पोखरा(कास्की), २३ पौष । एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २२ औं संस्करणमा करातेकी एरिका गुरुङ र क्रिकेटका दीपेन्द्र सिंह ऐरी वर्ष २०८१ को उत्कृष्ट खेलाडी बनेका छन्।
कार्यक्रममा पारातेक्वान्दो खेलाडी पलेशा गोवर्धनले ट्रेलब्लेजर अवार्ड प्राप्त गरिन ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले पहिलो पटक काठमाडौं बाहिर पोखरामा आयोजना गरेको अवार्ड कार्यक्रममा पलेशालाई एनएसजेफ ट्रेलब्लेजर अफ दी इयर अवार्डबाट सम्मान गरिएको छ।
एनएसजेएफले प्रदान गर्दै आएको १० विधा बाहेक उनलाई यो विशेष अवार्ड विशेष पदकको लागि प्रदान गरिएको हो।
सन् १९६४ को टोकियो ओलम्पिकबाट सुरु भएको नेपालको ओलम्पिक यात्रामा झण्डै ६ दशकमा सय हाराहारी खेलाडी सहभागी भए पनि आधिकारिक पदक नेपालले जित्न सकेको थिएन्।
सन् २०२४ पेरिस पारा ओलम्पिकमा पलेशाले ५७ केजी तौल समूह के ४४ क्याटगरीमा कास्य पदक जित्दा नेपालले ओलम्पिक्समा इतिहास रच्यो। यो नेपालको ओलम्पिक्स वा पारा ओलम्पिक्स इतिहासकै पहिलो आधिकारिक पदक हो। साथै नेपालले अन्तराष्ट्रिय स्तरमा प्राप्त गरेको यो अहिलेसम्मकै ठूलो पदक हो।
एनएसजेएफ वर्ष खेलाडी पुरुषको अवार्ड राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीले जितेका छन्। क्रिकेटर ऐरीका लागि यो वर्ष सफल रह्यो।
एसीसी प्रिमियर कप २०२४ मा कतारविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गर्दै उनले विश्वव्यापी चर्चा कमाए। उनी टि २० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा यो कीर्तिमान बनाउने तेस्रो खेलाडी बने।
वर्ष २०८१ मा उनले ३ सय ७० रन बनाउनुका साथै २० विकेट लिए। अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न आइसीसी पुरुष टी २० विश्वकपमा उनले ६ विकेटसहित नेपालका सर्वाधिक विकेट लिने खेलाडी बने। सोही प्रतियोगितामा दक्षिण अफ्रिकाविरुद्ध ३ विकेट लिए। उनले पहिलो संस्करणको नेपाल प्रिमियर लिगमा सर्वोत्कृष्ट खेलाडीको अवार्ड र कार जिते।
यो विधामा उसुका विजय सिन्जाली, क्रिकेटका कुशल भुर्तेल खोखोका जनक चन्द तथा टेबल टेनिसका स्यान्टु श्रेष्ठ मनोनयनमा परेका थिए।
एनएसजेएफ वर्ष खेलाडी महिलाको अवार्ड लगातार दोस्रो पटक करातेकी सुपर स्टार खेलाडी एरिका गुरुङले जितेकी छिन्।
एरिकाको असाधारण प्रदर्शनले बर्ष २०८१ मा पनि निरन्तरता पाउँदा भुटानमा सम्पन्न आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा दुई स्वर्ण, अस्ट्रेलियन ओपन २०२४ मा स्वर्ण, चीनमा सम्पन्न २० औं एएकेएफ सिनियर कराते च्याम्पियनसिपमा रजत, सिंगापुरमा सम्पन्न १६ औं एसिया प्यासिफिक कराते च्याम्पियनसिपमा स्वर्ण तथा दुबईमा सम्पन्न वर्ल्ड कराते वान युथ लिगमा रजत पदक जितिन्। यही सानदार प्रदर्शनमा उनी लगातार दोस्रो पटक यो अवार्डको हकदार बनिन्।
यो विधामा खोखो खेलाडी मनमती धामी, कराते खेलाडी अलिशा रास्कोटी मगर, भलिबलकी सलिना श्रेष्ठ र फुटबलर रेखा पौडेल वर्ष खेलाडी बन्ने दौडमा थिए।
एनएसजेएफ युवा वर्ष खेलाडीको अवार्ड यु १९ महिला क्रिकेट टिमकी पूजा महतोले जितेकी छिन्। नेपाली महिला यू १९ क्रिकेट टोलीलाई पहिलो पटक विश्वकपमा पुर्याउँदा नेपालको नेतृत्व पूजाले गरेकी थिइन्। छनोट र एसिया कपमा उनले प्रभावशाली प्रदर्शन गरेकी थिइन्। उनी नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी उपकप्तान पनि हुन्।
यो विधामा एथलेटिक्स अजय बिके, करातेकी अञ्जली महर्जन, बक्सिङकी स्वस्तिका तिरुवा र फुटबलका समिर तामाङ मनोनयनमा रहेका थिए।
एनएसजेएफ वर्ष प्रशिक्षकको अवार्ड पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले जितेका छन्। पलेशा गोवर्धनले पेरिस पारा ओलम्पिक्समा ऐतिहासिक कास्य पदक जित्दा पर्दा पछाडिका नायक लामा नै हुन्। उनले पलेशालाई तेक्वान्दो खेल्न डोर्याएका थिए। अनि उनकै प्रशिक्षणमा पलेशा देशकै ठूलो पदक जित्न सफल भइन्।
यो विधामा बक्सिङ प्रशिक्षक दीपक महर्जन, खोखो प्रशिक्षक लक्ष्मीनारायण वैद्य, क्रिकेट प्रशिक्षक महेश रिजाल र कराते प्रशिक्षक कुशल श्रेष्ठ मनोनयनमा परेका थिए।
एनएसजेएफ पारा एथलिट अवार्ड प्रभा आङ्देम्बेले प्राप्त गरेकी छिन्। प्रतिस्पर्धात्मक खेलमा प्रवेश गरेको एक वर्ष नपुग्दै उनले उल्लेखनीय उचाइ हासिल गरिन्। राष्ट्रिय खेलकुद परिषदद्वारा आयोजित विश्वविद्यालय खेलकुदमा १५ सय मिटर दौडपछि उनी पारा खेलतर्फ आकर्षित भइन्।
बागमती राष्ट्रिय स्तरीय पारा एथलेटिक्स च्याम्पियनसिपमा ८०० र १५ सय मिटरमा स्वर्ण जितिन्। दुबई ग्रान्ड प्रिक्सबाट अन्तर्राष्ट्रिय डेब्यु गरेकी उनले नयाँदिल्लीमा ३ दशमलव ९६ मिटर जम्प गर्दै टी ४७ लङ जम्पमा रजत जितिन्। जुन नेपाली पारा एथलेटिक्सकै सबैभन्दा ठूलो पदक हो। उनी विश्व पारा एथलेटिक्स च्याम्पियनसिपका लागि छनोट भइसकेकी छिन्।
एनएसजेएफ पिपल्स च्वाइस अवार्ड भलिबल खेलाडी भलिबल खेलाडी हिमाल सुनारीले जिते।
मतको आधारमा विजेता चयन हुने यो अवार्ड जित्ने क्रममा हिमालले ४८ प्रतिशत भन्दा बढी मत प्राप्त गरे। गण्डकी प्रदेशका खेलाडी हिमालले मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिप २०८१ गण्डकीले जित्दा उनको भूमिका निर्णायक रह्यो। प्रधानमन्त्री कप एनभिए च्याम्पियनसिप, पहिलो सुनकोशी गाउँपालिका राष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिप र नवौं एनभिए लिगमा गण्डकी उपविजेता बन्दा उनको प्रदर्शन अब्बल थियो। टाइगर कप भलिबलको तेस्रो संस्करणमा उनी उत्कृष्ट सर्भर बनेका थिए।
फुटबलर रेखा पौडेल सर्वाधिक मत पाउने दोस्रो खेलाडी बनिन्। उनले ३० दशमलव ९२ प्रतिशत मत प्राप्त गरिन्। १० दशमलव ८६ प्रतिशत मत सहित क्रिकेट खेलाडी पूजा महतो तेस्रो भईन्। यो विधामा उसुका विजय सिञ्जाली र टेबल टेनिसकी इभाना थापा मगर पनि मनोनयनमा परेका थिए।
एनएसजेएफ टिम अफ दी इयरको अवार्ड खोखो को महिला र पुरुष टिमले संयुक्त रुपमा जितेका छन्। नयाँदिल्लीमा सम्पन्न पहिलो खोखो विश्वकपमा दुवै टोली फाइनल पुगेको थियो। जहाँ दुवै टिमले ऐतिहासिक रजत पदक प्राप्त गरेका थिए। विश्व कपमा टिम स्पर्धामा नेपाललाई पदक दिलाउने खो खो पहिलो टिम बनेको छ।
एनएसजेएफ लाइफटाइम अचिभमेन्ट अवार्डबाट वरिष्ठ एथलेटिक्सका पूर्व खेलाडी तथा प्रशिक्षक खड्ग रानाभाट सम्मानित भएका छन्।
नेपालका पहिलो पुस्ताका खेलाडी तथा प्रशिक्षक रानाभाटले दशकौँसम्म नेपाली खेलकुदको विकासमा योगदान दिए।
पोखरालाई आधारभूमि बनाएका उनले सन् १९६० र ७० को दशकमा राष्ट्रिय प्रशिक्षकका रूपमा काम गरे। १९७२ म्युनिख ओलम्पिकमा चोटका कारण खेल्न नसके पनि उनको प्रभाव दीर्घकालीन रह्यो। १९८७ को दक्षिण एसियाली खेलकुद (कोलकाता)मा नेपाल टोलीका प्रशिक्षक रहँदा बैकुण्ठ मानन्धरले २ मिनेट १५ मिनेट ०३ सेकेन्डको म्याराथन कीर्तिमान बनाएका थिए। जुन आजसम्म कायम छ। ८० वर्ष नाघिसक्दा पनि उनी नेपाली खेलकुदप्रतिको सेवामा लागिरहेका छन्।
एनएसजेएफ स्पेशल अवार्ड तेक्वान्दो विज्ञ तुलसीकुमार गुरुङले प्राप्त गरेका छन्।
उनले दक्षिण कोरियाको कुक्किवनबाट नवौं डान ब्ल्याक बेल्ट प्राप्त गर्ने पहिलो नेपाली हुन्। पोखरामा जन्मिएका गुरुङ १७ वर्षको उमेरमा ब्रिटिस गोर्खा आर्मीमा भर्ती भएपछि हङकङ पुगे। उनले त्यहाँ खेलाडी र प्रशिक्षकका रूपमा उल्लेखनीय करियर बनाए। सन् २००१ मा हङकङ नेपाली तेक्वान्दो संघ स्थापना गरे। सन् २०१३ मा हङकङ राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक नियुक्त भएका थिए।
नेपालमै योगदान गर्ने चाहनाले उनले पोखरामा फिट नेपाल स्पोर्ट्स प्लेक्स स्थापना गरेका छन्। जसको लक्ष्य युवा खेलाडीलाई उच्चस्तरीय प्रशिक्षण दिनु हो।
एसियन स्पोर्टस जर्नलिष्ट अवार्ड बङ्गलादेशका मोहम्मद हसन उल्लाह खानले प्राप्त गरे।
अवार्ड कार्यक्रममा पुरूष, महिला, युवा, प्रशिक्षक तथा पिपल्स च्वाइस अवार्ड विजेताले पल्सर मोटरसाइकल प्राप्त गरेका छन् । अन्य विधाका विजेताले समान १ लाख रुपैयाँ ।


















