Prakash Adhikari January 5, 2026
  • जेरमी बोअन
    अन्तर्राष्ट्रिय सम्पादक, बीबीसी

भेनेजुएलाका नेता निकोलास मदुरोलाई कब्जामा लिएसँगै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी सैन्य शक्तिको आडमा आफ्नो इच्छाशक्तिको बलमाथि रहेको उहाँको विश्वासलाई अहिलेसम्मकै सबैभन्दा शक्तिशाली ढङ्गले प्रदर्शन गर्नुभएको छ। उहाँको आदेशमा अमेरिकाले मदुरोलाई हिरासतमा राखेको छ र अब भेनेजुएलालाई सञ्चालन गर्नेछ।

अमेरिकी राष्ट्रपतिले आफ्नो फ्लोरिडास्थित क्लब र निवास मार-ए-लागोमा आयोजित एक अभूतपूर्व पत्रकार सम्मेलनमार्फत विश्वव्यापी रूपमा अमेरिकी विदेश नीतिमा ठूलो प्रभाव पार्ने घोषणा गर्दै ‘हामीले सुरक्षित, उचित र न्यायिक हस्तान्तरण गर्न सम्भव हुने समय नभएसम्म’ भेनेजुएला अमेरिकाको जिम्मेवारीमा हुने बताउनुभयो।

उहाँले भन्नुभयो, “अमेरिकी विदेश मन्त्री मार्को रुबिओले भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेससँग कुरा गर्नुभयो, जसले उहाँलाई भन्नुभयो कि, ूहामी तपाईँलाई जे चाहिन्छ त्यो गर्नेछौँ….मलाई लाग्छ, उहाँ निकै दयालु हुनुहुन्थ्यो। तर उहाँसँग वास्तवमा कुनै विकल्प पनि छैन।”

ट्रम्पले विवरण थोरै मात्रै दिनुभयो। उहाँले भन्नुभयो, “हामी स्थलमा खटिनु परेछ भने पनि त्यसका लागि डराउने छैनौँ।”

तर के उहाँ वास्तवमा टाढैबाट भेनेजुएलालाई शासन गर्न सक्छु भन्ने विश्वास गर्नुहुन्छ त? मार-ए-लागोमा मार्को रुबिओ र अमेरिकी रक्षा मन्त्री पिट हेग्सेथ दुवैले खुलेर प्रशंसा गरेको आफ्ना शब्दलाई सैन्य कारबाहीद्वारा समर्थन गर्ने यो प्रदर्शनले भेनेजुएलालाई पुनः आकार दिन र ल्याटिन अमेरिकी नेताहरूलाई दबावमा पारेर आफूले भनेको मान्ने बनाउन पर्याप्त हुनेछ त?

उहाँ यस्तै केही विश्वास गर्नुहुन्छ भन्ने सुनिन्थ्यो।

यो सहज वा सजिलै हुने छैन भन्ने प्रमाणहरू छन्।

गत अक्टोबरमा एउटा प्रतिष्ठित थिङ्क ट्याङ्क इन्टरन्याश्नल क्राइसिस ग्रुपले मदुरोको पतनले भेनेजुएलामा हिंसा र अस्थिरता निम्त्याउन सक्ने चेतावनी दिएको थियो।

त्यही महिना द न्यु योर्क टाइम्सले ट्रम्पको पहिलो प्रशासनका बेला रक्षा र कूटनीतिक अधिकारीहरूले मदुरोको पतन भयो भने के हुनसक्छ भनेर काल्पनिक युद्ध(खेल खेलेका थिए भनेर लेखेको थियो। उनीहरूको निष्कर्ष हिंसात्मक अराजकताको सम्भावना थियो किनकि सशस्त्र गुटहरू सत्ताका लागि प्रतिस्पर्धा गरिरहेका थिए।

निकोलास मदुरोलाई हटाउनु र हिरासतमा लिनु अमेरिकी सैन्य शक्तिको उल्लेखनीय प्रदर्शन हो।

अमेरिकाले लडाकू पानी जहाजहरूको एउटा विशाल समूह जम्मा गर्‍यो र एक जना पनि अमेरिकीको ज्यान नगुमाई आफ्नो लक्ष्य प्राप्त गर्‍यो।

मदुरोले आफ्नो चुनावी हारलाई पन्छाएर भेनेजुएलाका जनताको इच्छालाई बेवास्ता गर्नुभएको थियो र निःसन्देह उहाँको बहिर्गमनलाई त्यहाँका धेरै सर्वसाधारणले स्वागत गर्नेछन्।

तर अमेरिकी कदमको प्रभाव भेनेजुएलाको सीमाभन्दा धेरै बाहिरसम्म पनि प्रतिध्वनित हुनेछ।

मार-ए-लागोको पत्रकार सम्मेलनको माहौल उल्लासपूर्ण थियो। किनभने उनीहरूले अत्यन्तै व्यावसायिक अमेरिकी सेनाले सञ्चालन गरेको सफल कारबाहीको उत्सव मनाइरहेका थिए।

सैन्य कारबाही पहिलो चरण मात्रै हो।

बल प्रयोग गरेर अर्को देशमा सत्ता परिवर्तन हासिल गर्नेअमेरिकाको विगत ३० वर्षको रेकर्ड विध्वंसकारी रूप असफल छ।

प्रकृयालाई सफल वा असफल बनाउने भनेको त्यसपछिको राजनीतिक गतिविधिले हो।

सन् २००३ मा अमेरिकाले गरेको आक्रमणपछि इराक रक्तपातपूर्ण विपत्तिमा फसेको थियो। अमेरिका सन् २०२१ मा फिर्ता हुने वित्तिकै अफगानिस्तानमा राष्ट्र निर्माणको प्रयासमा खर्च भएको दुई दशकको समय र अर्बौँ डलर खेर गयो।

यी दुवै देश अमेरिकाको छिमेकमा थिएनन्।

यद्यपि ल्याटिन अमेरिकामा विगतका हस्तक्षेपहरूको अवशेष र भविष्यमा हुन सक्ने अन्य हस्तक्षेपहरूको खतरालाई विचार गर्दा ती फलदायी निश्चय नै देखिँदैनन्।

ट्रम्पले सन् १८२३ मा अमेरिकी राष्ट्रपति जेम्स मुन्‍रोले पश्चिमी गोलार्द्धमा अमेरिकाको प्रभाव क्षेत्रमा हस्तक्षेप नगर्न अरूलाई चेतावनी दिँदै गरेको घोषणा ‘मन्‌रो डक्ट्रिन’ लागि नयाँ उपनाम Donroe Doctrine डन्‍रो डक्ट्रिनको प्रयोग गर्नुभएको छ।

“मन्‌रो डक्ट्रिन एउटा ठूलो विषय हो तर हामीले यसलाई धेरैमाथि उठाएका छौँ”, ट्रम्पले मार-ए-लागोमा भन्नुभयो,” हाम्रो नयाँ राष्ट्रिय सुरक्षा रणनीतिअन्तर्गत पश्चिमी गोलार्द्धमा अमेरिकी प्रभुत्वमाथि फेरि कहिल्यै प्रश्न उठाइने छैन।”

उहाँले कोलम्बियाका राष्ट्रपति गुस्टाभो पेट्रो पनि खतरामा रहेको भन्दै सचेत रहन भन्नुभएको छ ।

पछि फक्स न्युजसँग बोल्दै उहाँले ‘मेक्सिकोलाई केही गर्न पर्ने भएको’ बताउनुभयो।

निःसन्देह रूपमा क्युबा पनि अमेरिकी एजेन्डामा छ जसलाई रुबिओले सञ्चालन गरिरहनुभएको छ। उहाँका आमाबुवा क्युबाली अमेरिकी हुनुहुन्छ ।

ल्याटिन अमेरिकामा अमेरिकाको सशस्त्र हस्तक्षेपको लामो इतिहास छ।

सन् १९९४ मा म हेइटीमा थिएँ जब राष्ट्रपति बिल क्लिन्टनले २५,००० फौज र दुई वटा विमानवाहक पानी जहाज त्यसतर्फ पठाउनुभयो। त्यसपछि, हेइटीको शासन एउटा पनि गोली नचलाईकनै ढलेको थियो। त्यसयताका ३० वर्ष हेइटीका जनताका लागि निरन्तर दुःखको अवधि रहँदै आएको छ। हेइटी अहिले सशस्त्र गिरोहको बाहुल्य रहेको असफल राज्य बनेको छ।

ट्रम्पले भेनेजुएलालाई फेरि महान् बनाउने कुरा गर्नुभयो तर प्रजातन्त्रको कुरा भने गर्नुभएन। त्यहाँकी विपक्षी नेत्री मारिआ कोरिना मचाडो जसले सन् २०२५ को नोबेल शान्ति पुरस्कार प्राप्त गर्नुभयो उहाँले देशको नेतृत्व गर्ने कुरा पनि खारेज गरिदिनुभएको छ।

“मलाई लाग्छ नेता बन्न उहाँलाई असाध्यै कठिन हुनेछ, उहाँसँग समर्थन छैन… उहाँसँग सम्मान छैन।”

उहाँले भेनेजुएलावासीले सन् २०२४ को चुनावको सही विजेता ठानेका एड्मन्डो गोन्जालेजको नाम उल्लेख गर्नुभएन ।

बरु अमेरिकाले अहिलेका लागि मदुरोका उपराष्ट्रपति डेल्सी रोड्रिगेसलाई समर्थन गरिरहेको छ।

मदुरोलाई हटाउन अमेरिकी सेनालाई आवश्यक पर्ने केही आन्तरिक साँठगाँठ भएको हुनुपर्छ तर उहाँका पूर्ववर्ती ह्युगो चाभेजले स्थापना गरेको सत्ता संरचना भने त्यहाँ कायमै रहेको देखिन्छ।

भेनेजुएलाको सशस्त्र बलले अमेरिकी आक्रमणको प्रतिरोध गर्न असमर्थताबारे आफ्ना जेनरलहरूले महसुस गर्न सक्ने कुनै पनि अपमानका बावजुद अमेरिकी योजनालाई स्वीकार गर्ने सम्भावना छैन।

भेनेजुएलामा अमेरिकी हस्तक्षेपले ट्रम्पको विश्व दृष्टिकोणका केही स्रोतहरू स्पष्ट रूपमा केन्द्रित गरेको छ।

अन्य देशका खनिज सम्पत्तिबारेको आफ्नो चासोबारे गोप्य छैनन्।

उहाँले आफूले सैन्य सहायता गरेर त्यसको बदलामा युक्रेनको प्राकृतिक स्रोतबाट नाफा उठाउने प्रयास गरिसक्नुभएको छ।

“हामी जमिनबाट ठूलो मात्रामा (तेल) सम्पत्ति निकाल्न गइरहेका छौँ र त्यो भेनेजुएलाका जनता र भेनेजुएला बाहिरका मानिसहरूलाई जान्छ जो भेनेजुएलाका हुने गर्थे र यो पारिश्रमिकको रूपमा अमेरिकामा पनि जान्छ।”

मदुरो विरुद्धको कारबाहीले विश्व चल्ने सबैभन्दा राम्रो तरिका भनेको अन्तर्राष्ट्रिय कानुनमा उल्लेख गरिएको सहमतिको नियम पालना गर्नु हो भन्ने विचारलाई अर्को गम्भीर धक्का दिएको छ।

डोनल्ड ट्रम्पले पदभार ग्रहण गर्नुअघि नै यो विचार चकनाचुर भएको थियो। तर उहाँले अमेरिका र अन्तर्राष्ट्रिय रूपमा बारम्बार उहाँ आफूलाई मन नपर्ने कानुनलाई बेवास्ता गर्न सक्छन् भन्ने देखाइसक्नुभएको छ।

ब्रिटेनका प्रधानमन्त्री किअर स्टार्मरलगायत उहाँलाई रिस उठाउन नचाहने युरोपेली साझेदारहरू मदुरो विरुद्धको कारबाही संयुक्त राष्ट्र सङ्घको बडापत्रको उल्लङ्घन हो भन्ने तथ्यको निन्दा नगरी अन्तर्राष्ट्रिय कानुनको विचारलाई समर्थन गर्ने तरिकासँग सङ्घर्ष गरिरहनुभएको छ।

भेनेजुएलाको राष्ट्रपतिको आवरणमा लागुऔषध कारोबारीको लागि पक्राउ पुर्जी कार्यान्वयनमा उसको सेनाले सहयोग गरिरहेको छ भन्ने अमेरिकी औचित्य पातलो छ, विशेष गरी ट्रम्पको घोषणालाई ध्यानमा राख्दै कि अमेरिकाले अब देश र यसको तेल उद्योगलाई नियन्त्रण गर्नेछ।

मदुरो र उहाँकी पत्नीलाई पक्राउ गर्नुभन्दा केही घण्टाअघि उहाँले कराकसस्थित आफ्नो निवासमा चिनियाँ कूटनीतिज्ञलाई भेट्नुभएको थियो ।

चीनले अमेरिकी कदमको निन्दा गरेको छ। उसले भनेको छ, “अमेरिकाको प्रभुत्वपूर्ण कार्यले अन्तर्राष्ट्रिय कानुन र भेनेजुएलाको सार्वभौमिकताको गम्भीर उल्लङ्घन गरेको छ र ल्याटिन अमेरिका र क्यारेबिअन क्षेत्रको शान्ति र सुरक्षालाई खतरामा पारेको छ।”

अमेरिकाले ‘अन्य देशको सार्वभौमिकता र सुरक्षाको उल्लङ्घन गर्न बन्द गर्नुपर्छ।’

यति हुँदाहुँदै पनि चीनले अमेरिकी कदमले स्थापित गरेको नजिर देख्न सक्छ।

उसले ताइवानलाई एउटा टुक्रिएको प्रान्तको रूपमा मान्छ र घोषणा गरेको छ कि यसलाई बेइजिङको नियन्त्रणमा फर्काउनु राष्ट्रिय प्राथमिकता हो।

वासिङ्टनमा यो निश्चित रूपमा सिनेट इन्टेलिजेन्स कमिटीका डेमोक्र्याटिक उपाध्यक्ष सिनेटर मार्क वार्नरको डर हो। उहाँले एउटा विज्ञप्ति जारी गर्दै चिनियाँ नेताहरू र अन्यले नजिकबाट नियालिरहेको बताउनुभएको छ ।

“यदि अमेरिकाले विदेशी नेताहरूलाई आक्रमण गर्न र कब्जा गर्न सैन्य बल प्रयोग गर्ने अधिकार दाबी गर्छ भने उसले आपराधिक आचरणको आरोप लगाउँछ भने चीनलाई ताइवानको नेतृत्वमाथि समान अधिकार दाबी गर्नबाट केले रोक्छ? रुसी राष्ट्रपतिे भ्लादिमिर पुटिनलाई युक्रेनका राष्ट्रपतिलाई अपहरण गर्ने यस्तै औचित्य दाबी गर्नबाट के रोक्छ? एक पटक यो रेखा पार गरेपछि, विश्वव्यापी अराजकतालाई रोक्ने नियमहरू भत्किन थाल्छन् र अधिनायकवादी शासनहरूले यसको फाइदा उठाउनेछन्।”

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई आफूले नियम बनाउने र अमेरिकामा उनको कमान्डमा जे लागु हुन्छ त्यही अधिकारहरू अन्यले पाउन नसक्ने विश्वास भएको जस्तो देखिन्छ।

तर संसारको शक्तिले त्यसरी काम गर्दैन।

सन् २०२६ को सुरुमा उहाँले चालेका कदमले अर्को १२ महिना संसारभरि उथलपुथल ल्याउँछ।

Share Now