
गुवाहाटी(आसाम,भारत), १८ चैत्र । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपीएल) मा पहिलो जित हात पारेको छ। चेन्नई सुपर किङ्सलाई ६ रनले हराउँदै राजस्थानले जित निकालेको हो।
जितको लागि १ सय ८३ रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रनमा समेटियो।
ओपनर रचिन रविन्द्र रनको खाता नखोली आउट भए। दोस्रो विकेटका लागि राहुल त्रिपाठी २३ रनमा र धिवम दुबे १८ रनमा पबिलियन फर्किए।
३ विकेटको नोक्सानीमा ७२ रन जोडेको चेन्नईले कमजोर सुरुवात गर्यो। लगतै विजय शंकर ९ रनमा आउट भए।
क्रिजमा टिकेका कप्तान ऋतुराज गाइक्वाडले ३७ बलमा ७ चौका प्रहार गर्दै अर्धशतक बनाउन सफल रहे। तर उनी ६३ रन जोडेर आउट भएसँगै चेन्नई हार नजिक पुगेको थियो। उनले ४४ बल खेल्दै ७ चौका र १ छक्का प्रहार ।
रविन्द्र जडेजा अविजित ३२ रनमा रहे पनि जितको लागि प्रयाप्त भएन्। महेन्द्र सिंह धोनीले १६ रन जोडे। बलिङमा वानिन्डु हसरङ्गाले ४ ओभर बलिङ गर्दै ४ विकेट लिए।
त्यसअघि चेन्नईले टस जितेर राजस्थानलाई ब्याटिङका लागि आमन्त्रण गरेको थियो। राजस्थानले २० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय ८२ रनको योगफल बनायो।
ओपनर यशस्वी जैसवाल (५ रन) लाई सस्तैमा गुमाएको राजस्थानलाई अर्का ओपनर सन्जु सामसनले र नितिन रानाले दोस्रो विकेटका ८२ रनको साझेदारी गरे। सामसनले १६ बलमा समान १ छक्का र चौकासहित २० रन जोडे।
नितिनले मात्र ३६ बलमा १० चौका र ५ छक्काको मद्दतमा सर्वाधिक ८१ रन बनाए । नितिन र कप्तान रियान परागले तेस्रो विकेटका लागि ३८ रनको साझेदारी गरे। परागले २८ बलमा समान २ छक्का र चौकाको मद्दतमा ३७ रन जोडे।
सिमरोन हेटमोयरले १९ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। खलिल अहमद, नुर अहमद, मथिसा पथिरानाले समान २ , रविचन्द्रन आश्विन र रविन्द्र जडेजाले समान १ विकेट लिए ।
लगातारको दोस्रो हारपछि पहिलो जित निकालेको राजस्थानले ३ खेलबाट २ अंक बनाएको छ। लगातार दोस्रो खेलमा पराजित चेन्नईसँग पनि ३ खेलमा २ अंक रहेको छ।