Prakash Adhikari January 3, 2026

काठमाडौ, १९ पुस: नागार्जुन वाङ्यमय प्रतिष्ठानले वरिष्ठ समालोचक एवं भाषाविद् प्रा डा माधवप्रसाद पोखरेललगायत स्रष्टालाई ‘नागार्जुन वाङ्यमय सम्मान, २०८२’ बाट सम्मान गरेको छ । प्रतिष्ठानद्वारा मासिक रूपमा आयोजना हुने ‘शुभप्रभात काव्यगोष्ठी’ का अवसरमा आज उहाँहरूलाई सम्मान गरिएको हो ।

गाष्ठीमा प्रा डा पोखरेललाई भाषा, साहित्य र समालोचनाका क्षेत्रमा दिनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको हो । यसैगरी साहित्यकार एवं समालोचक आरएम डङ्गोल, कथाकार एवं साहित्यिक पत्रकार होमशङ्कर बास्तोला र कवि निरुपम श्रेष्ठलाई पनि सम्मान गरिएको छ ।

कार्यक्रममा वरिष्ठ कवि पूर्ण विराम (बलराम शर्मा) का कविता वाचनमा उत्कृष्ठता हासिल गर्ने कवि चन्द्रलाल तामाङलाई रु एक हजारसहित पुरस्कृत गरियो । उहाँसँग वाचक प्रतिस्पर्धीका रूपमा कवि गोपाल मैनाली रहनुभएको थियो । अप्रतियोगीका रूपमा कवि प्रकाश सिलवालले कवि पूर्ण विरामका कविता वाचन गर्नुभएको थियो ।

प्रतिष्ठानका अध्यक्ष दिल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रा डा पोखरेलले वाचित कवितामाथि समालोचना प्रस्तुत गर्दै ती कवितामा विद्यमान असमानताका विषय आएको र त्यसको समाधानका लागि माक्र्सवादी चिन्तनलाई सच्चचरित्रका साथ प्रयोग गर्नुपर्ने सन्देश पाइएको बताउनुभयो । उहाँले बोलचालको भाषा सकिएपछि कविताको भाषा सुरु हुने भएकाले कवितामा सिधा अर्थ वा उपदेशात्मक शैली नअपनाउन सुझाव दिनुभयो ।

साझा प्रकाशनद्वारा प्रकाशित कथाकार होमशङ्कर बास्तोलाको ‘रगतको मूल्य’ कथाकृतिमाथि समीक्षा गर्दै समालोचक आरएम डङ्गोलले बास्तोलाका कथामा समाजको यथार्थ चरित्र चित्रण र सुधारोन्मक सन्देश पाइने बताउनुभयो ।
कार्यक्रममा कवि निरुपम श्रेष्ठको एकल कविता प्रस्तुतिका साथै रक्तिम लामा, अल्फिफोहेन फाक्लुप्पा, गङ्गा खतिवडा, टिपी बाराकोटी, लक्ष्मण अधिकारी, दिनेशराज खरेल, बलराम विष्ट, तिलक गाउँले, प्रख्यात पाण्डे, सङ्गी काली, युवराज नास्तिक, नवीन पल्वभ, नवराज न्यौपानेले रचना वाचन गर्नुभएको थियो ।

Share Now