काठमाडौं, २५ जेठ । भारतमा कोभिडको नयाँ भेरिअन्ट फैलिन थालेसँगै चिन्ता बढिरहेका बेला नेपालमा पनि सङक्रमण देखिएको अधिकारीहरूले बताएका छन्। यद्यपि र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) का क्रममा सङक्रमण पुष्टि भए पनि ती नमूनाहरूको थप परीक्षण भइरहेको उनीहरूले बताएका छन्।
भारतसँग सीमा जोडिएको सुदूरपश्चिमको धनगढी नाकामा बुधवार र बिहीवार गरिएको र्यान्डम परीक्षणका क्रममा चारजनामा सङ्क्रमण देखिएको हो।
महाराष्ट्र, दिल्ली र गुजरातबाट आएकाहरूमा सङ्क्रमण देखिएको होू सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डाक्टर खगेन्द्र बमले भन्नुभयो, “अछाम, डोटी, कैलाली र बर्दिया घर भएका उनीहरूलाई घरै ुआइसोलेनुमा बस्न अनुरोध गरेर पठाएका छौँ।”
पिसिआरका निम्ति नमूना सङ्कलन गरी काठ्माडौं पठाइएको उहाँले बताउनुभयो।
भारतमा सङ्क्रमण बढ्दा नेपालमा चिन्ता
भारतमा सङ्क्रमितको संख्या पाँच हजारको नजिक पुगेपछि नेपालमा पनि चिन्ता बढेको हो।
भारत र नेपालबीच खुला सीमा हुनुका साथै आउजाउ धेरै हुने भएकाले सतर्कता बढाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले बताउनुभयो।
भारतको स्वास्थ्य मन्त्रालयको वेबसाइटमा बिहीवार अपरान्हसम्ममा सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ८ सय ६६ उल्लेख थियो। उक्त सङ्ख्याको एक तिहाइजति अस्पतालमा उपचाररत् छन्। त्यहाँको केन्द्र सरकारले राज्य सरकारहरूलाई सतर्क गराउँदै अक्सिजन, भेन्टिलेटर र औषधिहरूको उपलब्धता सुनिश्चित गर्न निर्देशन दिएको छ।
“त्यत्रो जनसङ्ख्या भएको देशमा चार पाँच हजार जनामा सङ्क्रमण देखिनु ठूलोजस्तो नलागे पनि हामी सतर्क भएका छौँ “, प्रवक्ता बुढाथोकीले भन्नुभयो, “सत्रवटै स्थल नाका र तीनवटै हवाई नाकामा सतर्कता बढाउनुका साथै देशका सबै प्रयोगशालाहरूलाई तयार अवस्थामा राखेका छौँ।”
सङ्क्रमण बढेको पाइएमा र चालिस पचास जनामा सङ्क्रमण देखिएमा मात्रै ‘जिन सिक्वेन्सिङ’ गर्नतर्फ लागिने उहाँले बताउनुभयो।
‘जिन सिक्वेन्सिङ’ सङ्क्रमणको भेरिअन्टको पत्ता लगाउन गरिने महँगो र जटिल किसिमको परीक्षण हो।
कुन भेरिअन्ट
प्रवक्ता बुढाथोकीका अनुसार अहिले देखिएको सङ्क्रमण कोभिडको एकदमै नयाँ भेरिअन्ट होइन। भारतीय स्वास्थ्य संस्थाहरूका विवरणलाई आधार मान्दा अहिले फैलिएको सङ्क्रमण नयाँ नभइ पुरानै ओमिक्रोन भेरिअन्टको म्युटेशन हुँदै बनेको जेएन १ र त्यसका सब–भेरिअन्टहरू हुन्।
“विश्व स्वास्थ्य सङ्गठन डब्ल्युएचओले पनि भारतमा देखिएका मामिलाहरूको अनुगमन गरिराखेको छ। डब्ल्युएचओ र भारतकै कतिपय रिपोर्टहरूले पनि यो भेरिअन्ट त्यति घातक नभएको जनाएका छन”, उहाँले भन्नुभयो, “तर सँगसँगै दीर्घरोगी, वृद्धवृद्धा तथा प्रतिरोधी क्षमता कम भएका अर्थात् जोखिम समूहमा पर्ने मानिसहरू अस्पताल भर्ना हुनुपर्ने अवस्था देखिनुका साथै सङ्क्रमणकै कारण केहीको मृत्यु पनि भएको पाइएको छ।”
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च इकाइका प्रमुख डाक्टर शेरबहादुर पुन हाल देखिएको सङ्क्रमणको विस्तारलाई स्वाभाविक नै मान्छन्। ूमहामारीको स्थिति अन्त्य भइसकेपछि मान्छेहरूको आउजाउ व्यापक भयो”, उहाँले भन्नुभयो, “त्यसका साथै अहिले फैलिएको भेरिअन्टलाई कम घातक भनिए पनि सङ्क्रामक चाहीँ छ।”
डब्लुएचओले सङ्क्रमणका पछिल्ला घटनाहरूलाई निगरानीमा मात्रै राखेकाले डराइहाल्नु पर्ने नभए पनि सतर्क भने हुनुपर्ने डाक्टर पुन बताउनुहुन्छ।
पुनः खोप लगाउनुपर्छ?
मन्त्रालयका प्रवक्ता बुढाथोकीले नेपालमा प्रयोग भएका कोभिडविरुद्धका खोपहरू एन्टिबडी बनाउन प्रभावकारी देखिँदै आएकाले पूरा मात्रा खोप लगाएका व्यक्तिले नयाँ खोप लगाउनु नपर्ने बताउनुभयो।
“तपाईँले पहिल्यै खोपको दुई मात्रा पूरा गरिसक्नुभएको छ वा बुस्टर डोज पनि लगाइसक्नु भएको छ भने फेरि लगाइरहनु पर्दैन”, उहाँले भन्नुभयो, “तर त्यतिबेला खोपको एक मात्रा मात्रै लगाउनुभएको थियो वा एक मात्रा पनि लगाउनु नै भएको थिएन भनेचाहीँ समस्याको कुरा हो।”
तयारी
मन्त्रालयका अधिकारीहरू विगतको तुलनामा यस्ता किसिमका सङ्क्रमणसँग जुध्नका निम्ति थुप्रै किसिमका तयारी भएको बताउँछन्।
“भेन्टिलेटर र आइसियुको उपलब्धता वा आवश्यक तालिम वा एक्सन प्लानको कुरा हेरौँ, धेरै तयारी भएका छन्”, प्रवक्ता बुढाथोकीले भन्नुभयो, “सबैभन्दा पहिले सङ्क्रमण भित्रिन नपाओस् भनेर नाकाहरूमा ध्यान दिएका छौँ। मिल्दो लक्षण भएकाको आरडीटी परिक्षण गर्न र पीसीआरका निम्ति पठाउन भनेका छौँ।सर्वसाधारणलाई पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरिराखेका छौँ। त्यस्तै अस्पतालहरूलाई पनि लक्षण देखिएका बिरामीहरूको कोभिडसमेत जाँच्न भनेका छौँ।”
बुढाथोकीका अनुसार नेपालको हालको स्वास्थ्य प्रणालीले एक लाख मानिसहरूलाई अस्पतालमा भर्ना गरेर सेवा दिन सक्छ। “त्यो सङ्ख्या लाखौँ भइदियो भने त सक्ने कुरा हुँदैन। त्यस्तो स्थिति नआओस् भन्नका निम्ति जनस्वास्थ्य मापदण्डको पालना महत्त्वपूर्ण हुन्छ।”
सुझाव
डाक्टर पुन डेल्टाको तुलनामा अहिलेको भेरिअन्ट कम घातक देखिए पनि यसले ज्येष्ठ नागरिक र दीर्घरोगीलाई दुःख दिन सक्ने बताउनुहुन्छ।
अस्पतालमा आफूले गरेको अनुभव र सञ्चारमाध्यममा आएका बाहिरका विवरणहरूले पनि त्यही देखाएको बताउँदै उहाँले अहिलेको सङ्क्रमणलाई नजरअन्दाज गर्न नहुने बताउनुभयो।
“महामारी अन्त्य भइहाल्यो अब केही हुँदैन भनेर ढुक्क भएर हिँड्नुभन्दा भिडभाडको ठाउँमा ख्याल गर्ने, मास्क लगाउने र साबुनपानीले हात धुनेजस्ता हामीलाई पहिल्यैदेखि थाहा भएका कुराहरूलाई बेवास्ता नगरौँ “, उहाँले भन्नुभयो, “यसले कोभिडको सङ्क्रमणबाट त जोगाउन सक्छ नै, सँगसँगै अहिले मनसुन सिजनमा देखिने झाडापखाला, टाइफाइड तथा रुघाखोकी आदिबाट पनि जोगाउँछ।”
“विशेष गरी ज्येष्ठ नागरिक र दीर्घरोगीहरूको स्वास्थ्यप्रति सतर्क हुनुपर्छ। यदि कोही व्यक्ति सङ्क्रमण फैलिएका स्थानहरूबाट आएको छ र लक्षणहरू पनि देखिएको छ भने तत्काल घरपरिवारका मानिसहरूसँग घुलमिल नगरी केही दिन अलग्गै बसेको उत्तम हुन्छ।”


















