
कम्पाला(युगाण्डा), २६ फागुन । युगान्डामा जारी वुमेन्स टी २० क्वाड्रान्गुलर सिरिजमा नेपाली महिला टोली आज हंगकंगसंग भिड्दै छन् ।
नेपाली महिला टोलीको यो तेस्रो खेल हो ।
हङकङसंगको आजको खेल युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ ।
नेपाली चेलीहरु पहिलो खेलमा नामिबियासँग पराजित भएका थिए । आइतवार सम्पन्न दोस्रो खेलमा भने नेपाली टोलीले घरेलु टोली युगाण्डालाई पराजित गरेको थियो।
यता पहिलो खेलमा युगान्डासँग पराजित हङकङले दोस्रो खेलमा नामिबियालाई पराजित गरेको थियो ।
नेपाल र हङकङबीचको पछिल्लो ५ खेलमा ३ मा नेपाल विजयी हुँदा १ खेल हङकङले जितेको छ ।
जारी सिरिजमा घरेलु टोली युगान्डा, नेपाल, नामिबिया र हङकङको सहभागिता छ ।
सिरिजमा सबै टोलीले एकअर्कासँग दुई खेल खेल्ने छन् । लिग चरणको खेलपछि शीर्ष २ टोलीबीच फाइनल हुनेछ ।
नेपाल २ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । समान अंक रहेपनि रनरेटमा पछि रहेकोले हङकङ चौथो स्थानमा छ ।