Prakash Adhikari March 1, 2025
बरहथवा (सर्लाही), १७ फागुनः नेपाली सेनाको भैरवी दल र महोत्तरीको करुणा क्लब सर्लाहीको हरिपुरमा जारी भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
हरिपुर नगरपालिका–७ चिताइनमा आज सम्पन्न सेमिफाइनल खेलमा विजयी हुँदै सेनाको भैरवी दल गण पाँच कुमारी र करुणा क्लबले कम्तीमा उपविजेताको उपाधि रक्षा गरेका हुन् । भैरवी दलले धनुषाको मिथिला विहारी नगरपालिकालाई ३–० को सोझो सेटमा पराजित गरेको हो । प्रतिस्पर्धामा भैरवीले २५–१७, २५–२१ र २५–२० को नतिजा निकाल्यो ।
यस्तै दोस्रो सेमिफाइनलमा महोत्तरीको करुणा क्लबले सर्लाहीको बड्कुर्वालाई ३–० को सोझो सेटमा पराजित गरेको हो । करुणाले बड्कुर्वालाई २५–२१, २५–२३ र २५–१८ ले पराजित गरेको आयोजक लक्ष्मीनाथ युवा क्लबका सल्लाहकार चेननारायण धामीले जनाकारी दिनुभयो । उहाँका अनुसार फाइनल खेल आइतबार हुनेछ ।
यस्तै प्रतियोगिताअन्तर्गत प्रदेशस्तरीय महिला भलिबलको लिग चरणको दुई खेल पनि आज सम्पन्न भएका छन् । आज दिउँसो महोत्तरी र सप्तरीबीच भएको प्रतिस्पर्धामा महोत्तरी विजयी भएको छभने बारा र सर्लाहीबीच भएको दोस्रो खेलमा बारा विजयी भएको हो ।
महिला टोलीको सेमिफाइनल र फाइनल खेलहरू आइतबार बिहान र दिउँसो खेलाइने भन्दै पुरुषतर्फको फाइनल खेल आइतबार हुने आयोजक क्लबका अध्यक्ष नरहरि धामीले बताउनुभयो । उहाँका अनुसार भलिबल खेल र खेलाडीको उर्वर भूमिका रूपमा रहेको यहाँ लक्ष्मीनाथ युवा क्लबको आयोजनामा हरेक वर्ष महाशिवरात्रिका अवसरमा अन्तर प्रदेशस्तरीय पुरुष र प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिता आयोजना हुँदै आएको छ ।
पुरुषतर्फ प्रतियोगिताका विजेता टोलीले सिल्ड, मेडल, प्रमाणपत्रसहित रु एक लाख र उपविजेता टोलीले रु ५० हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । विधागत उत्कृष्ट खेलाडीहरूलाई समेत पुरस्कारको व्यवस्था गरिएको क्लबको भनाइ छ । प्रतियोगितामा सर्लाही, महोत्तरी, धनुषा, बारा, सिन्धुली, मकवानपुर र एक विभागीय गरी नौ टोली सहभागी छन् ।
यस्तै महिलातर्फको प्रदेशस्तरीय भलिबल प्रतियोगिताका विजेताले रु १५ हजार नगदसहित सिल्ड, मेडल, प्रमाणपत्र र उपविजेता टोलीले नगद रु १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतिस्पर्धामा सर्लाही, बारा, सप्तरी र महोत्तरीका गरी चार टोली सहभागी भएका छन् । यहाँ विगत दुई दशक बढी समयदेखि भलिबल प्रतियोगिता आयोजना हुँदै आएको आयोजकको भनाइ छ ।
जिल्लास्तरीय, अञ्चलस्तरीय, क्षेत्रस्तरीय, प्रदेशस्तरीय हुँदै अहिले अन्तर प्रदेशस्तरीय भलिबल प्रतियोगिता आयोजना भइरहेको अध्यक्ष धामीले बताउनुभयो । यस प्रतियोगितालाई राष्ट्रियस्तरको प्रतिस्पर्धाका रूपमा लैजाने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।
Share Now