Prakash Adhikari March 31, 2025

काठमाडौं, १८ चैतः इस्लाम धर्मावलम्बीहरूले आज हर्षोल्लासपूर्वक इद-उल-फित्र पर्व मनाउँदै छन् । एक महिना लामो ‘रमजान मुबारक’ समापन भएको भोलिपल्ट इदउलफित्र मनाइन्छ । रमजान मुबारक हिजो आइतबार समापन भएको हो ।

एक महिनासम्म सञ्चालन भएको रमजान मुबारकमा इस्लाम धर्मावलम्बीहरूले दिनभर निराहार व्रत बस्छन् । रोजा बस्न मुसलमानहरूले उर्दू पात्रोअनुसार सूर्योदय हुनुभन्दा पहिले अर्थात् बिहानको नमाज पढ्नु अगावै खानेकुरा खाने , दिनभर निराहार बस्ने र बेलुकाको नमाज (मगरिब)को आजान सुनेरआहार लिने चलन छ । निराहार बस्नुलाई रोजा भनिन्छ ।

रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समयतालिका पनि परिवर्तन भइरहन्छ ।

रमजान उर्दू पात्रोअनुसार हिजरी संवत्को नवौँ महिना हो । रमजान महिनामा मुसलमानहरूको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको होभने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास गरिन्छ ।

अशक्तलाई दान दिनु, गरिब र दीनदुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजान व्रत बस्नले साँझ चन्द्रमा हेर्न आकाशतिर दृष्यावलोकन गर्ने र चन्द्रमा हेरेर रमाउने प्रचलन रहेको छ ।

“शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । कुलतमा लागेका मानिस एक महिना इमान्दारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खालगायत हानिकारक खाद्यपदार्थ खाने बानीमा परिवर्तन आउँछ । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमानहरू रोजा बस्नुलाई गर्व मान्दछन् । नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य छैन ।

इस्लाम धर्मावलम्बीहरूले रमजान महिनाको २९औँ दिनको ‘रोजा’ व्रत पूरा गर्दै भोलिपल्ट ‘इदउत्रफित्र’ मनाउने गर्दछन् । ‘इदउलफित्र’को दिन कोही मस्जिदमा, कोही ‘इदगाह’मा सामूहिक भेला भएर दुई रिकात नमाज पढेर यो पर्व सम्पन्न गर्छन् ।

नमाज पूरा गरेपछि एकले अर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन् भने घरमा गएर विभिन्न मिष्ठान्न परिकार खाने गर्छन् । रमजान महिना उर्दू पात्रोअनुसार नवौँ महिना हो । यो पर्वको ७०औँ दिनमा बकरिद अर्थात् ‘इदउलअजहा’ पर्व मनाउने गर्छन् । यसमा आर्थिक अवस्था बलियो भएका अधिकांश मुस्लिम ‘हज’का लागि साउदी अरबको मक्कामदिना जाने गर्छन् ।

फितरा र जकात

रमजान महिनामा प्रत्येक मुस्लिमले जनही एक किलो ७५० ग्राम गहुँको मूल्य बराबर फित्तराका रूपमा निकाल्नु पर्छ । जुन रकम गरिब र मदरसा (पाठशाला) मा खर्च गर्नुपर्छ । यो रकम ‘इद’को नमाज पढ्नुभन्दा पहिले निकाली सक्नुपर्छ । अनि मात्रै उसले धारण गरेको व्रत ‘रोजा’ कायम हुने धार्मिक मान्यता छ । उहाँका अनुसार जकात भने आफूसँग भएका नगद र सुन तथा चाँदीको मूल्य बराबरमा अढाइ प्रतिशत निकाल्नु पर्छ । जकात र फित्तरा संसारभरका मुस्लिमहरूमा लागू हुन्छ ।

इदको दिन नयाँ लुगा लगाउने र समुदायमा पाक्ने मिष्ठान्न र विविध परिकारका बास्नाले मुस्लिम बस्तीमा झन् रमाइलो हुने गर्दछ । इदको दिन सबै मुसलमानले आममानव जातिमा सुख, शान्ति र समृद्धि प्राप्त होस् भनी अल्लाहसँग प्रार्थना गर्दछन् ।

ईदका अवसरमा आज सार्वजनक बिदा

सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो ।

 

Share Now