Prakash Adhikari April 5, 2025

 

सिड्नी(अष्ट्रेलिया), २३ चैत्र । नेपालकी कराते खेलाडी एरिका गुरुङले अस्ट्रेलियाको सिड्नीमा भएको अस्ट्रेलियन ओपन किराते च्यापियनशिपमा स्वर्ण पदक जितेकी छन् ।

शुक्रबार सुरु प्रतियोगितामा एरिकाले ६८ केजी माथि तौल समूहमा स्वर्ण पदक जितेकी हुन् ।

हिमालयन वारियर नाम पाएकी एरिकाको सफलता निकै ठूलो भएको नेपाल किराते महासंघका कोषाध्यक्ष किशोर भट्टराईले बताए । उनका अनुसार २ महिनापछि उज्वेकिस्तानमा हुने एकेएफको वार्षिक प्रतियोगिता एरिकाका लागि अझै महत्त्वपूर्ण रहेको छ ।

दुई वर्ष अघि चीनमा भएको एसियाली खेलकुदमा रजत पदक जितेकी एरिकाले एसियन च्याम्पियनसिपमा पनि रजत नै जितेकी थिइन् ।

सिड्नीमा ६७ केजी मुनीमा सन्तोष श्रेष्ठ, ६१ केजी मुनी सविना श्रेष्ठ, ५५ केजी मुनी पुष्पका लामा र ५० केजी मुनी वर्ष बुढा मगरले कांस्य पदक जितेका छन् ।

प्रतियोगितामा अस्ट्रेलियाबाट प्रतिस्पर्धा गरेका नेपाली खेलाडीहरूमा विजय श्रेष्ठले ६० केजी मुनिमा रजत तथा दिवस श्रेष्ठले ८४ केजी माथि र सोनाम लामाले ६० केजी मुनिमा कांस्य पदक जितेका छन् ।

 

प्रतियोगितामा सहभागी हुने नेपालबाट पाँच जना खेलाडी सहित ९ जनाको टोली अस्ट्रेलियाको सिड्नी गएको थियो ।

Share Now