
काठमाडौं, ३ साउन । चिकित्सा शिक्षा विधेयक विज्ञहरुको राय मुताविक आएको अध्यादेश अनुरुप हुनुपर्ने माग राख्दै २० दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत सत्याग्रही डा. गोविन्द केसीले आफूलाई सरकारले इच्छाविपरित अमानवीय , क्रुरतापूर्वक अस्पताललाई युद्धभूमिमा बनाएर अपहरण शैलीमा बल प्रयोग गरेर जुम्लाबाट काठमाडौं ल्याइएको बताउनुभएको छ ।
जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत डा. केसीलाई सरकारले अस्पताल क्षेत्रका गोलीकाण्ड मच्चाएर बिहिबार अपरान्ह जबर्जस्ती काठमाडौं ल्याएको थियो।
सेनाको हेलिकप्टरमा काठमाडौंको टुँडिखेल ओरालेर टिचिङ अस्पताल लगिएका डा. केसीले सरकारको ज्यादतीपूर्ण व्यवहारको भर्त्सना गर्दै भन्नुभएको , ‘खड्गप्रसाद ओली नेतृत्वको वर्तमान सरकारले मलाई अमानवीय रूपमा क्रूरतापूर्वक सत्याग्रहीको इच्छाविपरित अस्पताललाई युद्धभूमि जस्तो बनाई अपहरण शैलीमा बल प्रयोग गरी जुम्लाबाट काठमाडौँ ल्याएको छ।’
उहाँले आफ्ना माग पूरा नहुँदासम्म सत्याग्रह जारी रहने जानकारी गराउदै आम नागरिकलाई सदाजस्तै ऐक्यबद्धताको लागि आह्वान पनि गर्नु भएको छ ।
डा. केसीले सत्याग्रहमा ऐक्यबद्धता जनाउने जुम्ला लगायत देश तथा विदेशमा रहेका नेपालीहरूप्रति उनले आभार प्रकट गर्नुभएको छ।
उहाँले सरकारको ज्यादतीबाट घाइते सम्पूर्ण व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभ कामना गर्दै दोषीहरूलाई कारबाहीको माग पनि गर्नुभएको छ ।
केसीलाई कसरी ल्याइयो ?
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको बुधबार साँझ बसेको आकस्मिक बैठकले डा. केसीको स्वास्थ्यस्थिति थप बिग्रन नदिन उहाँलाई राजधानीका सुविधासम्पन्न अस्पतालमा ल्याउने निर्णय गरे बमोजिम नै बिहान आठ बजेतिर डाक्टर केसीलाई काठमाडौं ल्याउन सरकारले सरकारी टोलीसहित नेपाली सेनाको हेलिकप्टर जुम्लातर्फ पठायो ।
त्यस लगत्तै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै डा. केसीलाई लिन सरकारी टोली जुम्ला पठाएको जानकारी दिए ।
पत्रकार सम्मेलनमा शिक्षामन्त्री पोखरेलले सरकारले डा. केसीको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएको भन्दै पहिला उपचार त्यसपछि वार्ता र संवाद गर्ने बताएका थिए । उनले डा। केसीले भनेजस्तो विधेयक फिर्ता नहुने र मागहरु हुबहु पुरा गर्न पनि नसकिने स्पष्ट पारेका थिए ।
सरकारी टोली डा. केसीलाई काठमाडौं ल्याउन लागेको समाचारसँगै डा. केसीले बिहीबार बिहानै अडियो सन्देश दिंदै आफ्ना माग पुरा नभएसम्म अनशन नतोड्ने दोहोर्याउनुभयो । २ मिनेट ५२ सेकेण्डको अडियो सार्वजनिक गर्दै डा। केसीले आफूलाई त्यहाँको चिकित्सक टोलीले उपचार गरिरहेको र त्यसवाट आफू सन्तुष्ट रहेको पनि बताउनुभएको थियो ।
उहाँले आफ्नो अभियान तुहाउन राज्यले अपहरण गरेर काठमाडौं लाने प्रयास गरेको र आफू काठमाडौं नजाने बताउदै चन्दननाथ बाबाको काखमा सत्याग्रह बसेरै माग पूरा गराएरै छाड्ने दोहोर्याउनुभएको थियो ।
यसैबीच कर्णालीका मुख्यमन्त्री महेन्द्र शाहीसहित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेको सरकारी टोलीलाई केसी समर्थकहरुले डा. केसीलाई भेट्न जाने क्रममा प्रतिष्ठानको गेटमा प्रतिवाद भयो । मुख्यमन्त्रीसहितको सरकारी टोलीलाई रोकेपछि केसी समर्थक र प्रहरीबीच धकेलाधकेल हुँदै झडप समेत भयो ।
झडपमा एक जना प्रहरीसहित एक दर्जनभन्दा बढि घाइते हुन पुगे । अस्पतालमा तोडफोड समेत भयो । झडपमा परी प्रहरी जवान कमल उपाध्याय गम्भीर घाइते बन्न पुग्नुभयो ।
झडपपछि मुख्यमन्त्री शाही जुम्लास्थित नेपाली सेनाको गणमा पुग्नुभयो भने डा. केसीसँग वार्ता गर्न गठित सरकारी टोलीका संयोजक खगराज बराल, वार्ता टोली सदस्य शिक्षा विभागका गुणराज लोहनीलगायतको टोली र केसी पक्षधरबीच झण्डै दुई घण्टा वार्ता भयो ।
अस्पताल आसपास तनावग्रस्त र अस्पताल रणसंग्राम जस्तै बनेपछि डा. केसीका सहयोगीहरु उहाँको उपचार र सुरक्षाकालागि काठमाडौं जाने कुरामा लचिलो बन्न पुगेको सरकारी पक्षको दावी छ ।
डा. केसीलाई सेनाको हेलिकोप्टरमा राखियो र काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा उतारेर सीधै महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालमा लगेर भर्ना गरियो ।