सिउल(दक्षिण कोरिया), २९ भाद्र । नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले हालै नेपालमा नयाँ पुस्ता जेन जीले चलाएको सामाजिक प्लेटफर्ममार्फत अभिव्यक्तिको स्वतन्त्रता, भ्रष्टाचार उन्मूलन, सुशासन, नेपालको समृद्धि र विकासका लागि आन्दोलनलाई भड्काएर देशमा मच्चाइएको विध्वंश र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र तात्कालिन परराष्ट्रमन्त्री डा.आरजू राणा देउवामा माथि गरिएको सांघातिक आक्रमणको निन्दा गरेको छ ।
समितिका अध्यक्ष भजिन्द्रबहादुर क्षेत्रीद्धारा जारी गरिएको विज्ञप्तिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजू राणा देउवाको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।
जनसम्पर्क समिति कोरियाद्धारा जारी विज्ञप्तिमा पवित्र उद्देश्य राखेर जेन जीले गरेका आन्दोलनमा विभिन्न स्वार्थ समूहको ठूलै घुसपैठ भई देशका अत्यन्तै महत्वपूर्ण सार्वजनिक सम्पति तथा पुरातात्विक एवम् ऐतिहासिक धरोहरहरु राष्ट्रपतिको कार्यालय, सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन,महान्यायाधिवक्ताको कार्यालय, विशेष अदालत,जिल्ला अदालत,अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निजी क्षेत्रका भाटभटेनी, चौधरी ग्रुप, हिल्टन होटल, चन्द्रागिरी र मौलाकालिका केवलकारसहित नेपाली काग्रेसका शीर्ष नेताहरुको निवास, केन्द्रदेखि जिल्लासम्मका पार्टी कार्यालय, जिल्ला र पालिकासम्मका सरकारी कार्यालयहरुमा आगजनी र तोडफोड गरी खरबौको सम्पति नोक्सान गरि मुलुकलाई गम्भिर क्षति पुर्याएको उल्लेख गर्दै सो घटनाको घोर निन्दा र भर्त्सना गरिएको छ । जनसम्पर्क समिति दक्षिण कोरियाले यस कार्यमा संलग्न जोकोहीलाई पनि चाँडो भन्दा चाँडो कानुनी कठघरामा ल्याएर कठोर सजाँय दिन माग गरेको छ ।
जनसम्पर्क समिति दक्षिण कोरियाले भ्रष्टाचारमुक्त र सुशासनयुक्त नेपालको माग राखेर निस्वार्थ भावले आन्दोलनमा उत्रिएका जेन जीका किशोर किशोरीमाथि भएको दमनको विरोध गर्दै सो आन्दोलनमा जीवन गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारजनप्रति समवेदना प्रकट गरेको छ भने घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।


















