Prakash Adhikari January 12, 2026

नयाँ दिल्ली,  २८ पुस (रासस/सिन्ह्वा) : भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले सोमबार प्रक्षेपण गरेको रकेटमार्फत १६ वटा उपग्रह कक्षमा राख्ने मिसन असफल भएको छ। रकेटको तेस्रो चरणमा प्राविधिक गडबडी देखिएपछि उपग्रहहरू निर्धारित कक्षमा पुग्न नसकेको इसरोले जनाएको छ।
इसरोका अनुसार रकेटले तय गरिएको उडान मार्गबाट ठूलो विचलन देखाएको थियो, जसका कारण उपग्रहहरू कक्षामा स्थापित गर्न सकिएन।

‘इन्डिया टुडे’ अनलाइनले इसरोका अध्यक्ष वी. नारायणनलाई उद्धृत गर्दै जनाएअनुसार मिसनमा प्राविधिक समस्या देखिएको हो। उहाँले भन्नुभयो, “सुरुका चरणहरू सामान्य रहे पनि तेस्रो चरण (पीएस–३) मा कक्ष दाब अचानक घट्दा आवश्यक शक्ति प्रदान हुन सकेन। यसका कारण उडान मार्गमा ठूलो विचलन आयो र उपग्रहहरू कक्षमा राख्न सकिएन।”

यसअघि इसरोले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा प्रकाशित गरेको सूचनामा भनेको थियो, “पीएसएलभी–सी६२ मिसनको तेस्रो चरणको अन्त्यतिर प्राविधिक गडबडी देखिएको छ। यस विषयमा विस्तृत विश्लेषण सुरु गरिएको छ।”

Share Now