काठमाडौँ । चिकित्सा शिक्षा विधेयक विज्ञहरुको प्रतिवेदन अनुरुप आएको अध्यादेश अनुसार ल्याउनु पर्ने लगायत चिकित्सा क्षेत्रको सुधारका माग राखेर २० दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनशनरत डा. गोविन्द के.सी.को जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघको आह्वानमा बिहिबार देशभरका सरकारी तथा नीजि स्वास्थ्य संस्थाका आकस्मिक बाहेक धेरैजसो सबै सेवा बन्द भएका छन् ।
यसअघि संघले गत सोमबार सरकारलाई ४८ घण्टे चेतावनी दिएको थियो । सरकारले डा. के.सी.ले उठाउनुभएका मागहरु संबोधन गर्न कुनै कदम नचालेको हुनाले संघले वाध्य भएर आन्दोलनमा होमिनु परेको चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले बताउनुभएको छ ।
संघले बिहिबार सरकारी र निजी शिक्षण अस्पतालसहित नर्सिङहोम, क्लिनिक लगायतका सम्पूूर्ण स्वास्थ्यसंस्थामा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु बन्द गरी मध्यान्ह १२ बजे काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिने पनि जनाएको छ ।
स्वास्थस्थिति नाजुक
केसीको स्वास्थ्यबारे जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिकल रिपोर्ट सार्वजनिक गरेको छ । प्रतिष्ठानद्धारा जारी बुलेटिनमा डा. के.सी.को मुटुको चाल, श्वासप्रश्वासको गति र रक्तचापमा व्यापक गढबढी देखिएको उल्लेख छ।
‘स्वास्थ्य रिपोर्ट अनुसार रगतमा सेतो रक्त कोशिकाको मात्रा झन घटेको छ। क्यानेला राखिएको दुवै हातमा संक्रमण देखिन थालेको अवस्थामा सेप्सिस भइहाले स्थिति थप बिग्रने छ । कमजोरी, चक्कर लाग्ने, वाकवाकी लाग्ने, मांसपेशी बाउँडिने समस्या झन बढेको छ भने छाति दुख्ने समस्याले डा=केसीलाई झन पिरोल्न थालेको छ। यसरी मुटुको चालमा गढबढी भइरहे बिरामीलाई सिसियुमा राखेर उपचार गर्नुपर्ने हुनसक्छ।
सत्तारुढ दल काठमाडौं ल्याउने तयारीमा
बुधबार बेलुका डाक्टर गोविन्द केसीको स्वास्थ्य स्थिति बिग्रदै गएको रिपोर्ट सार्वजनिक भएपछि सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आकस्मिक बैठकले उहाँलाई हेलिकप्टरबाट काठमाडौं ल्याउने निर्णय गरेको छ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो, ‘डा.केसीलाई सिसियुमा राख्नुपर्छ भन्ने रिपोर्ट आयो । सरकार र हाम्रो पार्टीको पहिलो कर्तव्य डा.केसीको जीवन रक्षा गर्नु हो। चार पाँच दिनदेखि गम्भीरताका साथ वार्ता कमिटी बनाएर काम गरे पनि सहमति भएन। मेडिकल बुलेटिनपछि हामी सिरियस भयौं।’
उहाका अनुसार सिसियु भएको अस्पतालमा राख्नुपर्यो भन्ने चिकित्सकहरुको सुझाब अनुरुप डा.केसीलाई काठमाडौंका सुविधासम्पन्न अस्पतालमा ल्याउने निर्णय भएको हो ।
सत्तारुढ दलले उहाँका मागका सम्बन्धमा छलफल गरी सहमतिमा पुग्न समय लाग्ने भएकोले जीवन रक्षाको पहिलो कतब्र्य पूरा गर्न राजधानी ल्याउन लागिएको बताएको छ ।
उहाँको स्वास्थ्यस्थितिमा सुधार भएपछि उहाँको अनसन र विचारमा कुनै पनि प्रकारको आग्रह नराखी छलफल गरिने नेकपाका प्रवक्ता नाराणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
डा. केसीले उपत्यकामा दश वर्ष मेडिकल कलेज खोल्न दिन नहुने र एक विश्वविद्यालले ५ वटा भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने धारणा राख्दै आउनुभएको छ । केसीको मागका आधारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठित सरकारले ल्याएको अध्यादेशमा यी व्यवस्था गरिएका थिए।
तर सो अध्यादेशलाई प्रतिस्थापन गर्न सरकारले संसदमा ल्याएको विधेयकमा लैजाने यी प्रावधान हटाएको छ।
केसीले विधेयक फिर्ता नभएसम्म जुम्लाबाट काठमाडौं नआउने अडान लिँदै आएका छन्। सरकार भने अझै विधेयक फिर्ता लिने मुडमा छैन।
वार्ता समितिका एक सदस्यका अनुसार नेकपाका उच्च नेताहरुले विधेयक स्थगन गर्ने प्रस्ताव राखेका छन्। तर, केसी भने स्थगन नभइ फिर्ता नै गर्नुपर्ने अडानमा रहनुभएको छ।


















