
-निरञ्जन राजवंशी । बीबीसी न्यूज नेपाली
काठमाडौंं, १२ चैत्र । यदि अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फीफा)को तालिका अनुसार खेल हुने थियो भने एएफसी एशियन कप छनोट २०२७ अन्तर्गत तेस्रो चरणको खेल आज मङ्गलवार काठमाडौंंको दशरथ रङ्गशालामा हुने थियो।
राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूले रङ्गशालामा भरिभराउ दर्शक माझ मलेशियाविरुद्ध आफ्नै मैदानमा होम म्याचको अवसर पाउँथे।
तर त्यसो भएन। सो खेल मलेशियाको जोहोरस्थित सुल्तान इब्राहिम रङ्गशालामा हुँदैछ।
‘फीफाले दशरथ रङ्गशाला सुरक्षित नभएको भन्दै नेपालमा सो खेल खेलाउने स्वीकृति नदिएपछि खेल मलेशियामा सरेको अधिकारीहरूले बताएका छन्।
यो सँगै नेपाली भूमिमा पुरुष राष्ट्रिय टोलीको अन्तर्राष्ट्रिय खेल नभएको झन्डै डेढ वर्ष पुगेको छ।
नेपालको छविमा असर
पछिल्लो समय २०८० मङ्सिर ५ गते नेपाल र यमनबीच विश्वकप छनोटको खेल भएयता अन्तर्राष्ट्रिय पुरुष फुटबल नेपालमा हुन सकेको छैन।
दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय स्पर्धाका लागि अयोग्य भएको यो पहिलो पटक भने होइन।
यसअघि पनि पटक-पटक दशरथ रङ्गशाला ‘अयोग्य हुँदा’ यहाँ हुने खेलहरू नेपाल बाहिर खेलिँदै आएका थिए।
फुटबल विश्लेषक सञ्जीव मिश्र भन्छन्, “यसरी लगातार नेपाली मैदान अयोग्य हुनु भनेको नेपाल अन्तर्राष्ट्रिय स्तरको फुटबल रङ्गशाला नभएको देश भन्ने छाप पर्नु हो। जुन नेपालको लागि कुनै पनि हालतमा राम्रो होइन।”
किन पाएन रङ्गशालाले मान्यता
‘एएफसी एशियन कप क्वालिफायर्स २०२७’ अन्तर्गत तेस्रो चरणको छनोट खेल खेलाउन फीफाका प्रतिनिधि काठमान्डूको दशरथ रङ्गशाला निरीक्षणका लागि आएका थिए।
सो निरीक्षणमा फीफा प्रतिनिधिले दशरथ रङ्गशालाको ‘सेफ्टी सर्टिफिकेट’, घाँसे मैदानको अवस्था, फ्लड लाइट सहितका केही पूर्वाधारमा अन्तर्राष्ट्रिय मापदण्डको सुविधा नपुगेको भन्दै प्रश्न गरेका थिए।
जसमध्ये बाँकी सुविधा पूरा गर्न सक्ने स्थिति रहे पनि ‘सेफ्टी सर्टिफिकेट’ उपलब्ध गराउन नसक्दा स्वीकृति नपाएको अखिल नेपाल फुटबल सङ्घका प्रवक्ता सुरेश शाहले बीबीसी न्यूज नेपालीलाई बताए।
‘सेफ्टी सर्टिफिकेट’ भनेको रङ्गशालाको बनावट बलियो छ, छैन वा यसमा खचाखच दर्शक राख्दा सुरक्षित हुन्छ भन्ने पुष्टि गर्ने इन्जिनियरिङ प्रमाणपत्र हो।
शाहका अनुसार फीफा/एएफसीले आफ्नो खेल हुने रङ्गशाला बलियो हुनुपर्छ भनेर दुई वर्ष अगाडि देखि यस्तो प्रमाणपत्र माग्न थालेको थियो।
प्रवक्ता शाहले भने, “दशरथ रङ्गशाला राष्ट्रिय खेलकुद परिषद्को मातहतमा छ र त्यस्तो सर्टिफिकेट राखेपले दिने हो। राखेपसँग अनुरोध गर्दा उसले आगामी वर्षको असार महिनामा मात्र यस्तो प्रमाणपत्र दिन सक्ने भनेपछि हामी खेल सार्न बाध्य भएका हौँ।”
राखेपको प्रतिक्रिया के छ?
राखेप सदस्य सचिव टङ्कलाल घिसिङले एन्फाले तत्काल सेफ्टी सर्टिफिकेट मागेका कारण भनेकै समयमा दिन समय लागेको बत्ताउँछन्।
उनले बीबीसीसँग भने, “हिजो सम्म राखेपसँग भएको सर्टिफिकेटले काम भइरहेको थियो। तर एन्फाले नयाँ ढाँचाको पत्र माग्यो। त्यो राखेपले त्यतिकै लेखेर दिने पत्र होइन, प्राविधिक प्रमाणपत्र हो, त्यसका लागि राखेपले पनि सरकारी नियम अनुसार अगाडि बढ्नुपर्ने हुन्छ।”
राखेपले त्यसका लागि ‘कन्सल्टेन्ट’ छनौटका लागि सार्वजनिक खरिद ऐन अनुसार प्रक्रिया थालिसकेको सदस्य सचिवले घिसिङले बताएका छन्।
जस अनुसार टेन्डर प्रक्रियाबाट ‘टेक्निकल इभ्यालुसन’ र ‘फाइनन्सल इभ्यालुयसन’ सकेर ‘लेटर अफ इन्टेन्ट’ जारी गरिसकिएको राखेपले जनाएको छ। कन्सल्टेन्ट छान्ने बाँकी प्रक्रिया पूरा भएपछि मात्रै प्रमाणपत्रको काम सुरु हुने अधिकारीहरूले बताएका छन्।
सदस्य सचिव घिसिङले भने, “चैत्र महिना भित्र कन्सल्टेन्ट छान्न सकियो भने यही आर्थिक वर्ष भित्र उसले प्रमाणपत्र बुझाउनेछ।”
कप्तानको अनुरोध
‘होम म्याच’ अर्थात् नियमित खेलिरहेको आफ्नै देशको मैदानमा प्रतियोगिता हुँदा दर्शकको ठूलो समर्थन हुने र खेलाडीहरूको आत्मबल बढ्ने विश्वास गरिन्छ। यसले नतिजामा पनि असर पर्ने विश्वव्यापी मान्यता भएका कारण खेलाडीहरू घरेलु मैदानमा खेल्न रुचाउँछन्।
त्यसैले तीन महिना अगाडि राष्ट्रिय फुटबल टोलीका कप्तान किरण कुमार लिम्बूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मलेशियाविरुद्धको खेल दशरथ रङ्गशालामा आयोजना हुने वातावरण बनाइदिन आग्रह गरेका थिए।
यसअघि विश्वकप तथा एशियन कप छनोटको दोस्रो चरणको खेल अन्तर्गत नेपालले बाहरेनसँगको खेल बाहरेनमै गएर खेलेको थियो भने यूएईसँगको खेल साउदी अरेबियामा गएर खेल्नु परेको पीडा कप्तान लिम्बूसँग थियो।
राखेप र एन्फा हुँदाहुँदै खेलाडी आफैँले गरेको अनुरोधको यो दृश्य टिठलाग्दो देखिएको खेल क्षेत्रमा कतिपयले टिप्पणी गरेका थिए।
अन्य प्रतियोगिता भने निरन्तर
पुरुष फुटबल नभए पनि दशरथ रङ्गशालामा हुने अन्य अन्तर्राष्ट्रिय प्रतियोगिता भने रोकिएका छैनन्।
गत कार्तिकमा साफ महिला च्याम्पिअनशिप दशरथ रङ्गशालामै भयो भने गत महिना पनि चार राष्ट्र सम्मिलित ‘फोर नेसन्स कप’ महिला च्याम्पिअनशिपको आयोजना भएको थियो।
साफ च्याम्पियनशिप दक्षिण एशियाली फुटबल महासङ्घको कार्यक्रम हो भने फोर नेसन्स कप फीफा विन्डोमा खेलिएको एएफसीको स्वीकृति प्राप्त प्रतियोगिता थियो।
एएफसी च्यालेन्ज लीग अन्तर्गत पुरुष टोलीकै भुटानको पारो एफसी र चर्च ब्वाइज युनाइटेडको क्लब फुटबल पनि दशरथ रङ्गशालामै खेलिएको थियो ।
अरू खेल हुने तर छनौट प्रतियोगिताको लागि चाहिँ रङ्गशाला किन अयोग्य हुने?
यो प्रश्नमा एन्फा प्रवक्ता शाह भन्छन्, “दक्षिण एशियाली महासङ्घ सहज छ। सहभागी राष्ट्रहरू सहमत भएपछि प्रतियोगिता गर्न सकिन्छ। फोर नेसन्समा पनि त्यति कडाइ गरिएको थिएन। तर यो एशियन कपको छनोट खेल भएकोले यसमा एएफसी कडा देखियो।”
नोभेम्बरको सम्भावना
प्रवक्ता शाहले नेपालले ‘होम म्याच’ भने नगुमाएको दाबी गरेका छन्।
दशरथ रङ्गशालाले एएफसीको मापदण्ड हालका लागि पूरा गर्न नसके पनि असारमा राखेपले ‘सेफ्टी सर्टिफिकेट’ उपलब्ध गराएपछि नेपालमा फुटबल गराउने उनले बताए।
उनका अनुसार अहिले मलेशियामा भएको खेल नेपालका लागि ‘अवे म्याच’ हुन्छ र आगामी नोभेम्बरमा हुने दोस्रो लेग ‘होम म्याच’ का रूपमा नेपालमा हुनेछ।
शाह भन्छन्, “हामीले खेल साटासाट गरेको मात्र हो। आगामी नोभेम्बरको खेल काठमान्डूमा नै हुने सहमति भएको छ।”
यद्यपि एएफसीको कार्यतालिकामा नोभेम्बरमा हुने नेपाल र मलेशियाको खेल स्थल बारे उल्लेख गरिएको छैन।
शाह भन्छन्, “सबै कागज पुगेपछि एएफसीका प्रतिनिधि फेरि नेपाल आउनेछन्। त्यसपछि मात्र निर्णय हुनेछ”।
नेपाल सुपरलीग फुटबलमा विदेशी खेलाडीको दबदबा
एएफसी एशिया कप २०२७ अन्तर्गत छनोटको समूह ‘एफ’ मा नेपाल, मलेशिया सहित भियतनाम र लाओस छन्। यी सबै टोलीसँग नेपालले ‘होम एन्ड अवे’ प्रतियोगिता खेल्नेछ।
एएफसीको तालिका अनुसार नेपालले अब लाओससँग आगामी जुन १० मा, भियतनामसँग अक्टोबर ९ र १४ तथा मलेशियासँग नोभेम्बर १८ मा र सन् २०२६ को मार्च ३१ मा लाओससँग खेल्ने तालिका छ।
समूह विजेता बन्न सके नेपाल सन् २०२७ मा साउदी अरेबियामा हुने एशियन कपमा छनोट हुनेछ।
यदि अब पनि ‘सेफ्टी सर्टिफिकेट’ उपलब्ध गराउन सकिएन भने बाँकी खेलको ‘होम म्याच’ पनि नेपालबाट बाहिरिन सक्ने खतरा बढ्नेछ।