Prakash Adhikari July 31, 2025

-गनी अन्सारी । बीबीसी न्यूज नेपाली

काठमाडौं, १५ साउन । मलेशियास्थित नेपाली राजदूतावासले वैदेशिक रोजगारीका लागि त्यहाँ गएका एक नेपाली कामदार हराइरहेको भन्दै केही दिनअघि खोजीका लागि सामाजिक सञ्जाल फेसबुकमा एउटा अपील गर्‍यो।

दूतावासका अनुसार विसं २०६९ सालको फागुन २६ गते रोजगारीको सिलसिलामा मलेशिया पुग्नुभएका खोटाङका मनोज निरौला विगत चार वर्षदेखि सम्पर्कविहीन हुनुहुन्छ।

“परिवारका अनुसार मनोजले सुरुसुरुमा केही वर्ष घरमा फोन सम्पर्क गरिराख्नुभएको थियो, तर पछिल्ला वर्षमा उहाँ सम्पर्कविहीन हुन पुग्नुभएको हो”, दूतावासले भनेको छ।

मनोजका बुवा गङ्गाप्रसाद निरौलाले राजदूतावासमा निवेदन दिई आफ्ना छोराको खोजी गरिदिन र नेपाल फर्काउन पहल गरिदिन आग्रह गर्नुभएको दूतावासले जनाएको छ।

नेपाली दूतावास चिन्तित
मलेशियामा नेपाली श्रमिकहरू बेपत्ता हुनेदेखि स्थानीय मदिरा खाएर झैझगडा गर्नेलगायतका बढ्दो समस्याप्रति दूतावास अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्।

विशेष गरी अदक्ष र अर्धदक्ष नेपाली श्रमिकका लागि मलेशिया प्रमुख गन्तव्यमध्ये एक हो।

क्वालालम्पुरस्थित नेपाली नियोगकी उपप्रमुख मुदिता बज्राचार्यका अनुसार कामदारहरू बेपत्ता हुनुका पछाडि मानसिक समस्या प्रमुख देखिन्छ।

“फेरि मानसिक समस्या हुनुसँग विभिन्न पक्ष जोडिएका छन्। धेरै कमाउने सपना बुनेर आउने तर अपेक्षा पूरा नहुँदा मानसिक तनाव हुने होला”,बीबीसी न्यूज नेपालीसँग फोन कुराकानीमा उहाँले भन्नुभयो,”नेपालबाट ऋण काढेर आउने तर यहाँ आइसकेपछि त्यो तिर्न नसक्दा, काम गर्ने ठाउँमा सहज वातावरण नहुँदा मानसिक तनाव हुन्छ होला। घरको समस्याले पनि तनाव निम्तिएको हुन सक्छ।”

देशबाहिर रहँदा भावनात्मक तथा नैतिक सहयोग नपाएर पनि नेपाली कामदारमा मानसिक समस्या देखिएको हुन सक्ने नियोग उपप्रमुख बज्राचार्यको ठम्याइ छ।

“यी समस्याबीच कोहीकोही मानसिक रोगी भएरै हराउँछन् भने कोहीकोही घरसँग सम्पर्क टुटाएर यतै घरजम गरेको भएकाले पनि हराउँछन्”, उहाँले भन्नुभयो।

उहाँका अनुसार अहिले मलेशियामा २५ नेपाली हराएका छन्। “कोही भेटिने अनि कोही हराएर थपिने भइरहन्छ। निश्चित प्याटर्न चाहिँ छैन”, उहाँले भन्नुभयो।

उहाँका अनुसार ूकहिलेकाहीँ कसैले देखेर हराएका व्यक्तिलाई दूतावाससम्म पुर्‍याइदिन्छन् भने कोहीकोही हराएको हरायैू हुन्छन्।

वैदेशिक रोजगारीका लागि त्यहाँ मूलतः २५ देखि ३५ वर्ष उमेर समूहका नेपालीहरू पुग्ने गरेका छन्।

मदिरा पिउने समस्या उस्तै

दूतावासका अधिकारीहरूका अनुसार धेरै नेपाली कामदारहरूमा मदिरा पिउने प्रवृत्ति चिन्ताजनक खालको छ।

“बिदा पायो कि मदिरा पिइहाल्छन्। त्यो पनि सस्तो खालको लोकल हुन्छ”, बज्राचार्यले भन्नुभयो ,”खाएर आफूआफूबीच झगडा गर्ने, एकअर्कालाई कुट्ने, बोतल फुटाएर छातीमा घोप्ने जस्ता घटना बाहिर आउँछन्।”

गत वर्षा होलीमा मदिर सेवन गरेर सडकमा हडताल गर्दा १३ जनालाई मलेशिया सरकारले फिर्ता पठाइदिएको घटना उहाँले स्मरण गर्नुभयो। “एकजना नेपालीको दुर्घटना भएको रहेछ। होलीमा मदिरा पिएर सडक हडताल गरेछन्। संलग्न १३ जनालाई डिपोर्ट नै गरिदियो”, बज्राचार्यले भन्नुभयो।

दूतावासले उपलब्ध गराएको तथ्याङ्कअनुसार हाल विभिन्न अभियोगमा गरी १ सय ६४ जना नेपाली कामदारहरू मशेलियाली जेलमा छन्। नियोग उपप्रमुख बज्राचार्यका अनुसार अहिले फौजदारी मुद्दामा ३१ जना, हत्याको अभियोगमा १९ जना, लागुऔषसम्बन्धी अभियोगमा २८ जना जेलमा छन्।

समाधान गर्न पहल

मानसिक समस्यादेखि आपराधिक गतिविधिमा संलग्न हुने घटनालाई ध्यानमा राखेर न्यूनीकरणका लागि पहल गरिएको अधिकारीहरू बताउँछन्।

मानसिक समस्या सम्बोधन गर्ने प्रयासमा गत चैतदेखि असारसम्म ुपाइलट प्रोजेक्टु का रूपमा मनोपरामर्श सेवा सञ्चालन गरिएको थियो।

आउँदा दिनमा त्यसलाई निरन्तरता दिने अथवा नदिनेबारे दूतावास टुङ्गोमा भने पुगिसकेको छैन।

“लेक्चर सुन्ने र कल गर्ने दुईथरी कार्यक्रम थियो। कामदारले सोधेका प्रश्न र विज्ञको उत्तरमा भने तालमेल देखिन्न। परामर्श दिनेलाई पनि कामदारको धरातल थाहा हुनुपर्छ”, अन्योलबारे बज्राचार्यले भन्नुभयो।

दक्षिण कोरियाको सोलस्थित नेपाली दूतावासले पनि कामदारहरूलाई अनलाइनमार्फत्‌ मनोपरामर्श सेवा प्रदान गर्दै आएको छ।

श्रमविज्ञको भनाई

श्रमिकहरूमा मानसिक समस्या देखिनुको कारण ऋण तिर्नेदेखि घरपरिवारको अपेक्षासम्म जिम्मेवार रहेको श्रमविज्ञ मीना पौडेल औँल्याउनुहुन्छ।

“ऋण लिएर जान्छन् रोजगारीमा जान्छन्, तर समयमा तिर्न सक्दैनन्। करार फेर्छन् अनि गैरकानुनी हुन पुग्छन्। परिवारको तनाव, आर्थिक मनोवैज्ञानिक तनावका कारण उनीहरू इच्छाले हराएकोभन्दा पनि भौँतारिएका हुन्”, बीबीसी न्यूज नेपालीसँग उहाँले भन्नुभएको छ।

कतार, साउदी अरबजस्ता केही देशको तुलनामा मलेशिया केही उदार भएकोले मदिरा सेवनका घटना बढी रिपोर्टिङमा आएको उहाँ बताउनुहुन्छ।

“मलेशिया अलि उदार भएर पनि मदिरासँग सम्बन्धित रिपोर्टिङ बढी हुँदा कुरा बाहिर चर्चामा आउँछ”, पौडेलले भन्नुभयो ।

समस्या न्यूनीकरणमा लागि श्रमिक, तिनका परिवार र राज्यले आआफ्नो दायित्व पूरा गर्नुपर्नेमा उहाँको जोड छ ।

“निमिट्यान्न त हुँदैन। न्यूनीकरण चाहिँ हुन्छ, तर त्यसका लागि सबै तहबाट कत्तिको प्रयास भएको छ त्यो चाहिँ प्रश्न हो”, श्रमविज्ञ पौडेल भन्नुहुन्छ । सो प्रक्रियामा राज्यको भूमिका महत्त्वपूर्ण हुने उहाँको तर्क छ,”वैदेशिक रोजगारीमा जानुअगाडि राज्यले सूचना, सीप र दक्षताका हिसाबले कत्तिको तयार पारेको छ र गइसकेपछि दूतावासले आफ्ना नागरिकका लागि के गरेको छ भन्ने महत्त्वपूर्ण हुन्छ।”

मलेशियामा तीन लाखभन्दा बढी नेपाली कामदार भएको बताइन्छ। उनीहरू विभिन्न पाँच क्षेत्रमा कार्यरत छन्।

तथ्याङ्कअनुसार उत्पादन क्षेत्रमा सबैभन्दा धेरै ६२ प्रतिशत, सुरक्षा गार्डसहितका सेवामूलक क्षेत्रमा ३० प्रतिशत, कृषि क्षेत्रमा चार प्रतिशत, निर्माण क्षेत्रमा तीन प्रतिशत र बागवानीमा एक प्रतिशत कार्यरत छन्।

Share Now