काठमाडौं, १३ पौष। नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तरगत आइतबार सम्पन्न खेलमा लगातार दोस्रो जित निकाल्दै दुई पुरुष टोली क्वार्टर फाइनलमा पुगेका छन् भने दुई महिला टोली सेमिफाइनलमा ।
नेपाल पुलिस क्लब पुरुषतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबार सम्पन्न समूह ‘बी’को खेलमा खिल्जी युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो।
जितसँगै पुलिसले ६ अंक पुर्यायो। पहिलो खेलमा पुलिसले ढोरपाटन क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो।
खिल्जीको भने यो पहिलो खेल हो।
पुलिसले पहिलो सेट २५–२१ ले जितेको थियो। त्यसपछिका दुवै सेट समान २५–१६ ले आफ्नो बनायो।
पुलिसले सेमिफाइनल प्रवेश गर्न अब समूह ‘डी’ को उपविजेतासँग खेल्नेछ।
हेल्प नेपाल पनि क्वार्टरफाइनलमा
साबिक विजेता हेल्प नेपाल नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित निकाल्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबार सम्पन्न समूह ‘ए’को खेलमा मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो।
जितसँगै हेल्प नेपालले ३ अंक पुर्यायो। पहिलो खेलमा हेल्प नेपालले एपीएफलाई ३–० कै सोझो सेटमा पराजित गरेको थियो।
मणिमुकुन्दको भने यो पहिलो खेल हो।
पहिलो सेट २५–१६ ले गुमाए पनि अन्यमा भने मणिमुकुन्दले चुनौती दिएको थियो। तर, हेल्प नेपालले उत्कृष्ट प्रदर्शन गर्दै २५–१९ र २५–२२ ले खेल आफ्नो बनायो।
अब हेल्प नेपालले सेमिफाइनल पुग्न समूह ‘डी’को उपविजेतासँग खेल्नेछ।
एपीएफ सेमिफाइनलमा
विभागीय टोली एपीएफ क्लब नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबार सम्पन्न समूह ‘बी’को खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।
योसँगै एपीएफले ६ अंक पुर्याएको छ। एपीएफले पहिलो खेलमा मधेश प्रदेशलाई ३–० कै सेटमा पराजित गरेको थियो।
सुदूरपश्चिमको भने यो लगातार दोस्रो हार हो। यसअघि टोली विभागीय क्लब नेपाल पुलिससँग यही सेटमा पराजित भएको थियो।
अब एपीएफले समूह विजेता बन्न अन्तिम खेल पुलिससँग खेल्ने।
एपीएफले पहिलो सेट २५–६ ले सहजै आफ्नो बनाएको एपीएफले त्यसछि २५–११ र २५–१२ को सहज जित निकालेको थियो।
आर्मीको दोस्रो जित
त्रिभुवन आर्मी क्लबले नवौं एनभिए भलिबल च्याम्पियनसिपको महिलातर्फ लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा जारी च्याम्पियनसिपको आज भएको पहिलो खेलमा आर्मीले चुली युवा क्लबलाई ३-० को सोझो सेटमा हराएको छ। आर्मीले २४-१६,२५-१२,२५-९ ले खेल जितेको हो।
आर्मीले समूह ‘ए’ को आफ्नो पहिलो खेलमा एभरेष्ट भलिबल क्लबलाई हराएको थियो।


















