Prakash Adhikari December 31, 2025
काठमाडौं, १७ पुसः आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले कोशी, मधेश र गण्डकी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ  ।
 कोशी प्रदेशको विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ ।
मोरङ जिल्ला अदालतका मुख्य न्यायाधीश भीष्मराज प्रसार्इंले बुधबार कार्यालयको शुभारम्भ गर्दै राष्ट्रियसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन कार्यक्रमबारे जानकारी गराउनुभयो ।
आगामी माघ ११ गते हुने निर्वाचनका लागि स्थापना गरिएको कार्यालय निर्वाचन आयोगको  कार्यालय विराटनगरमा रहने निर्वाचन आयोगको कार्यालय कोशी प्रदेशका निमित्त प्रमुख चोलाराज दङ्गालले जानकारी दिनुभयो ।
निर्वाचन आयोगबाट स्वीकृत कार्यक्रमअनुुुसार २०८२ पुस १९ गते बिहान १०ः०० देखि ११ः०० बजेसम्म मतदाता नामावली प्रकाशन हुने छभने मतदाता नामावली उपरको दाबी विरोध तथा निवेदन÷उजुरीमाथि छानबिन गरी पुस २२ गते ३ः०० बजेदेखि ४ः०० बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।
यसैगरी, पुस २३ गते बिहान १०ः०० देखि दिउँसो ३ः०० बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, पुस २४ गते बिहान १०ः०० देखि दिउँसो ४ः०० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते बिहान १०ः०० देखि दिउँसो १ः०० वजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो १ः०० देखि २ः०० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।
यस्तै, पुस २८ गते बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । विसं २०८२ माघ ११ गते बिहान ९ः०० देखि दिउँसो ३ः०० बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान कार्यक्रम सम्पन्न हुनेछ ।
कोशी प्रदेशमा महिलातर्फ एक, दलिततर्फ एक र अन्यतर्फ एकजना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ  ।
जनकपुरधाममा कार्यालय स्थापना
 मधेस, प्रदेशको राष्ट्रियसभाको निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । यही माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज सो कार्यालय स्थापना गरिएको निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत सुभाषबाबु पुरीले जानकारी दिनुभयो ।
  सो कार्यालयबाट उम्मेद्वारी दर्ता, मतदान व्यवस्थापन, मतगणना र निर्वाचनसम्बन्धी काम हुने बताइएको छ । सो कार्यालयको  स्थापनापछि मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनको औपचारिक प्रक्रिया अघि बढेको उहाँले बताउनुभयो । निर्वाचन आयोगका अनुसार मधेश प्रदेशमा हाल ३७९ जना मतदाता छन् । ती मतदाताको कूल मतभार १० हजार ८३९ रहेको छ । मतदातामध्ये प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षहरू समावेश छन् ।
प्रदेश सभातर्फ १०७ सदस्य मतदाता छन् । प्रत्येक प्रदेशसभा सदस्यको मतभार ५३ कायम गरिएको छ । यसअनुसार प्रदेशसभा सदस्यतर्फको कूल मतभार पाँच हजार ६७१ रहेको निर्वाचन कार्यालयले जनाएको छ । त्यसैगरी स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख गरी २७२ जना मतदाता छन् । उनीहरूको मतभार १९ कायम गरिएको छभने स्थानीय तहका जनप्रतिनिधितर्फको कूल मतभार पाँच हजार १६८ रहेको छ ।
हाल मतदाता नामावली अन्तिम चरणमा पुगेको भए पनि केही कानुनी र प्रशासनिक कारणले अन्तिम नामावली प्रकाशित हुन सकेको बताइएको छ । मुख्य निर्वाचन अधिकृत पुरीका अनुसार निर्वाचन आयोगले आगामी १९ गते मतदाता नामावली सार्वजनिक गर्ने तयारी गरेको छ । अन्तिम नामावली प्रकाशित भएपछि मात्र मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि यकिन मतदाताको सङ्ख्या र कूल मतभार स्पष्ट हुनेछ ।
आयोगको कार्य तालिकाअनुसार माघ ११ गते राष्ट्रियसभा निर्वाचन हुनेछ ।
गण्डकीमा पनि राष्ट्रिय सभा निर्वाचन अधिकृतको कार्यालय  स्थापना 
राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि गण्डकी प्रदेशमा  निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । पोखराको पार्दीमा रहेको प्रदेश निर्वाचन कार्यालय परिसरभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन कार्यालका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशमा रिक्त हुन लागेका दुई सदस्य पदका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ । गण्डकी प्रदेशमा महिला र अन्य क्लस्टरतर्फ निर्वाचन हुने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यही पुस १९ गते मतदाता नामावली सार्वजनिक गर्ने र पुस २३ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने तालिका रहेको छ ।
(((
Share Now