Prakash Adhikari August 21, 2018

 

भीमदत्तनगर(कञ्चनपुर), ५ भदौ । निर्मम हत्याको शिकार भएकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्यामा संलग्न मुख्य अभियुक्तलाई बचाउन खोजेको भन्दै कञ्चनपुरका स्थानीय आन्दोलित भएका छन् ।

सोमबार बालिका हत्याका अभियुक्तका रुपमा दिलिप विष्टलाई सार्वजनिक गरेपछि स्थानीयले मुख्य अपराधीलाई उन्मुक्ति दिइएको आरोप लगाउँदै आन्दोलन थालेका हुन्।

जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी हत्यामा संलग्न भन्दै भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो ।

नागरिक सङ्घर्ष समिति बनाएर स्थानीयवासी लामो समयदेखि आन्दोलनमा छन् । उनीहरुले मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई हत्या गरेको अभियोगमा सार्वजनिक गरेर प्रहरीले घटनाको वास्तविकता लुकाउन खोजेको आरोप लगाएका छन् ।

गत साउन १२ गते भीमदत्तनगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा हत्या गरी फालिएको अवस्थामा पन्तको शव भेटिएको थियो । उनको साउन ११ गते दिउँसो हत्या भएको थियो ।

मंगलबार विरोध प्रदर्शनका क्रममा स्थानीयले जिल्ला प्रशासन कार्यालयको गेट तोडफोड गर्न खोजेपछि प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी ज्ञान सेठीले ‘स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको बताउनुभएको छ ।

गत १० साउनमा साथी घरमा गएकी निर्मला एकाएक बेपत्ता भएकी थिइन् । भोलिपल्ट उखुबारीमा उनको शव फेला परेको थियो । लगत्तै, प्रहरीले अनुसन्धान थालेको थियो । तर, लामो समयसम्म कुनै सुराक हात नलागेपछि अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली कन्चनपुर पुगेको थियो ।

Share Now

Leave a comment.