काठमाडौँ, २९ पौष। नेपाली कांग्रेसलाई एकताबद्ध राख्न र विभाजनको रेखामा पुग्न नदिन विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षका प्रतिनिधिहरुबिच बालुवाटारमा वार्ता भइरहेको छ ।
पार्टीभित्रको समाधानको लागि भन्दै विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र संस्थापन पक्षले पहिले वार्ता समिति बनाएको थियो ।
विशेष महाधिवेशन पक्षधरबाट केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र मधु आचार्य, नेता गुरुराज घिमिरे र देवराज चालिसे वार्ता समितिमा छन् ।
संस्थापन पक्ष र मध्यमार्गी डा. शेखर कोइरालाका तर्फबाट बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र नेता डाक्टर मिनेन्द्र रिजाल वार्ता समितिमा रहेका छन् ।
विशेष महाधिवेशन पक्षका नेताहरुले सभापति देउवासहित संस्थापन पक्षलाई बोलाए पनि उहाँहरू आजसम्म भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा उपस्थित हुनुभएको छैन् ।
वार्तामा हुने प्रगति अनुसार यता केन्द्रीय समितिको बैठक चल्ने छ भने अर्कोतिर विशेष महाधिवेशन कसरी अघि लैजाने भन्ने तय हुने छ ।
कांग्रेस केन्द्रीय समिति बैठक १ बजे सर्यो
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका लागि सारिएको छ ।
मंगलबार बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो १ बजे बस्ने गरी सारिएको कांग्रेस मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभएको छ।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेशका सभापतिहरूलाई सहभागिता हुन आह्वान गरिएको छ ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अगुवाईमा आइतबारदेखि भृकुटीमण्डपमा भैरहेको विशेष महाधिवेशनका कार्यक्रमहरु निर्वाध रुपले छोडिदिंदा पार्टी विभाजनमा पुग्ने जोखिम देखिएपछि सोमवारदेखि पार्टी विभाजन हुने परिस्थिति आउन नदिन दुवै पक्षका नेताहरु अहोरात्र खटेका छन् । आज बिहान दुवै पक्षका प्रतिनिधिहरु बालुवाटारमा बैठक बसेर पार्टीलाई एकताबद्ध राखेर अगाडि बढ्ने उपाय पहिल्याउन छलफल गरिरहेका छन् । वार्ताको प्रगतिलाई ध्यानमा राखेर ११ बजेका लागि निर्धारित केन्द्रीय समितिको बैठक दिउँसो १ बजेको लागि सारिएको हो ।


















