
काठमाडौं, ३ साउन । चिकित्सा शिक्षा र चिकित्सा क्षेत्रको सुधारका मागहरु राखी आमरण अनसनरत डा. के.सी.ले सार्नुभएका मागहरुप्रति अझै पनि लचिलो बन्न नसकेको सरकारले उहाँलाई जीवन रक्षाको थनाममा काडमाडौं ल्याउने प्रयत्न थालेपछि उहाँले बिहान अडियो क्लिप सन्देश पठाउदै आफूलाई जुम्लास्थित कणाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका योग्य चिकित्सकहरुले हेरिरहेको र आफ्ना माग पूरा नभएसम्म आफू काठमाडौं नजाने अठोट व्यक्त गर्नुभयो ।
सरकारले जबरजस्ती स्वास्थ्य शिक्षा र समग्र स्वास्थ्य क्षेत्रको सुधारको लागि जुम्लाजस्तो दुर्गम स्थानमा आएर आमरण अनसन बस्ने डा. गोविन्द केसीलाई सरकारले जबरजस्ती काठमाडौं ल्याउन खोजेको हल्ला फैलिएपछि स्थानीयहरु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान क्षेत्रका भेला भए । काठमाडौंबाट डा. के.सी.लाई लिन गएको हेलिकोप्टर जुम्ला उत्रैपछि स्थानीयले हेलिकोप्टरमा गएका सरकारी टोलीका सदस्यहरुलाई अस्पताल प्रवेशमा रोक्न खोजे ।
नेपाली सेनाको मेडिकल टोलीसहित पुगेको सरकारी टोलीलाई सघाउन पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र गृहमन्त्री नरेश भण्डारी सहित गएको टोलीमाथि प्रतिरोध हुँदा दुई पक्षबीच झडप समेत भयो ।प्रहरीले केसी समर्थकमाुथि अत्यधिक बल प्रयोग गर्दै लाठीप्रहार र अश्रुग्यास समेत छोड्नु पर्यो । प्रहरीले अस्पतालभित्रै पुगेर कुटपिट गरेको पीडितहरुले बताएका छन् ।
झडपका क्रममा प्रहरीले अस्पतालमा पसेर अन्धाधुन्द लाठी प्रहार गरेको छ । त्यसक्रममा केसी समर्थक विद्यार्थीसँगै डाक्टर र विरामी कुरुवा पनि घाइते भएका छन् । घाइते विद्यार्थीहरुको अस्पतालकै इमर्जेन्सीमा उपचार भइरहेको छ ।
यता डा. केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघको आयोजनामा काठमाडौंमा बृहत प्रर्दशन भयो ।
वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाको माग गर्दै दिउँसो काठमाडौंको माईतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म ¥यालीसहितको विरोध प्रर्दशन भयो । प्रर्दशनमा वरिष्ठ चिकित्सक केसीको माग तत्काल सम्बोधन गर्न माग गर्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए ।
विरोध प्रर्दशनपछि नयाँ बानेश्वरमा आयोजित कोणसभामा बोल्दै नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले केसीको माग तत्काल सम्बोधन नगरे देशभरका अस्पतालको सबै सेवा अनिश्चितकालसम्मका लागि बन्द गर्न बाध्य हुने चेतावनी दिनुभएको थियो ।
डा. के.सी.ले उठाउनुभएका मागहरुको सम्बोधन र उहाँको जीवन रक्षाको सम्मानजनक उपाय अबलम्बन नगरे बिहिबारको संघीय संसदका बैठकहरु नेपाली कांग्रेसले अवरोध गर्ने जनाएपछि सत्तारुढ दलको षड्यन्त्रमा आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भयो । संसद सचिवालयले बिहीबार १ बजेका लागि बोलाईएको बैठक सूचना टाँसेर ११ गतेसम्मका लागि स्थगित भएको जानकारी गरायो ।
३ नंको प्रदेश सभा पनि स्थगित
नेपाली काँग्रेसले अवरोध गरेपछि प्रदेश ३ को प्रदेशसभा बैठक पनि स्थगित भयो ।
बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख प्रतिपक्ष दलका नेता इन्द्र बाँनियाले सरकारले पूर्ववर्ती सरकारले ल्याएको अध्यादेशलाई तोडमोड गरेर ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता नलिएसम्म सदन अवरोध गर्ने घोषणा गरेका थिए ।
कांग्रेसले केसीको माग सम्बोधन हुनुपर्नेसहित सभामुख र उपसभामुख एकै दलको भएको, मूल्यवृद्धि भएको, संविधान विपरित जनयुद्ध शब्दावलीको प्रयोग गरिएको, गिटी, ढुंगा, बालुवामा लगाइएको कर बढि भन्ने विषय उठाएको छ ।
३ नं प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले बैठक भोली शुक्रबार ११ बजेसम्मका लागि स्थगित गरिएको घोषणा गरेका थिए ।
भैरहवामा पनि के.सी. बचाऊ आन्दोलन
अनसनरत डा. केसीको समर्थनमा भैरहवामा पनि डा।गोविन्द केसी बचाऔं अभियान सुरु गरिएको छ।
डा.गोविन्द केसीका माग पूरा गर, डा. गोविन्द केसीको प्राण रक्षा गर भन्ने नाराका साथ अभियान सुरु गरिएको अभियन्ता सञ्जय सिंह केसीले बताउनुभयो।
चिकित्सा क्षेत्रको सुधारको लागि अनसन बसेका डा. केसीको मागप्रति सरकार गम्भीर नभएकोले आफूहरुले अभियान चलाएको उहाँले बताउनुभयो ।
भैरहवामा क्रियाशील विभिन्न राजनीतिक दल, समाजसेवी तथा सामाजिक अभियान्ताहरुले संयुक्त रुपमा डा। गोविन्द केसी बचाऔं अभियान सुरु गरेको बिहीबार बिहान पत्रकार सम्मेलन गरी जानकारी दिइएको थियो ।