म्याग्दी, २६ असारः म्याग्दीको मालिका गाउँपालिका–३ लुम्पीपारको पहिरोमा पुरिएर बेपत्ता भएका थप एक बालकको शव भेटिएको छ ।
घाँस काट्न पाखोबारीमा गएका मालिका–३ लुप्सीपारका १३ वर्षीय सरोज विकको शव आज भेटिएको हो । उनी बुधबार दिउँसो पहिरोमा पुरिएर बेपत्ता भएका थिए । नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, जनप्रतिनिधी र स्थानीयवासीको संयुक्त टोलीले बिकको शव फेला पारेका मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जानकारी दिनुभयो ।
उक्त पहिरोमा पुरिएर सरोजका बुवा ३५ वर्षीय जगेन्द्र विकको पनि मृत्यु भएको थियो । घर नजिकैको पाखामा दिउँसो घाँस काट्ने क्रममा माथिबाट पहिरो खसेर उनिहरुलाई पुरेको प्रहरी निरीक्षक सागर पौडेलले बताउनुभयो ।
त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला
यहाँको इच्छाकामना गाउँपालिका–६ कालिखोला स्थित त्रिशूली नदी किनारमा आज एक पुरुषको शव फेला परेको छ ।
केही अङ्ग नभएको अवस्थामा अन्दाजी ४५/५० वर्षको देखिने सो शव फेला परेको हो । शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीले जानकारी दिनुभयो ।
उक्त शव गत मङ्गलबार रसुवामा आएको बाढीले बेपत्ता पारेको व्यक्तिको हुन सक्ने अनुमान गरिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।
—


















