Prakash Adhikari January 3, 2026

 

काराकस(भेनेजुयला), २० पौष (बीबीसी) । भेनेजुएलाले अमेरिकी हमलाबारे छलफल गर्न संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन माग गरेको छ।

भेनेजुएलाका विदेशमन्त्रीले अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्नुपर्ने बताउनुभएको छ।

छिमेकी कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेत्रोले उक्त हमलालाई लिएर गहिरो चिन्ता व्यक्त गर्नुभएको छ ।

उहाँले आफ्नो जनसंख्याको सुरक्षा गर्न र भेनेजुएलाबाट आउन सक्ने मानिसहरूको व्यापक सङ्ख्यासँग जुझ्नका लागि सीमामा सेना तैनाथ गर्न आदेश दिनुभएको छ ।

कराकसमा सुरुवाती विस्फोटनको खबर आएदेखि नै पेत्रोले बारम्बार शान्ति र संवादको लागि आह्वान गर्दै आउनुभएको छ ।

उहाँले अर्गनाइजेसन अफ् अमेरिकन स्टेट्स (ओएएस) र संयुक्त राष्ट्रसङ्घको ‘तत्काल बैठक’को बोलाउन आग्रह गर्नुभएको छ ।

कोलम्बिया र भेनेजुएलाबीच २,००० किलोमिटरभन्दा लामो स्थल सीमा छ। विगतदेखि नै दुई देशमा आर्थिक र सुरक्षा सङ्कट हुँदा लाखौँ मानिसहरूलाई एकअर्काका देशमा शरण लिन बाध्य पारेको इतिहास छ।

निकट रहेका रुस र क्युबाले के भने

कराकसका निकट सहयोगी रुस र क्युबा दुवैले आक्रमणको निन्दा गरेका छन्। मस्कोले अमेरिकी सैन्य कारबाहीलाई ‘निकै चिन्ताजनक’ भनेर व्याख्या गरेको छ।

क्युबाका राष्ट्रपति मिगेल डियाज-कनेलले ‘आफ्नो देशले अमेरिकाले भेनेजुएलामा गरेको आपराधिक आक्रमणको निन्दा गर्छ र तत्काल अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रियाको माग गर्छ’ भन्नुभएको छ ।

युरोपेली सङ्घ ईयूले संयम अपनाउन आह्वान गरेको छ।

स्पेनले शान्तिपूर्ण समाधान खोज्नका लागि आफ्नो देशले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न सक्ने प्रस्ताव गरेको छ।

जर्मनी र इटालीले परिस्थितिलाई नजिकबाट हेरिरहेको बताएका छन्।

यूके संलग्न छैन

प्रधानमन्त्री किअर स्टार्मरले भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा ब्रिटेन ‘कुनै पनि हिसाबले संलग्न नभएको’ बताउनुभएको छ। तर यसबारे टिप्पणी गर्नुअघि आफूले थप सूचना खोजिरहेको उहाँले बताउनुभयो ।

राष्ट्रपति निकोलास मदुरोलाई अमेरिकाले पक्राउ गरेका विषयमा राष्ट्रपति डोनल्ड ट्रम्पसँग कुरा नभएको स्टार्मरले बताउनुभयो

” छैन, मैले कुरो गरेको छैन र यो स्पष्ट रूपमा तीव्र विकासक्रमको अवस्था हो र हामीले सबै तथ्यहरू स्थापित गर्न आवश्यक छ”, उहाँले ब्रिटिश प्रसारकहरूका निम्ति रेकर्ड गरिएको टिप्पणीमा भन्नुभयो ।

“म के भन्न सक्छु भने यस कारबाहीमा ब्रिटेन कुनै पनि हिसाबले संलग्न थिएन।”

कैयौँ ब्रिटिश सांसदहरूले पहिले नै यस कार्यको निन्दा गरेझैँ उहाँले पनि के यस कदमको निन्दा गर्नुहुन्छ भनेर सोधिएको थियो।

जसमा उहाँको जबाफ थियो: “म पहिले तथ्यहरू स्थापित गर्न चाहन्छु। म राष्ट्रपति ट्रम्पसँग कुरा गर्न चाहन्छु। म साझेदारहरूसँग कुरा गर्न चाहन्छु। यो भनिरहँदा म पूर्ण रूपमा स्पष्ट पार्न चाहन्छु कि हामी त्यसमा संलग्न थिएनौँ।”

छिमेकमा चिन्ता

भेनेजुएलामा देखा परेको अभूतपूर्व अवस्थाको सिधा प्रभाव कैयौँ देशहरूमा पर्न सक्ने भए तापनि त्यसको अग्रपङ्क्तिमा कोलम्बिया छ।

अमेरिकी आक्रमणपछि भेनेजुएलाका शरणार्थीहरूको सम्भावित ठूलो आगमनलाई लिएर बोगोटामा समेत तयारी भइरहेको बताइएको छ।

अर्जेन्टिनाका राष्ट्रपति खाबिअर मिलेले भने अमेरिकी हस्तक्षेपको स्वागत गर्नुभएको छ।

चिलेका राष्ट्रपति ग्याब्रिअल बोरिकले अमेरिकी सैन्य कारबाहीप्रति आफ्नो देशको ‘चिन्ता र निन्दा’व्यक्त गर्नुभएको छ ।

इरानको विदेश मन्त्रालयले उक्त आक्रमणलाई भेनेजुएलाको ‘राष्ट्रिय सार्वभौमिकताको स्पष्ट उल्लङ्घन’ भनेको छ।

Share Now