
दिल्ली(भारत), १७ चैत्र(एजेन्सी) । तीव्र गतिका बलर मिचेल स्टार्कले ५ विकेट लिएपछि दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आइपीएल)मा सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गरेको छ ।
लिगमा दिल्लीको यो लगातार दोस्रो जित हो ।
आजको खेलमा सनराइजर्स हैदरावादले दिएको १ सय ६४ रनको लक्ष्य दिल्लीले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
दिल्लीको जितमा ओपनर फाफ डु प्लेसिसले सर्वाधिक ५० रन जोडे । उनले २७ बलको सामना गर्दै ३ चौका र ३ छक्का प्रहार गरे । पहिलो विकेटका लागि फाफले अर्का ओपनर जेक फ्रेजरले ९।१ ओभरमा ८१ रनको साझेदारी गरे। ।
जेकले ३२ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३८ रन जोडे । अभिषेक पोरेल १८ बलमा २ चौका र २ छक्काको सहयोगमा ३४ रनमा अविजित रहे । केएल राहुल १५ रनमा आउट हुँदा ट्रिस्टन स्टब्स २१ रनमा नट आउट रहे ।
दिल्लीलाई रोक्ने क्रममा सन राइजर्स हैदराबादले तीन विकेट लियो । उसका लागि तीनै विकेट यसै खेलबाट आइपिएल डेब्यु गरेका जिशान अन्सारीको नाममा रह्यो ।
त्यसअघि दिल्लीको घरेलु मैदान विशाखापट्टनममा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले अनिकित बर्माको अर्धशतक सहयोगमा १८.४ ओभरमा सबै विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।
हैदराबादका लागि युवा ब्याटर अनिकितले ४२ बलमा ६ छक्का र ५ चौकासहित सर्वाधिक ७४ रन जोडेका थिए । माथिल्लो क्रमका ४ ब्याटर सस्तैमा आउट भएर समस्यामा परेको हैदराबादका लागि अनिकितको अर्धशतकले मध्यम योगफल सम्म पुग्न सहयोग पुग्यो ।
३७ रन जोड्दा ४ विकेट गुमाएर समस्यामा पुगेको हैदराबादका लागि अनिकितले पाँचौ विकेटका लागि हेनरिक क्लासेनसँग ७७ रनको साझेदारी गरे । क्लासेनले १९ बलमा २ चौका र २ छक्काको सहयोगमा ३२ रन जोडे ।
ओपनर ट्राभिस हेड १२ बलमा ४ चौकाको सहयोगमा २२ रनमा आउट भए । अर्का ओपनर अभिषेक शर्मा १, इशान किशन २, अभिनब मनोहर ४, कप्तान प्याट कमिन्स २ तथा नितिशकुमार रेड्डी रनको खाता नखोल्दै आउट भए । हर्षल पटेल ५ तथा वयन मुल्दार ९ रन बनाए ।
हैदराबादको शीर्षक्रमलाई पेभिलियन फर्काउने क्रममा पावर प्लेमा दिल्लीका तीव्रगतीका बलर स्टार्कले ३ विकेट लिए । स्टार्कले डेथ ओभरमा २ विकेट आफ्नो नाममा थपे ।
समग्रमा स्टार्कले ३.४ ओभरमा ३५ रन खर्चिएर ५ विकेट लिए । कुलदीप यादवले ३ र मोहित शर्माले १ विकेट लिए ।
दिल्ली २ खेलमा ४ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । दिल्लीले पहिलो खेलमा लखनउमाथि रोमाञ्चक जित निकालेको थियो ।
हैदराबादको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा राजस्थानलाई हराएको हैदराबाद दोस्रो खेलमा लखनउसँग पराजित भएको थियो । १० टोलीको सहभागिता रहेको आइपीएलमा हैदराबाद २ अंकका साथ सातौं स्थानमा छ ।