काठमाडौं, १४ पौष । नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको आजको खेलमा महिलातर्फ न्युडाइमण्ड र सुदूरपश्चिमले विजय हासिल गरेका छन् भने पुरुषतर्फ आर्मी र रुकुम पश्चिमको टोली क्वार्टर फाइनलमा पुगेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार सम्पन्न खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्युडाइमण्ड टोली अन्तिम चारनजिक पुगेको हो।
जितसँगै समूह ‘ए’ मा रहेको न्यु डाइमन्डले ६ अंक पुर्याएको छ। टोलीले पहिलो खेलमा चुली युवा क्लबलाई सोझो सेटमा हराएको थियो।
लिग चरण सक्काएको आर्मीको पनि समान ६ अंक छ। आर्मीले एभरेस्ट भलिबल क्लब र चुलीलाई सोझो सेटमा पाखा लगाएको थियो।
अब न्यु डाइमन्डले लिग चरणको अन्तिम खेलमा एभरेस्टको चुनौतीको सामना गर्नेछ।
चुलीले एभरेस्टसँग एक खेल खेल्न बाँकी छ। एभरेस्टले भने चुली र न्यु डाइमन्डसँग खेल्न बाँकी नै छ। त्यसैले यो समूहबाट सेमिफाइनल पुग्ने टोलीको टुंगो भने न्यु डाइमन्ड र एभरेस्टबीचको खेलको नतिजाले तय गर्नेछ।
आजको खेलको तीन वटै सेट न्यु डाइमन्डले समान २५–१७ अंक बनायो।
मधेसमाथि सुदूरपश्चिमको जित
नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फ सुदूरपश्चिम प्रदेशले सान्त्वना जित हात पारेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार सम्पन्न खेलमा मधेश प्रदेशमाथि ३–० को सोझो सेटमा जित हात पारेको हो।
सुदूरपश्चिम यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ। विभागीय क्लब नेपाल पुलिस र एपीएफले सुदूरलाई सोझो सेटमै पराजित गरेका थिए। मधेशको भने यो दोस्रो हार हो। यसअघि मधेशलाई एपीएफले सोझो सेटमै हराएको थियो।
एपीएफ भने एक खेल अगाबै सेमिफाइनलमा प्रवेश गरिसकेको छ।
सुदूरले पहिलो सेट २५–२१ ले जित्यो भने दुई सेटमा खेल २५–१४ र २५–१७ ले ।
क्वार्टरफाइनमा आर्मी
लगातार दोस्रो जित निकाल्दै त्रिभुवन आर्मी क्लब नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार सम्पन्न समूह ‘डी’को खेलमा कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो।
जितसँगै आर्मीले ६ अंक पुर्यायो। पहिलो खेलमा आर्मीले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो।
कीर्तिपुरको भने यो पहिलो खेल हो। पहिलो सेट २५–१९ ले जितेको आर्मीले त्यसपछिका दुई सेट २५–२१ ले आफ्नो बनायो।
आर्मीले अब समूह ‘ए’को एपीएफ र मणिमुकुन्द भलिबल क्लबबीचको विजेतासँग खेल्नेछ।
रुकुम पश्चिम क्वार्टरफाइनलमा
लगातार दोस्रो जित निकाल्दै रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टर नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार सम्पन्न समूह ‘सी’को खेलमा जावलाखेल भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो।
जितसँगै रुकुमले ६ अंक पुर्यायो। पहिलो खेलमा रुकुमले बुढानिलकण्ड भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो।
जावलाखेलको भने यो पहिलो खेल हो। पहिलो सेट २५–२० ले जितेको रुकुमले अर्को सेटमा पनि २५–१८ ले हात पार्यो।
तर, तेस्रो सेटमा भने जावलाखेलले पुनरागमन गर्दै खेल २५–२२ ले आफ्नो पक्षमा पार्दै एक सेट लम्ब्यायो।
चौथो सेटमा भने जावलाखेलले चुतौती दिन सकेन र खेल २५–१८ ले गुमायो।


















