
काठमाडौं, १ साउन । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले मंगलबार राजधानीमा सरकारका विरुद्ध गरेको विरोध प्रर्दशनमा प्रहरी हस्तक्षे भएको छ । प्रहरीको लाठीचार्जबाट केही विद्यार्थीहरु घाइते भएको नेपाल विद्यार्थी संघले जनाएको छ ।
विना हातहतियार शान्तिपूर्ण रुपमा भेला भएर प्रदर्शन गर्न पाउने मौलिक हकको उपयोगमा समेत केपी ओली नेतृत्वको सरकारले नियन्त्रण गर्न खोजेको भन्दै नेपाली कांग्रेसले प्रहरी हस्तक्षेपको विरोध गरेको छ ।
नेपाल विद्यार्थी संघले के.पी. ओलीको सरकारले अधिनायकवाद लाद्न खाजेको, आम जनताको स्वास्थ्यसंग सरोकार राख्ने स्वास्थ्य शिक्षा संबन्धी विधेयक व्यापारिक स्वार्थमा ल्याउन खोजेको र जनभावना अनुरुप स्वास्थ्य विधेयक ल्याउने माग राख्दै जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बसिरहनुभएका डा. गोविन्द के.सी.को जीवन रक्षामा ध्यान नदिएको विषयलाई लिएर माइतीघरदेखि संसद भवनसम्म नाराबाजीसहित प्रदर्शन गरेको थियो ।
नेपाल विद्यार्थी संघका प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि झड्प भएको थियो ।
प्रहरीले लाठी चार्ज गर्दा केही प्रदर्शनकारी घाइते पनि भएका थिए ।
कांग्रेसद्धारा विरोध
नेपाल विद्यार्थी संघको नेतृत्वमा राजधानीमा भएको प्रर्दशनमा गरिएको प्रहरी हस्तक्षेपको नेपाली कांग्रेसले विरोध गरेको छ ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति प्रकाशित गर्दै संविधानले प्रदत्त गरेको शान्तिपूर्ण भेला हुन र प्रर्दशन गर्न पाउने अधिकारमाथिको यो हस्त.क्षेपले सरकारको अधिनायकवाद उन्मुख चरित्रलाई पुनः एकपटक उजागर गरेको बताउनुभएको छ ।
विज्ञप्तिमा चिकित्सा शिक्षा विज्ञहरुको सुझाव अनुरुप आएको अध्यादेशकै प्रावधान यथावत राखेर ल्याइनुपर्ने माग राख्दै जुम्लामा अनशनरत डा. के.सी.को जीवन जोखिममा पर्दै जाँदा समेत सोको सुनुवाई नगरेर सरकार अर्कातर्फ संवेदनाशून्य देखिएको बताउदै वार्तालाई परिणाममूलक बनाउन सरकार लचक हुनुपर्ने माग गरिएको छ ।
प्रवक्ता शर्माले डा. के.सी.को जीवन रक्षा गर्ने र कानूनी राजको स्थापना गर्नका लागि देशव्यापी रुपमा आन्दोलनको भावना बढिरहेको बेलामा त्यसलाई नजरअन्दाज गरेर सरकार भने रोम जल्दा निरोले बासुरी बजाएको मुद्रामा देखिएको उल्लेख गर्नुभएको छ ।
उहाँले सरकारलाई आम जनता चिढिने अवस्था रोक्न र सर्वसत्तावादी चरित्रलाई सुधार गर्नेतर्फ सरकार गम्भीर बनोस् भनी सचेत समेत गराउनुभएको छ ।