काठमाडौं, १६ पौष । नवौं एनभिए भलिबल च्याम्पियनसिपको पुरुषतर्फको क्वाटरफाइनल र महिलातर्फको सेमिफाइनलको समीकरण पूरा भएको छ।
लिग चरणका अन्तिम खेल आज सम्पन्न भएसंगै पुरुषतर्फको क्वाटर फाइनल र महिलातर्फको सेमिफाइनल समीकरण पूरा भएको हो ।
पुरुषतर्फ बुढानिलकण्ठ भलिबल क्लब र कोशी प्रदेश भलिबल संघ आज समूहको अन्तिम खेल जित्दै क्वाटरफाइनलमा स्थान बनाएका छन्।
समूह ‘सी’ को उप विजेताका बन्ने क्रममा बुढानिलकण्ठले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई ३-१ को सेटमा हरायो।
बुढानिलकण्ठले आज २५-१७,२५-१६,१८-२५,२५-२२ को जित निकालेको हो।
सेमिफाइनलमा प्रवेशका लागि बुढानिलकण्ठले समूह ‘ए’ को विजेता टिप टप हेल्प नेपाल स्पोर्टस क्लबको सामना गर्नेछ ।
दिनको र समूह चरणको अन्तिम खेलमा कोशीले कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरलाई ३-० ले पराजित गरेको हो । समूह ‘डी’ को उपविजेता बन्ने क्रममा कोशीले कीर्तिपुरलाई २५-२३,२५-२०,२५-२३ ले हराएको हो ।
कोशीले क्वाटरफाइनलमा समूह ‘बी’ को विजेता नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। सबै क्वाटरफाइनलमा बिहीवार हुनेछन्।
अन्य २ क्वाटरफाइनलमा रुकुम पश्चिम ट्रेनिङ सेन्टर र एपिएफ तथा त्रिभुवन आर्मी क्लब र खिल्जी युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ।
अपराजित पुलिस समूह विजेता
सेमिफाइनल पगिसकेको नेपाल पुलिस क्लब आजको खेल जित्दै च्याम्पियनसिपको महिला समूह बीको विजेता बनेको छ।
लगातार दुई खेल जित्दै हिजै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको पुलिसले आजको पहिलो खेलमा मधेश प्रदेश खेलकुद विकास परिषद्लाई ३-० को सोझो सेटमा हराएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा पुलिसले मधेशलाई २५-३,२५-८,२५-९ ले पराजित गरेको हो। पुलिसको ९ अंक पुगेको छ। ७ अंकसहित यसअघि अन्तिम चारमा पुगिसकेका अर्को विभागीय टोली एपिएफ समूह ‘बी’ को उपविजेता बनेको छ।
योसँगै सेमिफाइनलमाको प्रतिद्वन्द्वी तय भएको छ। सेमिफाइनलमा पुलिसले समूह ‘ए’ को उपविजेता त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ। एपिएफले समूह ‘ए’ को विजेता टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबको सामना गर्नेछ। दुबै सेमिफाइनल शुक्रवार हुनेछ।
महिलातर्फ चुलीमाथि एभरेष्टको जित
महिलातर्फ लिगको अन्तिम खेलमा एभरेष्ट भलिबल क्लबले चुली युवा क्लबलाई २५-१४,२५-५,२५-११ को सोझो सेटमा हराएको छ।
एभरेष्ट, चुलीसँगै समूह बीका सुदूरपश्चिम र मधेश प्रदेश च्याम्पियनसिपबाट बाहिरिसकेका छन्।
महिलातर्फ न्यु डायमण्ड र एपीएफपौष १८ गते शुक्रवार ९ बजे र नेपाल पुलिस र आर्मी क्लब दिउँसो १२ बजे सेमिफाइनलमा भिड्ने छन् ।


















