Prakash Adhikari July 19, 2018

काठमाडौं, ३ साउन । नेपाली कांग्रेसले जुम्ला घटना एवं संघीय संसद प्रतिपक्षसंग परामर्श बिना ८ दिन सार्ने सरकारको निर्णयलाई अधिनायकवादउन्मुख शैलीको रुपमा लिएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति प्रकाशित गर्दै भन्नुभएको छ , जुम्लामा भएको आजको सरकारी दमन तथा संसद छल्ने गरी बैठकलाई ८ दिन पर सारिएको विषयलाई नेपाली कांग्रेसले गम्भीर रुपमा लिएको छ ।

उहाँले चिकित्सा शिक्षा सुधारका लागि नेपाली कांग्रेसको सरकारले जारी गरेको अध्यादेश भन्दा विपरीत विधेयक ल्याउने तर्फ सरकार लाग्नु र क्रमशः अधिनायकवाद उन्मुख शैली विकसित हुँदै गएका कारण स्थिति जटिल बन्दै गएको निष्कर्ष पार्टीको रहेको उल्लेख गर्नुभएको छ ।

उहाँले विज्ञप्तिमा भन्नुभएको छ, डा. के.सी.को जीवन रक्षा गर्नु हामी सबैको दायित्व हो, तर उपचारका लागि काठमाडौं ल्याउने क्रममा जुम्लाको अस्पतालमै प्रहरी प्रवेश गरेर लाठी चार्ज गर्ने, अश्रुग्यास प्रहार गर्ने, अस्पतालको लाखौंको सम्पत्तिमा क्षति पु¥याउने जस्ता सरकारको दमनकारी कार्यको नेपाली कांग्रेस भत्सर्ना गर्दछ ।

कांग्रेसले घट्नामा चिकित्सक, नर्स, विद्यार्थी एवं कैयन सर्वसाधरण प्रहरीको आक्रमणबाट घाइते भएको जनाउदै घाइतेहरुको स्वास्थोपचार र शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

कांग्रेसले जुम्लामा भएको गम्भीर घटना, डा. के.सी. को माग सम्बोधनमा देखाएको उपेक्षा, प्रतिपिक्षीको परामर्श बिना प्रतिनिधि सभा बैठक स्थगित गर्ने सरकारको गैर जवाफदेही क्रियाकलापप्रति खेद समेट प्रकट गरेको छ ।

कांग्रेसले सबै समाधानको खोजी गर्ने थलो संसदलाई बनाउनु पर्ने संसदीय अभ्यासलाई छलेर प्रमुख मुद्दाहरुमा विषयान्तर गरेर समस्याको समाधान नहुने पनि सरकारलाई सचेत गराएको छ ।

कांग्रेसले डा.गोविन्द के.सी.को जीवन रक्षा र अध्यादेशको हुबहु कार्यान्वयन गर्न सदन र सडकमा विरोध जारी रहने पनि बताएको छ ।

Share Now

Leave a comment.