Prakash Adhikari January 23, 2026

काठमाडौं, १० माघः हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भैरहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा शुक्रबार बेलुकादेखि हिमपातसहित हिउँदे वर्षा भइरहेको छ ।

बैतडीको उच्च लेकाली भेग खोड्पे, श्रीभावर, ढोल्यामोड, मुस्याचोर, सतबाँझ, देहिमाडौँलगायतका क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।

वर्षासँगै हिमपात भइरहे पनि राजमार्गहरूमा कुनै समस्या नरहेको प्रहरी निरीक्षक सिंहले बताउनुभयो । दार्चुलाको व्यास र अपिहिमाल क्षेत्रमा हिमपात भएको छ । डडेल्धुरा सदरमुकामका साथै हगुल्टे, साहुखर्क, भातकाँडा क्षेत्रमा हिमपात भएको प्रहरीले जनाएको छ ।

यो वर्ष पहिलोपटक हिउँदे वर्षा र हिमपात भएपछि यहाँका किसान खुसी भएका छन् । गएको चार महिनादेखि वर्षा नहुँदा यहाँ गहुँबालीलगायतका हिउँदे बाली सुक्दै गएका थिए । हिमपात र वर्षा भएपछि किसानहरू बाली सप्रिने भन्दै खुसी भएका छन् । हिमपातका कारण अत्यधिक चिसो बढेको छ । चिसोबाट बच्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

हुम्लामा हिमपात
हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको हुम्लामा वर्षाभएसँगै यस वर्षकै पहिलो पटक हिउँ पर्न थालेको हो । निकै लामो सम हिउँ नपर्दा चिन्तित भएका किसान हिउँ पर्न थाले पछि खुसी भएका छन् ।
हुम्लाको तल्लो क्षेत्रमा भने वर्षा भइरहेको छ । जिल्लाको तल्लो क्षेत्रमा धैरै पानी वरपरे पश्चात् हिमपात हुने गर्दछ भने माथिल्लो हुम्ला सिमकोट नाम्खालगायतका क्षेत्रमा अहिले हिमपात भइरहेको छ ।
हिमपातले जनजिवन कष्टकर बनेको छ । हिमपात भएसँगै नाम्खा गाउँपालिका र उक्त गाउपालिका हुँदै हिल्सा जाने बाटो पूर्णरुपमा बन्द भएको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागमा थोरै स्थानहरूमा हल्का हिमपात/वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । देशका उच्च पहाडी तथा हिमाली भू–भागमा थोरै स्थानहरूमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशको बाँकी भू–भाग एक–दुई स्थानमा समेत हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति देशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेश, गण्डकी र कर्णाली प्रदेश प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ ।

Share Now