Prakash Adhikari March 23, 2025

-पोल किर्बी / युरोप डिजिटल सम्पादक

लण्डन(संयुक्त अधिराज्य), १० चैत्र (बीबीसी) । दुई लाख जति सैनिकहरूलाई युक्रेन जान आदेश दिँदा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको उद्देश्य केही दिनभित्रै राजधानी किएभ कब्जा गर्ने रहेको देखियो।

उनले किएभमा रहेको पश्चिमा प्रभावको सरकारलाई सत्ताच्युत गरेर युक्रेनलाई आफ्नो प्रभाव क्षेत्र बनाउन चाहेका थिए। पुटिन त्यसमा असफल भए।

तर तीन वर्षभन्दा बढ्ता समयपछि यतिखेर युक्रेनको पाँच भागको एक भाग रुसी नियन्त्रणमा छ।

अनि पछिल्लो समय युक्रेनको सबैभन्दा बलियो साझेदार रहेको अमेरिकाले युद्ध अन्त्यलाई लिएर रुससँग सीधा वार्ता गरिरहेको छ।

अमेरिकाको ३० दिने सङ्घर्षविराम प्रस्तावमा युक्रेन सहमत भए पनि रुस राजी हुन बाँकी छ।

बारम्बार युक्रेनी स्वतन्त्रतामा प्रश्न

पुटिनले युक्रेनमा दोस्रो विश्वयुद्ध अन्त्यपछिको सबैभन्दा ठूलो युरोपेली अतिक्रमण गरिरहँदा टेलिभिजनमा उनले एक चर्को भाषण दिँदै आफ्नो लक्ष्य युक्रेनलाई “निःसैन्यीकरण र गैरनाजीकरण” गर्ने घोषणा गरे।

रुसले बारम्बार इतिहास बङ्ग्याउँदै आधुनिक युक्रेनलाई एउटा नाजी राज्यको उपमा दिने गरेको पाइन्छ।

आठ वर्षअघि पुटिनले युक्रेनको क्राइमिया प्रायद्वीपलाई कब्जा गरेका थिए।

त्यसअघि एक क्रान्तिले युक्रेनमा रुसपक्षधर राष्ट्रपतिलाई हटाएर त्यहाँ पश्चिमा पक्षधर राष्ट्रप्रमुख ल्याएको थियो।

त्यसपछि पुटिनले युक्रेनको पूर्वी डोनबास क्षेत्रमा तल्लो स्तरको युद्ध अघि बढाए।

त्यहाँ उनले रुसपक्षधर छद्म फौज खटाउँदै उक्त भूभाग कब्जा गर्ने र मस्को समर्थित विद्रोही राज्य बनाउने काम गरे।

तर सन् २०२२ को अतिक्रमण एउटा भिन्न तहको थियो।

पुटिनले हालै ती विद्रोही राज्यलाई स्वतन्त्र घोषणा गरेका छन्। पछि अतिक्रमण सुरु भएपछि उनले त्यहाँ भएका मानिसहरू – जो धेरैजसो रुसी भाषी छन् – लाई किएभको “सत्ता”बाट संरक्षण आवश्यक परेको बताए।

त्यसको एक दिनपछि पुटिनले युक्रेनी सेनालाई “सत्ता आफ्नै हातमा लिन” र सरकार चलाउने “लागुऔषध दुर्व्यसनी र नवनाजीहरूको गिरोह” लाई लक्षित गर्न आह्वान गरे।

त्यसपछि पुटिनले थपेको अर्को उद्देश्यमा युक्रेनको तटस्थता सुनिश्चित गर्नु थियो।

उनले पश्चिमी रक्षात्मक सैन्य गठबन्धन नेटोले युक्रेनमा आफ्नो पाइला राख्न खोजेको आरोप लगाउँदै त्यसरी पश्चिमा सेनालाई रुसी सीमानजिक ल्याउन खोजेको बताए।

यी रुसी नेताले लामो समयदेखि युक्रेनको अस्तित्वको अधिकारमाथि प्रश्न उठाउँदै आएका छन्।

उनले सन् १९१७ को कम्युनिस्ट क्रान्तिपछि “आधुनिक युक्रेन पूर्ण रूपमा रुसले सिर्जना गरेको” दाबी गर्दै आएका छन्।

सन् २०२१ मा एउटा लामो लेखमा उनले नवौँ शताब्दीको अन्त्यतिरको “रुसी र युक्रेनीहरू एकै रहेको” सुझाएका थिए।

गत वर्ष उनले अमेरिकी अन्तर्वार्ता कार्यक्रम प्रस्तोता टकर कार्ल्सनलाई युक्रेन एक “कृत्रिम राज्य” रहेको बताएका थिए।

यी टिप्पणीहरूले धेरैलाई आक्रमणको लक्ष्य खासमा युक्रेन राज्य समाप्त पार्नु रहेको विश्वास दिलाएका छन्।

रुसी सरकारी समाचारसंस्था रियाको एक व्याख्यामा “गैरनाजीकरण अनिवार्य रूपमा गैरयुक्रेनीकरण पनि हो” भनिनुले यसले युक्रेनलाई मेटाउने विचारलाई आक्रमणको घोषित लक्ष्यसँग जोडेको देखिन्छ।

खासमा युक्रेनी संस्कृति र पहिचान शताब्दीयौँदेखि रुसबिनै स्वतन्त्र अस्तित्वमा छ।

के पुटिन जेलेन्स्कीबाट मुक्ति पाउन चाहन्छन्?

पुटिनले लामो समयदेखि युक्रेनका निर्वाचित पश्चिमा-पक्षधर राष्ट्रपतिबाट मुक्ति पाउन खोजिरहेका थिए अनि जेलेन्स्की युद्धको सुरुदेखि नै उनको निसानामा परेका थिए।

जेलेन्स्कीका सल्लाहकारका अनुसार रुसी फौजले अतिक्रमण गरेलगत्तै राष्ट्रपति कार्यालय परिसरमा धावा बोल्ने दुई वटा प्रयास गरेका थिए।

जेलेन्स्की उनीहरूले आफूलाई मार्न खोजेको बताउने गर्छन्।

“यी शत्रुले मलाई एक नम्बर निसानामा राखेका छन्; मेरो परिवार निसाना नम्बर दुईमा। उनीहरू राज्यप्रमुखलाई नष्ट गरेर युक्रेनलाई राजनीतिक रूपमा ध्वस्त पार्न चाहन्छन्,” जेलेन्स्की भन्छन्।

पछि जेलेन्स्कीले बताएअनुसार पुटिनले सुरुमा उनलाई रुस पक्षधर दलका एकजना धनी प्रमुख भिक्टर मेद्भचुकबाट विस्थापित गर्ने प्रयास गरेका थिए।

मेद्भचुकलाई युक्रेनमा देशद्रोहको आरोप लगाइएपछि हाल उनी रुसमा छन्।

के जेलेन्स्कीको पहिरन पनि ट्रम्पसँगको चर्काचर्कीको कारण हो?

तीन वर्षपछि अझै पनि पुटिन जेलेन्स्कीसँग “उनको वैधताका कारण” सीधा शान्तिवार्ता गर्न अस्वीकार गर्दै आएका छन्।

उक्त गलत भाष्यलाई राष्ट्रपति ट्रम्पले समेत दोहोर्‍याएका थिए।

पुटिनले प्रमाणको रूपमा युक्रेनको मार्च २०२४ को राष्ट्रपतीय निर्वाचन स्थगित भएको उल्लेख गरेका छन्। यद्यपि रुसले सुरु गरेको युद्धका कारण युक्रेनमा सैनिक कानुन लागु छ र संविधानतः चुनावहरू प्रतिबन्धित छन्।

पुटिन स्वयं पुनर्निर्वाचित भएको सन् २०२४ को चुनाव त्यहाँ अत्यधिक प्रश्नमाझ छ। रुसका विपक्षी नेताहरू या त निर्वासनमा पठाएर वा मारेर निर्वाचन गराइएको आरोप पुटिनमाथि छ।

के नेटोको विस्तार युद्धका लागि जिम्मेवार छ?

पुटिनले वर्षौँदेखि नेटोको पूर्वतर्फको विस्तारलाई लिएर असन्तुष्टि जनाउँदै आएका छन्।

त्यसलाई उनले सुरक्षा जोखिम भन्दै युक्रेन उक्त सैन्य गठबन्धनमा जोडिने कामलाई एउटा मुख्य ‘रेड लाइन’ मान्दै आएका छन्।

सन् २०२२ को रुसी अतिक्रमणअघि उनले नेटोले आफूमा सन् १९९७ पछि जोडिएका मध्य र पूर्वी युरोपेली देशमा भएका बहुराष्ट्रिय तैनाथी हटाउनुपर्नेमाग गरेका थिए।

तर सन् २००८ मा जोर्जा र पछि सन् २०१४ मा क्राइमिया अतिक्रमण गरेर पूर्वी युरोपमा सैन्य कारबाही गर्ने रुस नै हो।

क्राइमिया अतिक्रमणपछि नेटोले रुसनजिकैको आफ्नो पूर्वी छेउमा निरन्तर उपस्थिति कायम गर्दै आएको छ।

नेटोको सधैँको जोड गठबन्धनको पूर्ण उद्देश्य “कुनै आक्रामक मनसायबिना” आफ्नो भूभागको रक्षा गर्नु रहेको पाइन्छ। रुसी खतराका कारण नै स्वीडन र फिनल्यान्ड पछिल्ला दुई वर्षमा नेटोमा सामेल भएका छन्।

युक्रेनको संविधानमै युरोपेली सङ्घ ‘ईयू’ र नेटोमा सामेल हुने उल्लेख भए तापनि पूर्णआकारको युद्ध सुरु भएपछि यसको कुनै वास्तविक सम्भावना थिएन।

सन् २०२५ को फेब्रुअरी २८मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प (दायाँ) र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच वाशिङ्ग्टन डीसीस्थित ह्वाइट

जेलेन्स्कीले हमलाको दुई साता हुँदै गर्दा भने, “नेटो युक्रेनलाई स्वीकार गर्न तयार छैन।”

उनले त्यसबेलादेखि नै नेटो सदस्यताको बदलामा राजीनामा दिने विचार गर्ने बताउँदै आएका छन्। तर ट्रम्पले किएभले पश्चिमी गठबन्धनमा सामेल हुने कुरा “बिर्सनुपर्छ” भनी बताउँदै आएका छन्।

पुटिनले नेटोलाई युद्धमा सहभागी भएको आरोप लगाएका छन्। नेटो सदस्य देशहरूले युक्रेनमा ट्याङ्क र लडाकु विमान, हवाई रक्षा प्रणाली, क्षेप्यास्त्र प्रणाली, गोलीगठ्ठा र ड्रोनहरू सहित सैन्य सामग्री बढ्दो रूपमा पठाइरहेका छन्।

नेटोले युक्रेनलाई सुरक्षा सहयोग र तालिम समेत प्रदान गरे तापनि उक्त सङ्गठनले आफूलाई युद्ध पक्ष नबनाउने कुरामा जोड दिएको छ।

नेटोविरुद्धको पुटिनको गुनासो सन् १९९० देखिको हो, जतिखेर पश्चिमले “पूर्वमा एक इन्च पनि विस्तार नगर्ने” वाचा गरेको उनी दाबी गर्छन्।

तर त्यो सोभियत सङ्घको पतन हुनुभन्दा अघिको कुरा थियो र त्यो तत्कालीन सोभियत सङ्घका राष्ट्रपति मिखाइल गोर्बाचोफलाई गरिएको सीमित प्रतिबद्धतामा आधारित थियो।

गोर्बाचोफ त्यसबेला “नेटो विस्तारको विषयमा कुनै छलफल नगरिएको” बताउँछन्।

के नाजी र नरसंहारसम्बन्धी पुटिनको दाबी मिल्छ?

भ्लादिमिर पुटिन नाजी जर्मनीमाथि रुसको विजयको सम्झना गर्ने क्रममा लामो कोट लगाएर तरबार बोकेर हिँड्दै तस्बिर स्रोत,REUTERS
तस्बिरको क्याप्शन,भ्लादिमिर पुटिन नाजी जर्मनीमाथि रुसको विजयको सम्झना गर्ने क्रममा लामो कोट लगाएर तरबार बोकेर हिँड्दै
सन् २०२२ मा आक्रमण सुरुवात गर्दा पुटिनले पूर्वी युक्रेनका कब्जा गरिएका भूभागका मानिसहरूलाई आठ वर्षको युक्रेनी “धम्की र नरसंहार” बाट जोगाउने वाचा गरेका थिए।

सन् २०१४-२०२२ को अवधिमा मोर्चाको दुवैतिर १४,००० भन्दा बढी मानिसहरूको मृत्यु भएको थियो।

तर रुसी दाबीअनुसार ‘युक्रेनी नाजी’हरूले कब्जा गरेका क्षेत्रहरूमा नरसंहार गरेको कहिल्यै पुष्टि भएको थिएन र कुनै पनि अन्तर्राष्ट्रिय निकायले नरसंहारको बारेमा बोलेको पाइँदैन। जर्मन चान्सलरले यो आरोपलाई “हास्यास्पद” बताएका छन्।

आधुनिक युक्रेनको संसद्‌मा कुनै पनि अति-दक्षिणपन्थी दलहरू छैनन्। उनीहरू सन् २०१९ को चुनावमा पर्याप्त मत प्राप्त गर्न असफल भए।

त्यसमाथि जेलेन्स्की यहुदी हुन् र उनका धेरै आफन्ताईल दोस्रो विश्वयुद्धमा नाजीहरूले मारेका थिए।

पुटिनले जेलेन्स्कीलाई “यहुदी जनताको लागि उपहास” भन्दै निन्दा गर्छन्।

तर अमेरिकी होलोकस्ट मेमोरिअल सङ्ग्रहालयले उनको दाबीलाई सीधै अस्वीकार गर्दै पुटिनले यहुदी नरसंहारसम्बन्धी “होलोकस्ट इतिहासलाई गलत रूपमा प्रस्तुत र दुरुपयोग गरेको” बताएको छ।

पुटिनलाई सन् २०२४ मा अन्तर्राष्ट्रिय फौजदारी अदालतले युद्ध अपराधको आरोप लगाए तापनि क्रेम्लिनले त्यसलाई अस्वीकार गरेको छ।

रुसले कहिले युक्रेन अतिक्रमण गर्‍यो?

युक्रेनलाई आफ्नो प्रभावक्षेत्रबाट बाहिर निस्कनबाट रोक्ने रुसको प्रयास वर्षौँ पुरानो हो।

यसको सुरुवाती आक्रमण सन् २०१४ मा भएको थियो, जतिखेर रुस समर्थक राष्ट्रपति भिक्टर यानुकोभिचलाई महिनौँको व्यापक प्रदर्शनपछि पदच्युत गरिएको थियो।

पुटिनको दबाjमा यानुकोभिचले युरोपेली सङ्घसँगको सम्झौता त्यागेका थिए। त्यसका कारण सुरु भएको विरोध प्रदर्शन दर्जनौँ प्रदर्शनकारीहरूलाई गोली हानेर हत्या गरी अन्त्य गरियो। लगत्तै यानुकोभिच भागेर रुस पुगे।

पुटिनले तत्कालै युक्रेनको क्राइमिया प्रायःद्वीप कब्जा गरे र रुसी प्रतिनिधिहरूले सरकारविरुद्ध हतियार उठाउँदै पूर्वी लुहान्स्क र डोनेट्स्क क्षेत्रका केही भागहरू कब्जा गरे।

ती युद्ध रोक्ने दुई प्रयासहरू असफल भए।

मिन्स्क सम्झौताको रूपमा चिनिने ती प्रयासका लागि फ्रान्स, जर्मनी र रुस स्वयंले मध्यस्थता गरेका थिए।

तिनले हिंसाको मात्रा घटाए तापनि जेलेन्स्की त्यसलाई रुसका सर्तहरूमा जकडिएको द्वन्द्व सिर्जना गर्ने पासो भन्ने गर्छन्।

दुवै पक्षले एकअर्कालाई सम्झौता उल्लङ्घनको आरोप लगाए। क्रेम्लिन असफल सम्झौताहरूले नै मस्कोको पूर्ण आकारको आक्रमणको माहोल तयार पारेको बताउँछ।

यसै सन्दर्भमा युक्रेनी नेताले ट्रम्प प्रशासनलाई पुटिनलाई विश्वास नगर्न सजग गराउँदै आएका छन्, “उनले युद्धविराम तोडेका थिए, उनले हाम्रा मानिसहरूलाई मारे।”

युद्ध कसले जितिरहेको छ?

तीन वर्षको आक्रमण र प्रत्याक्रमणपछि रुसी र युक्रेनी सेना १,००० किलोमिटरभन्दा लामो सक्रिय अग्रमोर्चामा निर्ममतापूर्वक युद्धरत छन्।

कुनै पनि पक्षले यो युद्ध जित्ने वास्तविक सम्भावना देखिँदैन।

सन् २०२२ मा एकखाले नक्कली जनमत सङ्ग्रह गराएर रुसले पूर्वी र दक्षिणी युक्रेनका चार क्षेत्रहरू कब्जा गर्‍यो। तर पनि खासमा मस्को तीमध्येको एक लुहान्स्कमा मात्र पूर्ण नियन्त्रण भएको दाबी गर्न सक्छ।

युक्रेनी सेनाले सन् २०२२ मा उत्तर र दक्षिणका केही भागहरू मुक्त गर्न सके तापनि पछिल्ला प्रत्याक्रमणहरूले त्यस्ता सफलता पाएका छैनन्।

सन् २०२४ को अगस्टमा हमला सुरु गरेयता अझै पनि युक्रेन रुसी कुर्स्क क्षेत्रको सानो भाग नियन्त्रण गर्छ। तर त्यहाँका सबै मुख्य बस्तीहरूमा उसले पकड गुमाएको छ।

युक्रेनी फौजले पूर्वमा समेत पकड गुमाएका छन्।

धेरैजसो रुसी गोलाबारुद डोनेत्स्क क्षेत्रमा खर्चिइएका छन्।

युद्धकै कारण रुसी अर्थतन्त्रमा उच्च ब्याजदर र महङ्गीको अवस्था देखा परिरहेको छ। यस वर्ष त्यहाँ सङ्घीय बजेटको ३३ प्रतिशत रक्षा खर्चमा छुट्याइएको छ।

रुसको कब्जा र औद्योगिक क्षेत्रमा भएका क्षतिका कारण युक्रेनले आफ्नो अर्थतन्त्रको ठूलो भाग गुमाएको छ।

ऊर्जा पूर्वाधारमा भएका हमलाले समेत आर्थिक वृद्धिदरलाई हानि पुर्‍याएको छ।

युक्रेनमा महङ्गी र ब्याजदर उच्च भए पनि उक्त देशले आफ्नो बजेट घाटासँग जुझ्नका लागि पश्चिमा सहायता सुनिश्चित गरेको छ।

युक्रेन युद्धमा कति मानिस मारिएका छन्?

सन् २०२२ मा पुटिनले युक्रेनमा सैनिक पठाएयता दशौँ हजार मानिसहरू मारिएका छन्।

युक्रेनी राष्ट्रपतिले ४३ हजार युक्रेनी सैनिक मारिएको बताए तापनि ‘ओपनसोर्स वेबसाइट’ ‘यूएलसेस’ (ualosses.org) का अनुसार उक्त सङ्ख्या ७० हजारभन्दा माथि हुन सक्छ।

राष्ट्रसङ्घीय विवरणअनुसार युक्रेनमा १२ हजारभन्दा धेरै सर्वसाधारण मारिएका छन्।

रुस विरलै मात्र सैन्य क्षतिलाई स्वीकार गर्छ। तर बीबीसीको विश्लेषणमा रुसी मृत्यु १,४६,१९४ देखि २,११,१६९ बीचमा हुन सक्ने अनुमान छ।

यस युद्धले ६९ लाख युक्रेनीहरूलाई विदेशमा शरण लिन बाध्य पारेको छ भने थप ३७ लाख मानिसहरू युक्रेनभित्रै विस्थापित बनेका छन्।

सुरुमा पुटिनले यसलाई युद्ध समेत नभनीकन एउटा “विशेष सैन्य कारबाही” भनी उल्लेख गरेका थिए।

अन्ततः सन् २०२४ मा उनले त्यसलाई युद्धकै रूपमा स्वीकार गरे तर उनले त्यो किएभ वा उसका पश्चिमा सहयोगीका कारण भएको दाबी गरे।

युक्रेन र रुसबीचको ऐतिहासिक सम्बन्ध के हो?

दुई देशबीचको ऐतिहासिक सम्बन्धका कारण युक्रेन आफ्नो प्रभाव क्षेत्रमा रहनुपर्ने पुटिनले ठानेको देखिन्छ।

सन् १९२२ देखि १९९१ सम्म युक्रेन सोभियत सङ्घको हिस्सा थियो। खास गरी पूर्वी भागमा धेरैजसो युक्रेनीहरू रुसी भाषा बोल्छन्। भोलोदिमिर जेलेन्स्की समेत तिनैमध्येका हुन्।

धेरै रुसीहरू क्राइमियालाई आफ्नो मान्छन्। सन् १७८३ मा क्याथरिन द ग्रेटले रुसमा गाभेको उक्त ठाउँलाई सन् १९५४ मा सोभियत नेता गोर्बाचोफले युक्रेनलाई हस्तान्तरण गरेका थिए।

त्यसको दश वर्षअघि उनका पूर्ववर्ती स्टालिनले क्राइमियाका ट्याटर जनसङ्ख्यालाई निकाला गरेपछि त्यहाँको बहुमत जनसङ्ख्या जातीय रुसीहरूकै रह्यो।
सन् १९९१ यता युक्रेन एक स्वतन्त्र देशका रूपमा छ।

सन् १९९४ मा यस देशले रुस, यूके र अमेरिकाबाट सुरक्षा सुनिश्चितता प्राप्त हुने गरी आफ्नो परमाणु अस्त्र त्यागेको थियो। तर मस्कोले त्यसलाई सम्मान गर्न सकेन।

युद्धपछि धेरै युक्रेनीले रुसी भाषालाई त्यागेका छन्। जेलेन्स्की स्वयं समेत सार्वजनिक रूपमा रुसी भाषा प्रयोग गर्न खोज्दैनन्।

Share Now