Prakash Adhikari April 17, 2025

माधुरी महतो
वीरगन्ज(पर्सा), ३ बैशाख । वीरगन्जमा गत सप्ताहान्तमा दुई फरक धार्मिक समुदायबीच देखिएको विवादपछि झडप हुँदा उत्पन्न तनावपूर्ण अवस्थालाई राज्यले कर्फ्यु लगाएर साम्य पार्न खोजे पनि मङ्गलवार बेलुकीदेखि स्थिति फेरि बिग्रन पुगेको छ।

गत शनिवार हनुमान जयन्तीका अवसरमा निकालिएको शोभा यात्राका क्रममा दुई समुदायका मानिसहरूबीच झडप भएको थियो।

मङ्गलवार प्रहरीले शोभा यात्रामा रहेका व्यक्तिहरूमाथि ढुङ्गा हानेका भनेर तीन जना र झडपका क्रममा निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड, आगजनीमा संलग्न रहेका भनेर दुई जना गरी पाँच जना युवाहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो।

पछिल्लो घटनामा तिनीहरूको बिना सर्त रिहाइको माग गर्दै हिन्दूवादी समूहका मानिसहरु प्रदर्शनमा उत्रिएका हुन्।

दुई फरक धर्म समुदायबीचको विवाद र झडपका कारण शनिवारदेखि उत्पन्न तनाव अन्त्य गर्न पाँचबुँदे सहमति भएको थियो।

हनुमान जयन्तीका अवसरमा शनिवार निकालिएको शोभा यात्राका क्रममा भएको झडपमा संलग्न दोषीहरूलाई वैशाख ३ गतेभित्र पक्राउ गरी कारबाही गर्ने, अन्तर धार्मिक, साम्प्रदायिक सद्‌भाव र सहिष्णुता कायम राख्नका लागि सबै पक्ष पूर्ण प्रतिबद्ध रही कानुनी कारबाहीको प्रक्रियामा सहयोग पुर्‍याउने सहमति भएको थियो।

मङ्गलवार मानिसहरू पक्राउ पर्न थालेपछि जम्मा भएको भिडलाई जिल्ला प्रहरी कार्यालयबाट लखेटिएको थियो।

प्रदर्शनमा उत्रिएकाहरूले मंगलबार घण्टाघर, घडिअर्वा चोक लगायतका स्थानमा टायर बालेर प्रदर्शन गरेका थिए भने पक्राउ परेका युवाहरूको रिहाइको माग गर्दै आज बुधवार पनि वीरगन्जको विभिन्न स्थानमा टायर बालिरहेका छन्।

प्रहरीले टायर निभाउने कार्य जारी राखेको छ।

पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार आइतवार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकमा दोषीहरूलाई कानुनी दायरामा ल्याएर कारबाही गरिने र कसैले पनि त्यसमा अवरोध नगर्ने सहमति भएको थियो।

तर पक्राउको विरोधमा मङ्गलवार बेलुकी जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन सुरु भएपछि अवस्था तनावग्रस्त बनेको मिश्रले बताउनुभयो ।

उहाँले भन्नुभयो, ूदुई फरक समुदायबीचको विवाद तथा मनमुटाव झन् बढाउने गतिविधि गर्न पाइँदैन। कर्फ्यु हटाइए पनि निषेधाज्ञा जारी छ। पाँच जनाभन्दा बढी एक ठाउँमा जम्मा हुन पाइँदैन। तर जिल्ला प्रहरी कार्यालय र सडकमा जम्मा भएर हाल प्रदर्शन भइरहेकोले निषेधाज्ञाको उल्लङ्घन गर्न खोज्नेमध्ये दुई जनालाई नियन्त्रणमा लिएका छौँ।ू

उहाँले फरक धार्मिक समुदायबीच मनमुटाव हटाउने प्रयास जारी रहेको बताउनुभयो। विवाद बढाउनेलाई कारवाहीको दायरामा ल्याउने उल्लेख गर्दै उहाँले अहिलेसम्म अवस्था नियन्त्रणमा रहेको र थप बिग्रिए अवस्था हेरेर थप निर्णय लिइने बताउनुभयो।

उहाँका अनुसार बुधवार फेरि दुई समुदायका अगुवा लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि र अन्यसँगको छलफलका लागि बोलाइएको छ।

प्रहरी उपरीक्षक मिश्रले बजार, पसल, व्यापार, कार्यालय निर्बाध रूपमा खुलेको बताउनुभयो।

तर विरोध प्रदर्शनका कारण बजार, पसल, व्यापार आंशिक रूपमा मात्रै खुलेका देखिएको छ ।

यसअघि वीरगन्जका नेता, जनप्रतिनिधि तथा मन्त्री, सांसदहरूले यस्तो गम्भीर विषयमा पनि चासो नदेखाएको भन्दै आलोचना भइरहेको थियो।

अहिले मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सर्वसाधारणमा संयम अपनाउन आग्रह गर्नुभएको छ। त्यस्तै सार्वजनिक अपिल नेपाल सरकारका खोनपानीमन्त्री प्रदीप यादवले पनि गर्नुभएको छ।

अवस्थालाई झन् बिग्रिन नदिन भन्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालित गरिएको बताइएको छ।

Share Now