फुङ्लिङ (ताप्लेजुङ), २० पुस : यहाँस्थित धार्मिकस्थल पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ । सो क्षेत्रमा यसवर्ष पहिलोपटक गत मङ्सिर ६ गते हिमपात भएको थियो ।
हिमपात भएसँगै चिसो बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटरमा अस्थित पाथीभरा क्षेत्रहरूमा विगतमा मङ्सिरदेखि नै हिमपात हुने गर्दथ्यो । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार शनिबार बेलुका पाथीभरा क्षेत्रमा हिमपात भएको हो ।
पाथीभरा हिमपात भए पनि तीर्थयात्रीहरूलाई सहजताका लागि पदमार्गमा फाइबरको ट्रस लगाएको छ । यसले वर्षा र हिमपातसमेत पाथीभरा धामसम्म पुग्नका लागी तीर्थयात्रीलाई सहज हुने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
आज हिमाली भेगमा हिमपात, तराईमा हुस्सु
आज देशभर पश्चिमी वायूको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु÷कुहिरो रहनेछ ।
कोशी प्रदेशका पहाडी तथा हिमाली भागका साथै गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने महाशाखाद्वारा आज यहाँ जारी विज्ञप्तिमा उल्लेख छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
त्यसैगरी महाशाखाले आज राति तराई भागका धेरै स्थानमा कुहिरो लाग्नेछ । कोशी प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने जनाएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको साथै तराई भागमा कुहिरोको समेत सम्भावना रहेको छ । यसको प्रभाव रहँदा दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।




















