
काठमाडौं, २९ असार । ४५ दिनदेखि बीर अस्पतालको बेडमा अनसन बसेकी गोरखा फुजेलकी गंगामाया अधिकारीले शुक्रबार अनशन तोडेकी छिन्।
मानव अधिकारवादीको मध्यस्थतामा सरकारसंग दुई बूँदे सहमति भएपछि उनी अनशन तोड्न राजी भएकी हुन् ।
उनलाई मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस पियाएर अनशन तोडाएका हुन्।
सरकारका तर्फबाटकानुनमन्त्री शेरबहादुर तामाङले हस्ताक्षरसहि दुई बुँदे पत्र दिएपछि उनी अनसन तोड्न सहमत भएकी हुन्।
कानुन मन्त्रीको पत्रमा २०७२ असोजमा भएका पाँच बुँदे प्रतिवद्धता कार्यान्वयन गर्ने तथा त्यसको अनुगमन गरी प्रतिवेदन बनाउन सरकार र गंगामायाले तोकेको प्रतिनिधि रहेको अनुगमन समिति बनाउने लेखिएको छ।
२०७२ असोजमा भएको सहमतिमा एक करोडको अक्षय कोष स्थापना गर्ने र त्यसको ब्याजबाट उनको भरणपोषणको व्यवस्थापन गर्ने कुरा उल्लेख छ । त्यस्तै सो सहमति पत्रमा गंगामायाका छोराको खोजी गर्न एक समिति गठन गर्ने उल्लेख छ। उनका अर्का छोरा नुरप्रसाद अधिकारी बाबु आमा अस्पतालमा अनसन बसेदेखि नै बेपत्ता छन् ।
गंगामायाले १० दिनसम्म जुस मात्रै खाएर सरकारको प्रतिबद्धता हेर्ने र सरकारको रवैया हेरेर त्यसपछिको कदम चालिने बताएकी छन् । उनी छविलाल पौडेल पक्राउ परेको नपरेको हेर्न जेलमै प्रत्यक्ष हेर्न लालयित छन् ।
गंगामायाका पति नन्दप्रसादको अनशनकै क्रममा मृत्यु भएको थियो।
उनका छोरा कृष्णप्रसादलाई एसएलसीको परीक्षा सकेर चितवनमा आफन्तको घरमा गएको बेलामा तात्कालिन माओवादीका कार्यकर्ताले सुराकीको आरोप लगाउदै हत्या गरेका थिए । हत्याका मुख्य अभियुक्त भनिएका रुद्र आचार्य आयरल्याण्डमामा लुकेर बसेका छन्। उनलाई पक्राउन प्रहरीले डिफ्युजन नोटिस जारी गरेको छ।
कृष्णप्रसादको हत्यामा संलग्न अर्का आरोपी गोरखा फुजेलका ७८ वर्षीय छबिलाल पौडेलले सर्वोच्च अदालतमा आत्मसमर्पण गरिसकेका छन् । उनलाई पुर्पक्षका लागि केन्द्रीय कारागारमा राखिएको छ ।