Prakash Adhikari August 8, 2025

काठमाडौं, २३ साउन । एएफसी यु–२० महिला एसियन कप छनोट अन्तरगत नेपाली चेलीहरु आज दोस्रो खेलमा साउदी अरेबियासंग प्रतिस्पर्धा गर्दैछन् ।

थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुने साउदी अरबसँगको खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ।

समूह ‘ए’मा रहेको नेपालले भुटान र साउदी अरबमाथि गोलको वर्षा गर्ने र साबिक विजेता उत्तर कोरियासँग बराबरी खेलेर छनोटमा पर्ने योजना बुनेको थियो।

तर पहिलो खेलको प्रदर्शनले नेपालो सपना साकार हुन निकै कठिन अवस्था सिर्जना गरेको छ। आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोली भुटानसँग १–१ को निराशाजनक बराबरी खेल्यो। हालै वंगलादेशमा सम्पन्न साफ खेलमा नेपालले भुटानमाथि दुई खेलमा१४ गोल गर्दै सहज जित हात पारेको थियो । बुधबार नेपालले त्यो लय कायम गर्न सकेन ।

खेलको ४०औं सेकेन्डमै सेनु परियारले अग्रता दिलाएकी थिइन । र त्यसपछिका झण्डै ९४ मिनेट नेपाली खेलाडीहरुले मैदानमा दौडेरमात्र बिताए । भुटानलाई अन्डरमाइनिड. गरेर मैदानमा पसेकोले नेपाली खेलाडीहरुले भुटानको रणनीतिलाई निस्तेज पारेर गोल गर्न सकेनन् । पहिलो हाफमा प्रतिस्पर्धीले लिएको रणनीति जानेपछि दोस्रो हाफमा नयाँ रणनीति अनुरुप जानुपर्ने थियो । कोचको अनुभवको कमी हो वा के हो ? नेपालले दोस्रो हाफमा पनि निराशाजनक प्रदर्शन गर्यो । खेलाडी फेरेर पनि जित्न सकिन्थ्यो । तर नेपालले सकेन । बंगलादेशको गर्मीमा ह्याट्रिक गर्ने पूर्णिमा राई र मीना देउवा गोलविहिन रहे । मैदानमा दरिलो उपस्थिति पनि देखिएन ।

पहिलो खेलपछि छनोटको सम्भावनामा प्रश्न लागि सकेको भएपनि खेलमा भाग्यले साथ दिए चमत्कार हुन बेर लाग्दैन ।

साउदी अरेबिया समूहका बलियो टिम उत्तर कोरियासँग १५–० ले पराजय भोगेको थियो।

आजको खेलमा नेपालले साउदी अरेबियालाई ठूलो गोल अन्तरले पराजित गर्यो र उत्तर कोरियासंगको खेलमा चमत्कार भयो भने नेपाल छानिन पनि सक्छ । यसैले नेपाली टोली अहिले ठूलो दबावमा छ ।

यस सिंगल राउन्ड प्रतियोगितामा समूह शीर्षस्थान हासिल गर्ने टिम र उत्कृष्ट तीन उपविजेट मात्र अर्को वर्ष थाइल्यान्डमा हुने एसियन कपको लागि छनोट हुनेछ।

साउदी अरबसँगको जितले नेपालका एसियन कपको सपना जीवित हुन सक्ने भएकोले नेपाल आज दबाबमा छ । उत्तर कोरियासंगको खेलमा भगवान पशुपतिनाथको आशिर्वाद माग्नुको विकल्प छैन । किनकी यो टिम पटक पटक एशिया कप जितेको टिम हो ।

आजै दोस्रो खेलमा उत्तर कोरियाले भुटानसँग प्रतिस्पर्धा गर्दैछ, जसको समय नेपाली अनुसार साँझ ५ः४५ बजे तोकिएको छ।

Share Now