
देउखुरी(दाड.), ९ चैत्र । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज बागमती प्रदेशले १ सय ३१ रन अन्तरले कोशीलाई पराजित गरेको छ।
दाङमा भएको खेलमा बागमतीले कोशी प्रदेशलाई १ सय ३१ रनले पराजित गरेको हो । २ सय ४१ रनको लक्ष्य पछ्याएको कोशी २५.३ ओभरमा १ सय ९ रनमा समेटियो ।
कोशीका लागि अइस भट्टराईले ४९ बलमा ५ चौकासहित सर्वाधिक ३७ रन जोडे । सुजन थपलिया २५ र फिर्दोश अन्सारी २४ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
५ ब्याटरले रनको खाता खोल्न सकेनन् । बागमतीका लागि सूर्यले ९ ओभरमा २७ रन खर्चिएर ५ विकेट लिए । रिजन ढकालले ३ र साकार गजुरेलले २ विकेट लिए ।
त्यसअघि लमहिस्थित देउखुरी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको बागमती ४९.३ ओभरमा २ सय ४० रनको योगफल तयार गरेको थियो ।
बागमतीका लागि शुभ कंसाकारले २८ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ३९ रन जोडे । ओपनर आशुतोष घिरैया ४० बलमा ५ चौकाको सहयोगमा २९ रन बनाए ।
इशान पाण्डे र विपिन आचार्य समान २५ रनमा आउट हुँदा रिजन ढकाल २२ रनमा नट आउट रहे । सोनु देवकोटा १८, सूर्य १७ र गौतम केसी १६ रनमा आउट भए ।
बागमतीलाई रोक्ने क्रममा कोशीका लागि सुजन र प्रकाश कार्कीले समान २ तथा ज्ञानेन्द्र श्रेष्ठ, दिपेश कंडेल र फिर्दोशले समान १ विकेट लिए ।
जितसँगै बागमती ७ खेलमा ६ अंकका साथ छैठौं स्थानमा उक्लिएको छ । कोशी ७ खेलमा २ अंकका साथ तालिकाको पुछारमा छ ।