Prakash Adhikari September 1, 2018

क्वाललम्पुर(मलेशिया), १६ भदौ । मलेसियामा भैरहेको एसिसि एसिया कप छनोट प्रतियोगिता अन्तर्गत तेस्रो खेलमा नेपालले मलेसियालाई १८९ रनको चुनौति प्रस्तुत गरेको छ ।

मलेशियासँग टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले ३० ओभरको खेलमा ७ विकेट गुमाउदै सो लक्ष्य प्रस्तुत गरेको हो ।

नेपालका लागि आरिफ शेखले ४८ बलमा ५ चौका र दुई छक्कासहित ६४ रन जोडे । दीपेन्द्रसिंह ऐरीले ५१ बलमा ६ चौका र एक छक्का सहित ५४ रन जोडे ।

अनिलकुमार शाहले ३३ बलमा १ चौकासहित मात्र १६ रन बनाए ।

कप्तान पारस खड्का ११ बलमा २ चौका सहित १३ रन बनाएर आउट भए ।

अर्का ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले ११ रन मात्र बनाउन सके।

तेश्रो ओभरमा सुरूवाती ब्याट्सम्यान सुभाष खकुरेल केबल ९ रन बनाएर क्याच आउट भए।

बसन्त रेग्मीले ६ रन बनाए ।

त्यस्तै सागर पुनले कुनै रन बनाउन सकेनन।

अघिल्ला दुई खेलमा पराजित नेपाल तेस्रो खेलमा मलेसियाविरुद्ध जित्नैपर्ने दबाबसहित मैदानमा छ।

नेपाली समय अनुसार बिहान ७स्१५ बजेबाट सुरू हुने खेल पानी परेपछि रोकिएको थियो।

एसिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली सुरूका दुई खेलमा पराजित भएपनि छनोट यात्रा जारी राख्ने चाहना छ।

एसिया कप छनोटको शीर्ष दुईमा पुग्न नेपाललाई आज मलेसियाविरुद्ध कुनै पनि हालतमा जित्नै पर्ने दबाब छ।

नेपाललाई आफ्नो लक्ष्य प्राप्तिको सम्भावना कायम राख्न बाँकी तीन खेलमा शतप्रतिशत नतिजा निकाल्नुपर्ने भएको छ। र अरू खेल पनि आफू अनुकुल हुनुपर्छ।

घरेलु टोली मलेसियाविरुद्ध पछिल्लो पाँच भेटमा नेपालले हार बेहोर्नु परेको छैन।

नेपाल भर्सेस मलेसिया (हेड टु हेड)

  • सन् २०१० (एसीसी एलिट ट्रफी) : नेपाल ८ रनले विजयी
  • सन् २०१० (विश्व क्रिकेट लिग डिभिजन-४) : नेपाल १० विकेटले विजयी
  • सन् २०१२ (एसीसी एलिट ट्रफी) : नेपाल २१ रनले विजयी
  • सन् २०१४ (एसीसी प्रिमियर लिग) : नेपाल ५ विकेटले विजयी
  • सन् २०१४ (विश्व क्रिकेट लिग डिभिजन-३ ) : नेपाल डिएलको आधारमा ३६ रनले विजयी
Share Now

Leave a comment.