आर्थिक एवं व्यवसायिक सम्बन्धलाई थप सुदृढ बनाउन योगदान पुग्ने र यात्रुहरुलाई जापानका विभिन्न गन्तव्यहरुमा सहज पहुँचको अवसर प्रदान हुने एवं जापानी पर्यटकहरुलाई पनि उच्च स्तरको सुविधा सहित नेपाल भ्रमणको लागि आकर्षक टुर प्याकेजहरु बनाउन सहज हुने विश्वास गरिएको छ ।