इस्लामाबाद(पाकिस्तान), १९ भदौ । पाकिस्तानमा १३ औं राष्ट्रपतिमा प्रधानमन्त्री इमरान खान नेतृत्वको तेहरिक–ए– इस्लाम पार्टीका नेता आरिफ अल्भी निर्वाचित हुनुभएको छ । मंगलबार भएको निर्वाचनमार्फत अल्भी नयाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो।
निर्वाचनमा खसेको ४ सय ३० मतमध्ये आरिफ अल्भीले २ सय १२ मत प्राप्त गरी राष्ट्रपतिमा विजयी हुनुभएको हो ।
उहाँका प्रतिष्पर्धी पाकिस्तान मुस्लिम लीग–नवाजको समर्थनमा जामियत उलेमा–इ–इस्लाम पार्टीका मौलाना फजलूर रहमानले १३१ मत प्राप्त गर्नुभएको थियो भने पाकिस्तान पिपुल्स पार्टीका तर्फबाट चुनाव लडेका एजाज अहसनले ८१ मत प्राप्त गर्नुभयो । ६ मत खारेज भएको पाकिस्तानी सञ्चारमाध्यामहरुले जनाएका छन् ।
निर्वाचनमा संसदका दुबै सदन र चारवटा प्रान्तीय सभार्का एक हजारभन्दा बढी सांसदहरुले मतदानमा भाग लिएका थिए । निर्वाचित राष्ट्रपति अल्भी प्रधानमन्त्री इमरान खानका निकटस्थ र पूर्व चिकित्सक समेत हुनुहुन्छ ।
अल्भीसँगै चुनावमा नवाज शरिफको पाकिस्तान मुस्लिम लीग–नवाजको समर्थनमा जामियत उलेमा–इ–इस्लाम पार्टीका मौलाना फजलूर रहमान र संसदमा तेस्रो ठूलो दल पाकिस्तान पिपुल्स पार्टीका तर्फबाट एजाज अहसनको उम्मेदवारी परेको थियो ।


















