Prakash Adhikari September 1, 2018

 

काठमाडौं,१५ भदौ । बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन नेपालमा आउनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ओलीको तारिफ गर्नुभएको छ ।

बिमस्टेक सम्मेलनको समापन पछि शुक्रबार भारतीय आर्थिक सहयोगमा पशुपति क्षेत्रभित्र निर्माण गरिएको नेपाल भारत मैत्री धर्मशालाको उद्घाट्नका क्रममा उहाँले सो प्रशंसा गर्नुभएको हो । ‘पशुपतिनाथको पाउमा बिमस्टेक सम्मेलन भएको छ’, भारतीय प्रधानमन्त्री मोदीले भन्नुभयो, ‘अब नेपालका प्रधानमन्त्री ओलीको नेतृत्वमा बिमस्टेक सदस्य देशहरु सुख शान्तिको दिशामा गति लिनेछन् । यति महत्वपूर्ण जिम्मेवारी ओलीजीले पाउनुभयो, उहाँलाई धेरै धेरै बधाइ छ’ ।

पशुपति क्षेत्रमा निर्माण भएको नेपाल भारत मैत्री धर्मशालाको प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

धर्मशाला उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले पशुपतिनाथले नेपाल र भारतको सभ्यता र संस्कृतिलाई जोडेको बताउनुभयो । उहाँले बागमतीलाई सफा गरेर वाग्मतीको पवित्रता पुनस्थापना गरिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले पशुपति क्षेत्र ज्ञान चिन्तन दर्शनको वास्तविक उद्गमस्थल भएको बताउदै भन्नुभयो,
‘जतिबेला दुनियाँमा अन्धकार थियो । यस ठाउँमा ज्ञान संग्रह थियो । यसलाई ज्ञानभूमि, तपोभूमि चिन्तनभूमि भनिन्छ । लामो समयदेखि हाम्रा पुर्खाहरुले ज्ञान विज्ञान अध्ययन अनुसन्धान गरेको ठाउँ हो ।‘केही वर्षयता विभिन्न कारण पछाडि परेको छ । अब समय आएको छ । अब पुनर्जागरणको आवश्यकता छ ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ हिन्दु र वौद्ध धर्माबलम्बीको संगमस्थल भएको बताउँदै यस क्षेत्रको विकासमा भारतको सद्भावना र सहयोग रहने बताउनुभयो ।

भारत सरकारको २२ करोड रुपैयाँ अनुदानमा निर्माण भएको नेपाल भारत मैत्री धर्मशालामा ४ सय बेड रहेको छ । पशुपति मन्दिर क्षेत्रको १० हजार ६ सय २५ वर्गमिटरमा निर्माण भएको धर्मशाला तीन तलाको छ । धर्मशालामा एक बेड, दुई बेड, चार बेड, १० बेड र १२ बेडका कोठाहरु रहेका छन् ।

त्यस्तै भान्छा कोठा, भोजन हल, पुस्तकालय, बहुउद्देश्यीय हल, पानी प्रशोधन केन्द्र, सोलार र जेनेरेटर पनि रहेको छ ।

सन् २०१६ को सेप्टेम्बरमा सुरु भएको उक्त धर्मशाला शुक्रबार भारत सरकारले पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको हो । कोषले नै पशुपतिनाथ मन्दिर दर्शनमा आउने तीर्थालुलाई धर्मशालामा राख्ने व्यवस्था गर्नेछ ।

Share Now

Leave a comment.