काठमाडौं,१९ भदौ ।प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै देशसँगको सैन्य गठबन्धनमा नेपाल सहभागी नहुने बताउनुभएको छ।
मङ्गलवार उहाँले प्रतिनिधिसभाको बैठकमा बिम्स्टेकसम्बद्ध सात देशका सेनाको भारतमा हुन लागेको सैन्य अभ्यासबारे सांसदहरूका प्रश्नहरूको जवाफ दिनुभएको हो।
अन्य छिमेकी देश संलग्न नरहेको सैनिक अभ्यास नेपालको असंलग्न परराष्ट्रनीतिविरुद्ध हुने आशङ्का सांसदहरूको थियो।
प्रधानमन्त्री केपी ओलीले दक्षिण र दक्षिणपूर्वी एशियाली मुलुकहरू सदस्य रहेको सङ्गठन बिम्स्टेकको काठमाण्डूमा सम्पन्न सम्मेलनबारे जानकारी गराउन सङ्घीय संसद् पुग्नुभएको थियो ।
सेनाप्रति अविश्वास
त्यस क्रममा प्रतिनिधिसभाका सांसदहरूले बिम्स्टेकका सदस्य देशका सेनाको भारतमा हुन लागेको संयुक्त सैन्य अभ्यासको विषयलाई मुख्य रूपमा उठाए।
अचम्म, कहाँबाट आयो सैन्य अभ्यासको कुरो ? बिम्स्टेकलाई कुनै सैन्य गठबन्धनमा बदल्न खोजेको घोषणामा कतै देखिन्छ? नेपालले कुनै सैन्य गठबन्धनमा विश्वास गर्दैन र पस्दा पनि पस्दैन
केपी शर्मा ओली, प्रधानमन्त्री
प्रश्न गर्ने सांसदहरूको शैली फरक भए पनि समग्रमा सैन्य अभ्यासमा सहभागी भएर नेपालले भारतीय चाहनालाई साथ दिएको भन्ने आशय वा जिज्ञासा थियो।
तर प्रधानमन्त्रीले त्यो कुरा अस्वीकार गर्दै भन्नुभयो, ‘अचम्म, कहाँबाट आयो सैन्य अभ्यासको कुरोर? बिम्स्टेकलाई कुनै सैन्य गठबन्धनमा बदल्न खोजेको घोषणामा कतै देखिन्छर? नेपालले कुनै सैन्य गठबन्धनमा विश्वास गर्दैन र पस्दा पनि पस्दैन।’
बिम्स्टेक सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्रीको सुरक्षाको निम्ति भारतीय सुरक्षाकर्मीसमेत आएको विषयमा पनि संसद्मा प्रश्न उठ्यो।
अन्तर्राष्ट्रिय तहको सुरक्षामा गोर्खा फौज सहभागी रहेको सन्दर्भ उठाउँदै सांसद मीना सुब्बाले सोध्नुभयो, ‘नेपालले भारतलाई छिमेकीभन्दा पनि नजिकको दाजुभाइको नाताले हेर्छ। तर भारतीय प्रधानमन्त्री आउँदा नेपाली सेनाप्रति अविश्वास किन प्रधानमन्त्रीज्यू ?’

प्रधानमन्त्री ओलीले त्यसमा सुरक्षा लगायतका विभिन्न संवेदनशीलता पनि जोडिने गरेको बताउँदै धेरै उचाल्नु पर्ने विषय नभएको भनि जवाफ फर्काउनुभयो।
कुन रेल ?
उहाँको भनाइ थियो, ‘बिम्स्टेकको सन्दर्भमा कुनै देशको सेना कुनै कब्जा गर्न आएको होइन, हामी पनि बाहिर जाँदा गच्छेअनुसार सुरक्षाकर्मी सैन्य पोसाक वा सादा पोसाकमै लिएर जान्छौँ। यो स्वाभाविक कुरा हो।’
सुरक्षा रणनीतिसँग जोडिएका ती दुई विषयसँगै एउटा अर्को प्श्न विकास रणनीति वा कूटनीतिसम्बन्धी थियो।
राष्ट्रिय जनता पार्टीका सांसद महिन्द्र राय यादवले सोध्नुभयो, ‘प्रधानमन्त्रीज्यू, कुन रेल काठमाण्डूमा पहिले आइपुग्छ, चीनको कि भारतको?’
तर प्रधानमन्त्री ओलीले अन्य कतिपयको मनमा समेत रहेको त्यो जिज्ञासामा प्रवेशै नगरी आफ्नो जवाफी मन्तव्य टुङ्ग्याउनुभएको।
बीबीसीबाट


















