Prakash Adhikari September 4, 2018

 

काठमाडौँ, १८ भदौ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणका वास्तविक दोषी पहिचान गर्न ढिलाइ भएको भन्दै काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल सरकार र संघीय संसदकोे ध्यानाकर्षण गराएको छ ।

सोमबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका नेता तथा सांसद दिलेन्द्रप्रसाद बडुले निर्मला प्रकरणबारे संघीय संसदलाई जानकारी दिनुभएको हो । नेपाली कांग्रेसले सो प्रकरणको सत्य तथ्य पत्ता लगाउन केन्द्रीय सदस्य एवम् सांसद दिलेन्द्रप्रसाद बडु र पूर्व मन्त्री वीरबहादुर बलायरको समिति बनाएको थियो । सो समितिले स्थलगत अध्ययनपछि प्रतिवेदन तयार पारेको छ ।

सांसद बडुले गत साउन ११ गते भगतपुरस्थित साथीको घरमा गृहकार्य गर्न गएकी भीमदत्तनगर नगरपालिका वडा नं २ निवासी कक्षा ९ मा अध्ययनरत पन्तको हत्या प्रकरणमा प्रहरी प्रशासन र स्थानीय तहका जनप्रतिनिधिले छानबिन र अनुसन्धानलाई फितलो बनाएको र अनावश्यक किचलो ल्याएको बताएउनुभयो ।

सांसद बडुले निर्मलाको हत्यापछि प्रहरी प्रशासनले समयमा नै अनुसन्धानलाई प्राथमिकता नदिँदा अहिलेको अवस्था आएको बताउनुभयो।

उहाँले पीडित परिवार, आन्दोलनकारी, महिला समूह, आमा समूह, विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रशासन लगायतसँग आफ्नो समितिले छलफल गरेको र उक्त क्रममा आशंका गरिएकालाई प्रहरी प्रशासनले बचाएको र निर्दोषलाई पटकपटक प्रताडना दिएको बताउनुभयो।

बडुले निर्मला हराएको उजुरी प्रहरीमा गर्दा प्रहरीले गैरजिम्मेवार अभिव्यक्ति दिएको र न्यायका लागि भएको आन्दोलनलाई सत्ताधारी दलका वरिष्ठ नेताहरूले राजनीतिक भनेकोमा पनि स्थानीय आक्रोशित भएको बताउनुभयो। त्यस्तै, प्रहरी प्रशासनको अनुसन्धानप्रति पनि स्थानीयमा आक्रोश र अविस्वास रहेको बताउनुभयो। उक्त आन्दोलनमा प्रहरीले गोली चलाउँदा १४ बर्षीय बालक शनि खुनाको मृत्यु भएको थियो ।

‘सरकारले पछिल्लो पटक गठन गरेको उच्चस्तरीय छानविन समितिले समेत राम्रोसँग काम नगरेको हो कि भन्ने त्यहाँका स्थानीयको आशङ्का रहेको उहाँले बताउनुभयो । उहाँले पीडितपक्षको गुनासो, जनताको भावना र अन्य तटस्थ पक्षको विचारलाई समेटेर कांग्रेसले प्रतिवेदन बनाएको पनि बताउनुभयो ।

स्थानीयल अपराधी पहिचान हुने आशामा १५ दिनका लागि आन्दोलन स्थगन गरेका थिए । उनीहरूले भदौ २६ सम्म वास्तविक अपराधी पहिचान नभए पुनः आन्दोलन गर्ने र त्यो आन्दोलन पहिलेको भन्दा थप कडा हुने बताएका छन् ।

प्रहरीले घटनाका वास्तविक हत्यारा लुकाउन मानसिक सन्तुलन गुमाएका भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको आरोप लगाउँदै स्थानीयले आन्दोलन चर्काएका थिए ।

सांसद बडुको टोलीले घट्नाका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डलाई समेत भेटेर घट्नाको सत्यतथ्य बाहिर ल्याउन ढिलाइ भएकोमा प्रधानमन्त्री ओली र प्रचण्डको ध्यानाकर्षण गराएको छ ।

जवाफमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले घटनाबारे सरकारले सूक्ष्म अध्ययन गरिरहेको भन्दै वास्तविक अपराधी पत्ता लगाएरै छोड्ने आश्वसन दिनुभएको छ ।

Share Now

Leave a comment.