सुरक्षा दलबलसहित अदालतमा हाजिर भए प्रदेश २ का राज्यमन्त्री
जलेश्वर(जनकपुर), २८ साउन ।मधेश आन्दोलनका बेला सशस्त्र प्रहरीका असई थमन विश्वकर्माको हत्या अभियोग लागेर फरार रहेका प्रदेश २ का सामाजिक विकास राज्य मन्त्री अभिराम शर्मा महोत्तरी जिल्ला अदालतमा उपस्थित भएका छन् । सोमबार राज्यमन्त्री शर्मा सुरक्षाकर्मीसहित अदालतमा उपस्थित भएका थिए ।
उनको १ नं. इजलासमा बयान लिने काम भइरहेको छ । राजपाका नेतासमेत रहेका शर्माको मुद्दामा सोमबार नै बहस हुने रजिष्ट्रार रामान्नदप्रसाद अधिकारीले जानकारी दिनुभएको छ ।
उच्च अदालत जनकपुरले जिल्ला प्रहरी कार्यालय र कार्यालय प्रमुखको नाममा अभियुक्त शर्मा सहित संलग्नहरुलाई पक्राउ गर्न भन्दै केही दिन अघि परमादेश जारी गरेएको थियो । अदालतमा हाजिर गराउन महोत्तरी प्रहरीलाई दिएको आदेशपछि राज्यमन्त्री शर्मा आफै उपस्थित भएका हुन् ।
२०७२ भदै २५ गते आन्दोलनकारीको कुटपिटबाट घाइते असई थमन बिश्वकर्माको एम्बुलेन्सबाट उपचारको लागि लैजाने क्रममा बाटोमा थुतेर कुटपिटबाट हत्या गरिएको थियो । सोही मुद्दाका फरार अभियुक्त राज्यमन्त्री शर्माले सोमबार आत्मसमर्पण गरेका हुन् ।
अभियुक्त शर्मासंगै थप २८ जनामाथि सो अभियोग लागेकोमा तीन जनालाई प्रहरीले पहिले नै समातेको र सोमध्ये मोहन ठाकुर हाल तारेखमा छन् भने दुईजना पुर्पक्षको लागि थुनामा छन् ।
सोही मुद्दामा फरार भनिएका अर्का अभियुक्त जलेश्वर नगरपालिका नगरप्रमुख रामशंकर मिश्र लगायतका अन्य भने उपस्थित भएका छैनन् ।