Prakash Adhikari October 23, 2025

माले(माल्दिभ्स), ६ कार्तिक । नेपालकी राष्ट्रिय भलिबल खेलाडी कामना विष्टले नाइबोली भलिबल च्याम्पियनसिप २०२५ मा लगातार उत्कृष्ट प्रदर्शन जारी राखेकी छन्। माल्दिभ्समा जारी प्रतियोगितामा उनी घरेलु टोली नैफारू चेल्सी स्पोर्ट्स क्लबबाट प्रतिस्पर्धा गरिरहेकी छन्।

पहिलो खेलमा नैफारूले प्रतिद्वन्द्वीलाई २५–१२, २५–०२ र २५–२१ को सोझो सेट स्कोरमा हराउँदै ३–० को सहज जित निकालेको थियो। दोस्रो खेलमा भने टिमले निकै संघर्ष गर्दै २५–२१, २२–२५, २५–२२ र २५–१० को सेट स्कोरसहित ३–१ को जित दर्ता गर्‍यो।

तेस्रो खेल रोमाञ्चक रह्यो। यो खेल दुई नेपाली खेलाडीहरूबीचको भिडन्त थियो। कामनाको नैफारू क्लब र उषा भण्डारीको टिम आमनेसामने हुँदा खेल पाँच सेटसम्म लम्बिएको थियो। तीव्र प्रतिस्पर्धापछि कामनाको टिमले २१–२५, २५–२१, ०७–२५, २५–१३ र १५–१३ को नतिजासहित ३–२ को जित हात पारेको छ।

कामनाले तीनै खेलमा लगातार ‘प्लेयर अफ द म्याच’ जित्दै आफ्नो प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिएकी छन्। उनको उत्कृष्ट प्रदर्शनसँगै टोलीलाई उपाधितर्फ डोहर्‍याएको छ।

हालसम्म नैफारूले तीनै खेलमा जित दर्ता गर्दै सेमिफाइनलको ढोका लगभग खोलिसकेको छ।

Share Now