
काठमाडौं, १७ फागुन । तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरूष र महिला दुवै समूहको उपाधि नेपाल पुलिसले जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको फाइनलमा नेपाल पुलिसले नेपाली सेनाको टोलीलाई हराएको हो ।
पुरूषतर्फ फाइनल खेलमा नेपाल पुलिसले नेपाली सेनालाई २-१ को सेट अन्तरमा तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको ६४० केजी तौल समूहको उपाधि जितेको हो ।
महिलातर्फ फाइनलमा नेपाल पुलिसको टिमले नेपाली सेनाको टिमलाई २-१ सेटमा पराजित गरी महिला ५८० केजी तौल समूहको उपाधि जितेको हो ।
प्रतियोगिताको पुरुष ६४० केजी तौल समूहको विजेता पुरस्कार राशी रु एक लाख र महिला ५८० केजी तौल समूहको विजेता पुरस्कार राशी रु ६० हजार नेपाल पुलिसले प्राप्त गरेको छ भने दुवै समूहको उपविजेता नेपाली सेनाले पुरुष ६४० केजी तौल समूहको उपविजेता पुरस्कार राशी रु पचास हजार र महिला ५८० केजी तौल समूहको उपविजेता पुरस्कार राशी रु चालिस हजार प्राप्त गरेको छ ।
फागुन १६ गते सुरु भएको प्रतियोगितामा पुरुष ६४० केजी तौल समूहमा सात प्रदेश र तीन विभागीय टोली गरेर जम्मा दश टिमको सहभागिता रहेको थियो भने महिला ५८० केजी तौल समूहमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्विनी पाँच प्रदेश तथा तीन विभागीय टोली गरी जम्मा आठ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिता अन्तराष्ट्रिय डोरी तान महासंघ (टीडब्लुआइएफ) को नियमानुसार लिग फर्म्याटमा खेलाइएको डोरी तान टेक्निकल विभागका सदस्य तथा खेल नियन्त्रक ई. युवराज चौधरीले जानकारी दिए ।
नेपाल डोरी तान संघका अध्यक्ष भवानी प्रसाद पौडेलले सम्पूर्ण सहभागी टोलीहरू, आयोजक सदस्यहरू, टेक्निकल कमिटी र सहयोगीहरु सबैलाई धन्यवाद दिँदै सरकारको सहयोग पाएमा यो खेलले अन्तराष्ट्रिय स्तरमा नेपालको पहिचान बनाउने बताए ।