Prakash Adhikari September 1, 2025

थिम्पु(भुटान), १५ भाद्र । पहिलो भेटमा जितेको नेपालले भुटानसँगको दोस्रो भेटको खेल आइतबार बराबरीमा रोकिएपछि नेपालले यू–१७ वुमेन्स साफ च्याम्पियनसिप यात्रा टुंग्याएको छ ।

दोहोरो राउन्ड रोबिनको आधारमा चलेको प्रतियोगिताको अन्तिम लिग खेलमा भुटानले नेपाललाई १–१ को बराबरीमा रोकेको हो ।

भुटानको थिम्पुस्थित चाङलिमिथाङमा भएको खेलमा नेपालले बबित कार्कीको गोलले १५ औं मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा भुटानका लागि सोनाम याङचिनले बराबरी गोल फर्काइन् ।
यस अगाडिको खेलमा बंगलादेशले विजेता भइसकेको भारतमाथि ४–३ को जित रच्यो ।

अन्तिम खेलको नतिजापछि नेपाल छ खेलबाट चार अंकसहित तेस्रो स्थानमा रह्यो । भुटान भने दुई अंकमा चार टिममध्ये सबैभन्दा पुछारमा रह्यो । अन्तिम खेल अगाडि नै भारत च्याम्पियन भइसकेको थियो । भारत १५ अंकमा शीर्ष स्थानमा रह्यो भने उसको पछाडि बंगलादेश १३ अंकमा रह्यो ।

Share Now