
मस्को(रुस), २६ असार । रसियामा भैरहेको २१औं संस्करणको फिफा विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा आज राती फ्रान्स र बेल्जियम भिड्दै छन् ।
नेपाली समयअनुसार राति पौने १२ बजे रूसको सेन्ट पिटरवर्ग मैदानमा खेल सुरू हुनेछ।
जारी विश्वकपमा युरोपबाहेक सबै महादेश बाहिरिसकेका छन्। आजको भिडन्त युरोपका दुई राष्ट्रबीच हुन लागेको हो।
एक पटकको विश्व विजेता फ्रान्स र विश्वकपको दाबेदार बेल्जियम बिचमाहुने खेलमा कस्को भाग्य चम्किन्छ यसै भन्न सकिन्न ।
३२ वर्षअघि मेक्सिकोमा भएको विश्वकपमा बेल्जियमले तेस्रो स्थानका लागि फ्रान्ससँगै खेलेको थियो।
रूसमा जारी विश्वकपमा पनि आज बेल्जियमले फ्रान्ससँगै सेमिफाइनलमा प्रतिश्पर्धा गर्न लागेको हो।
सन् २००६ र २०१० को विश्वकपमा छनोट हुन नसकेको बेल्जियमले आफूलाई सुधार्दै रसिया विश्वकपमा सनसनी मच्चाइरहेको छ।
बेल्जियमले घरेलु लिग परिमार्जन गर्दै व्यवस्थित बनाएपछि लिगले जन्माएका खेलाडी युरोपका ठूला क्लबमा स्थापित भए। अहिले बेल्जियम टोलीका ११ खेलाडी इङ्लिस प्रिमियर लिग खेलिरहेका छन्।
यता जर्मनीमा भएको सन् २००६ को विश्वकपमा उपविजेता रहेको फ्रान्सले त्यसपछि विश्वकपको सेमिफाइनल खेल्न लागेको यो पहिलो पटक हो।
१९९८ मा घरमै आयोजना गरेको विश्वकप उपाधि राखेको फ्रान्स रूसमा जारी विश्वकपमा सुरूदेखि नै बलियो दाबेदारका रूपमा प्रस्तुत गरिरहेको छ।
फिफा विश्व वरियतामा तेस्रो स्थानमा रहेको बेल्जियमले सातौं स्थानको फ्रान्सबीच अहिलेसम्म ७३ अन्तर्राष्ट्रिय खेल भएका छन्। विगतको नतिजा हेर्दा बेल्जियम बलियो स्थितिमा देखिन्छ। बेल्जियमले ३० खेलमा जित र १९ खेल बराबरी खेलेको छ। फ्रान्स २४ खेलमा विजयी भएको छ।
इतिहासको नतिजा जसको पक्षमा भए पनि अहिले दुवै टोली बलिया छन्। यही भिडन्तले रुसी विश्वकपको एक फाईनलिस्ट तयार गर्नेछ।
फ्रान्सले यसअघिका तीन मुख्य प्रतियोगितामा बेल्जियमलाई हराएको छ। जसमा दुई पटकको विश्वकप खेलमा छ। फ्रान्सले १९३८ मा विश्वकपको पहिलो चरणमा बेलिजयमलाई ३–१ ले हराएको थियो ।
सन् १९८६ मा तेस्रो स्थानका लागि भएको प्लेअफमा फ्रान्सले अतिरिक्त समयमा ४–२ को जित निकालेको थियो।
सन् १९८४ को युरोकपको समूह चरणमा फ्रान्सले बेल्जियमलाई ५–० ले पराजित गरेको थियो ।
फ्रान्सले सेमिफाइनलसम्मको यात्रा तय गर्दा लियोलन मेसीको अर्जेन्टिनाजस्तो दाबेदार टोलीविरुद्ध ४–३ को सनसनीपूर्ण नतिजा निकालेको थियो।
क्वार्टरफाइनलमा पनि बलियो रक्षापंक्ति रहेको उरुग्वेविरुद्ध सबैको अपेक्षाविपरीत २–० को जित निकाल्यो।
फ्रान्सले ६ पटक विश्वकपको सेमिफाईनल यात्रा तय गरेको छ । जसमा दुई पटक सन् १९९८ र सन् २००६ मा फाईनल यात्रा तय गरेको छ।
बेल्जियमको यो दोस्रो पटक विश्वकपको सेमिफाईनल यात्रा हो।
आज फ्रान्सका ब्लेज माटुईडी एक खेलको निलम्बपछि मैदान फर्कने छन्।
फ्रान्सका लागि स्कोर गर्न किलियन एम्बाप्पे, ओलिभर जिरौड र एन्टोनी ग्रिजम्यानजस्ता खेलाडीहरू छन् उनीहरूले पाउल पोग्बा, एन‘गोलो कान्टे र डिडियर मतौडीको बलियो साथ पाएको छ।
यस्तै बेन्जामिन पाभर्ड, सामुयल उम्टिटी, राफायल भरानले फ्रान्सको रक्षापंक्ति धान्नेछन्।
फ्रान्सलाई अनुभवी गोलरक्षक ह्युगो लोरिस पोस्टमा हुनुको फाइदा पनि छ।
प्रतियोगितामा फ्रान्सले ५ खेलमा ११ गोल गरेको छ भने ४ गोल मात्र खाएको छ।
समान तीन गोल गरेका ग्रिजम्यान र एम्बाप्पेले फ्रान्सको जितमा महत्वपूर्ण भूमिका खेलेका छन्।
यता समूहचरणमा इङ्ल्यान्ड हराउँदै शतप्रतिशत नतिजा निकालेको बेल्जियमले प्रि–क्वार्टरफाइनलमा दुई गोलले पछि परेको अवस्था उल्टाउँदै एसियाली टोली जापानमाथि ३–२ को नतिजा निकालेको थियो।
क्वार्टरफाइनलमा पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले पन्छाएको बेल्जियमले आफूलाई अब्बल ठहर्याएको छ।
बेल्जियमले जारी प्रतियोगितामा सबैभन्दा बढी १४ गोल गरिसकेको छ भने ५ गोल खाएको छ।
उसका लागि रोमेलु लुकाकु, इडेन हाजार्ड र केभिन डी ब्रुयनाले स्कोरिङ लाइन सम्हाल्ने छन्।
नासिर चाड्ली, मारोउनी फेलानी र एक्सेल विट्सले मिडफिल्ड सम्हाल्नेछन्।
यस्तै अनुभवी भिसेन्ट कोम्पनीले बेल्जियमको रक्षापंक्तिलाई पनि मजबुत बनाउनेछन्।
ब्राजिलविरुद्ध नायक रहेका चेल्सीका गोलकिपर थियाबाउट कोर्टियसले बेल्जियमको पोस्ट सुरक्षित राखेका छन्।