Prakash Adhikari August 28, 2025

काठमाडौं, १२ भाद्र । साताको अन्तिम कारोबार दिन शेयर बजार ओरालो लागेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार बढेर २८०० विन्दुभन्दा माथि बन्द भएको नेप्से, यस दिन घटेर पुनः सो विन्दुभन्दा तल झरेको छ।

बिहीबार धितोपत्र बजार परिसूचक ३८.१० अंक घटेर २७८१.०० विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.७४ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.५५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०२ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। बुधबार ७ अर्ब ६८ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय २२ स्टकको १ करोड ७८ लाख ९१ हजार कित्ता शेयर खरिदबिक्रीबाट ८ अर्ब ९ करोड ५६ लाख १० हजार रुपैयाँबराबरको कारोबार भएको छ।

घटेको बजारमा पनि यस दिन २४ स्टकको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ भने २ सय २७ स्टकको मूल्य घटेको छ ।

यस दिन विकास हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयर निरन्तर सातौँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन सो कम्पनीको शेयरमूल्य ५१ रुपैयाँ ७० पैसा बढेर ५ सय ६८ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ।अन्य शेयर मूल्य बढेका कम्पनीहरुमा मैलुड. खोला, थ्री स्टार, एनएलजी, पिपुल्स पावर, सनराइज फस्र्ट म्युचुअल फण्ड, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, एशियन हाइड्रो पावर, समता लघुवित्त र स्वेतगंगा जलविद्युत कम्पनी रहेका छन् ।

यस दिन अधिक मूल्य घटेका कम्पनीहरुमा ओरियन्टल होटल, लुम्बिनी विकास बैंक,सांग्रीला विकास बैंक,सिकलेस हाइड्रो,जनउत्थान सामुदायिक लघुवित्त,अपर स्यांगे, क्रेष्ट लघुबीमा, नारायणी विकास बैंक,पञ्चकन्यामाई हाइड्रोपावर र ग्रीन भेञ्चर्स लिमिटेड रहेका छन् ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६५ करोड ४४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन हिमालयन रि इन्स्योरेन्सको साढे ६० करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने हिमालयन डिष्टिलरीको कारोबार रकम ३५ करोड रुपैयाँ नाघेको छ। अन्य कारोबार बढी भएका कम्पनीहरुमा शिवम् सिमेन्ट्स,युनाइटेड मोदी, चन्द्रागिरि,लुम्बिनी विकास बैंक, न्यादी ग्रुप पावर लिमिटेड,अरुणकावेली पावर लिमिटेड र बुटबल पावर कम्पनी रहेका छन् ।

यस दिन १३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.३८ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ। यस दिन म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको हो।

Share Now