Prakash Adhikari January 3, 2026

 

न्यूयोर्क(संयुक्त राज्य अमेरिका), २० पौष(बीबीसी) । अमेरिकी आक्रमणपछि नियन्त्रणमा लिइएका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उहाँकी श्रीमतीलाई न्यूयोर्कको एक हिरासतमा पुर्‍याइएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलामाथि आफ्नो देशले आक्रमण गरेर राष्ट्रपति मदुरोलाई नियन्त्रणमा लिइएको बताउनुभएको थियो ।

मदुरो र उनकी पत्नीलाई न्यूयोर्क ल्याइँदै गरिएको तस्बिर उहाँले सामाजिक सञ्जाल ट्रूथ मार्फत् सार्वजनिक गर्नुभएको छ। ट्रम्पले ‘यूएसएस इवो जिमा’ युद्धपोतभित्र आँखामा पट्टी बाँधिएको अवस्थामा मदुरोको तस्बिर सार्वजनिक गर्नुभएको हो।

न्यूयोर्कको स्टुवर्ट एअर न्याश्नल गार्ड बेसमा अवतरणपछि उहाँलाई हेलिकप्टरमार्फत म्यानहटन पुर्‍याइएको थियो। त्यहाँबाट मदुरो दम्पतीलाई ब्रुकलिनको मेट्रोपोलिटन डिटेन्सन सेन्टर लगिएको छ।

राष्ट्रपति ट्रम्पले ‘सुरक्षित, उचित र न्यायोचित सत्ता हस्तान्तरण नहुँदासम्म’ भेनेजुएलाको शासन सत्ता अमेरिकाले चलाउने बताउनुभएको छ।

बीबीसीका संवाददादाता टम बेटमनका अनुसार ट्रम्पले आफ्नो देशमा लोकतान्त्रिक भविष्य सुनिश्चित गर्न नभई त्यहाँको विशाल तेल दोहन गर्ने नियत राखेको कतिपय भेनेजुएलाका नागरिकहरूको विश्वास छ।

सरकारी टेलिभिजनमार्फत् सम्बोधन गर्दै भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले देशका एक मात्र राष्ट्रपति मदुरो नै भएको बताउनुभएको छ।

भेनेजुएलाले ‘अत्यन्त गम्भीर सैनिक आक्रमण’ भएको भन्दै देशभरि राष्ट्रिय आपत्काल घोषणा गरेको छ।

संयुक्त राष्ट्रसङ्घले के भन्यो?

संयुक्त राष्ट्रसङ्घका महासचिवका एक जना प्रवक्ताले भेनेजुएलामाथि भएको अमेरिकी सैन्य कारबाहीबाट आफू ूअत्यन्तै चिन्तितू भएको महासचिव एन्टोनियो गुटेरसले बताएको उल्लेख गर्नुभएको छ ।

उहाँले ‘उक्त क्षेत्रमा निम्तिन सक्ने प्रभावबारे चिन्तित रहेको’ पनि बताउनुभएको छ।

‘भेनेजुएलाको यो परिस्थितिमा मात्रै पनि अहिलेका घटनाक्रमले खतरनाक नजिर स्थापित गरेका छन्’, विज्ञप्तिमा भनिएको छ।

“महासचिवले अन्नर्राष्ट्रिय कानुन र राष्ट्रसङ्घको विधानको सबैले पूर्ण सम्मान गर्नुपर्नेमा निरन्तर जोड दिनुभएको छ। अन्तर्राष्ट्रिय कानुनको पालना नभएकोमा उहाँ अन्त्यन्तै चिन्तित हुनुभएको छ।”

चीन र रुसको समर्थनमा कोलम्बियाले सुरक्षा परिषद्‌को आपत्कालिन बैठक आह्वान गरेको छ।

भेनेजुएलाबाट मुदुरो दम्पत्तीलाई कसरी पुर्‍याइयो न्यूयोर्क?

भेनेजुएलाबाट पक्राउ पर्नुभएका मदुरो दम्पती न्यूयोर्कको म्यानह्याटनस्थित पश्चिमी भागमा रहेको अमेरिकी लागुऔषध नियन्त्रण निकाय डीईएको मुख्यालयमा सबैभन्दा पहिले पुर्‍याइनुभयो ।

शनिवार बिहान नहुँदै मदुरोलाई भेनेजुएलाको राजधानी काराकासबाट अमेरिकी हेलिकप्टरमार्फत बाहिर लगिएको थियो। त्यसपछि उहाँलाई क्यारिबिअन सागरको अज्ञात स्थानमा रहेको अमेरिकी युद्धपोत ुयूएसएस इवो जिमाुमा पुर्‍याइएको थियो।

त्यसपछि मदुरोलाई क्युबास्थित ग्वान्टानामो बेमा रहेको अमेरिकी नौसैनिक अड्डामा लगियो। त्यहाँबाट उहाँलाई अर्को विमानमा सारेर न्यूयोर्क राज्यको ओरिन्ज काउन्टीमा रहेको स्टुवर्ट एअर फोर्स बेसतर्फ उडाइयो।

स्टुवर्ट एयर फोर्स बेस पुगेपछि मदुरोलाई फेरि हेलिकप्टरमार्फत् न्यूयोर्क सहर भित्र्याइएको थियो।

पक्राउ परेदेखि अमेरिकामा अवतरणसम्म मादुरोले करिब ३,३०० किलोमिटर दूरी यात्रा गर्नुभयो ।

मदुरोमाथि केके मुद्दा लाग्न सक्छन्?

अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले भेनेजुएलाका राष्ट्रपति मदुरो र उहाँकी पत्नी, प्रथम महिला सिलिया फ्लोरेसमाथि न्यूयोर्कको साउदर्न डिस्ट्रिक्ट अदालतमा अभियोग दर्ता गरिएको जानकारी दिनुभएको छ ।

उहाँहरूमाथि लागुऔषध–आतङ्कवादको षड्यन्त्र र कोकिन आयात, मशीनगन तथा विनाशकारी हतियार राखेको अनि अमेरिकाविरुद्ध मशीनगन र विनाशकारी हतियार राख्न षड्यन्त्र गरेको आरोप लगाइएको छ।

अमेरिकी कस्टम्स एन्ड बोर्डर प्रोटेक्सन प्रणालीमा उनीहरूको विवरण प्रविष्ट गर्नुअघि बायोमेट्रिक विवरण, औँठाछाप र अनुहार प्रष्ट देखिने अर्धकदको तस्बिर लिइन्छ।

स्वास्थ्य परीक्षण जस्ता प्रक्रिया पूरा गरेपछि मदुरो र उहाँकी पत्नीलाई अदालतमा औपचारिक रूपमा अभियोग सुनाइने अधिकारीहरूले बताएका छन्।

मदुरोलाई सोमवार मात्रै अदालत उपस्थित गराइने ठानिएको छ।

Share Now