Prakash Adhikari February 9, 2026
  • निरञ्जन राजवंशी
    मुम्बई, भारत

सामाजिक सञ्जालमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) देखि चर्चित अन्तर्राष्ट्रिय खेलाडीहरू र प्रख्यात कमेन्टेटरसम्मले टी२० विश्वकपमा इङ्ग्ल्यान्डसँगको नेपाली खेलाडीहरूको प्रदर्शनलाई खुलेर तारिफ गरिरहेका छन्।

भारतीय फ्रेन्चाइज क्लबहरू पनि अगाडि आएका छन्। अन्य विश्लेषकहरूको प्रशंसा त कति हो कति।

तिनीहरू नेपाल अन्तिम बलमा चुकेकोमा चुकचुकाएका छन् र नेपालको अन्तर्राष्ट्रिय क्रिकेटको भविष्य उज्ज्वल रहेको बताइरहेका छन्।

ती चर्चाहरूका माझ दक्षिण अफ्रिकाका पूर्वखेलाडी डेल स्टेएन नेपालको प्रदर्शनबाट यति प्रभावित भए कि खेललगत्तै उनले नेपाली टोलीलाई साथ दिन पाए आफू तयार रहेको भनी सामाजिक सञ्जालबाट खुल्ला अफर नै दिए।

हुन पनि दुई पटकको विश्व च्याम्पियन इङ्ग्ल्यान्डविरुद्ध नेपालले वाङखेडे रङ्गशालामा अन्तिम बलसम्म जितको लागि गरेको प्रयासबाट विश्व क्रिकेट जगत् प्रभावित नहुने कुरै थिएन।

नेपाली ब्याटरहरुको डरविहीन बाउन्ड्रीहरू आकर्षक थिए।

खेलाडीहरूको मनोबल र ‘बडी ल्याङग्वेज’ हेर्दा कहीँ पनि यस्तो देखिँदैनथ्यो कि यो विश्व च्याम्पिअनविरुद्ध कुनै असोसिएट राष्ट्र खेलिरहेको छ।

टक्कर बराबरको देखिएको थियो। विपक्षी टोली ‘आच्छुआच्छु’ भएको थियो।

बहादुरीका क्षणहरू

जोफ्रा आर्चरले सोचेका थिएनन् होला कि कुशल भुर्तेलले उनको एक ओभरमा तीन चौका प्रहार गर्ने छन् र लोकेश बमले उनीविरुद्ध निर्भीक भएर छक्का हान्न हिच्किचाउने छैनन्।

वाङखेडेको वातावरण यस्तो थियो कि धेरै समय कप्तान ह्यारी ब्रूकले साथीहरूसँग मैदानमा छलफल गर्नुपर्‍यो।

ओपनिङ बलर लूक वूड त यति ‘नर्भस’ भइसकेका थिए की १९ औँ ओभरमा उनले नियन्त्रण गुमाउँदै तीन वाइड फ्याँक्न पुगे।

विल ज्याक्सले आफ्नो टोली अन्तिम ओभरमा नर्भस भएको खुलेरै स्विकारे।

कुशल भुर्तेलको सानदार सुरुआत, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको ८२ रनको साझेदारी वा लोकेशको आक्रामक प्रदर्शन मुख्य आकर्षण रहे।

तर नेपालको प्रशंसा हुनुको मुख्य कारण त्यति मात्र होइन, टोलीको खेलको अवस्थाअनुसारको रणनीतिक सुझबुझ र खेलको ‘क्लास’ को भएको हो।

भारतीय पूर्वक्रिकेटर इरफान पठानले भने, ” मैले दीपेन्द्रसिंह ऐरीको कला हेरेँ, उनको ब्याट र खुट्टा गजबले नाचिरहेको थियो।”

नेपालको सर्वत्र तारिफ भइरहँदा ठिकविपरीत इङ्ग्लिश टोली भने सम्भाव्य ऐतिहासिक हारबाट जोगिएको थियो।

कहाँ चुक्यो नेपाल
नेपालले यति प्रशंसा बटुलिरहँदा पनि कहीँ कतै कुनै ठाउँमा यस्तो मिहिन ‘दूरी’ देखियो, जसले अन्ततः नेपालको भागमा हार पर्न गयो, अनि इङ्ग्ल्यान्डका खेलाडीहरूले आफू टेस्ट राष्ट्र भएको प्रमाणित गरिदिए।

हारको पीडासँगै एउटै प्रश्न फेरि दोहोरिएको छ। त्यो दूरी के हो जहाँ नेपाल बारम्बार चुकिरहेको छ?

ठिक दुई वर्षअगाडिको टी२० विश्वकपमा नेपाली टोली दक्षिण अफ्रिकासँग १ रनले पराजित हुँदा पनि यही प्रश्न उठेको छ।

अर्थात् नेपालको समस्या ज्यूँका त्यूँ नै छ।

टेस्ट राष्ट्रको हकमा हेर्ने हो भने ७ बलमा १० रन बनाउनु भनेको सहज अवस्था हो।

नेपालका हकमा पनि ठूलो शट खेल्न माहिर करण केसी र क्रीजमा मज्जाले जमिसकेका लोकेश बमबाट त्यति रनको आशा गर्नु सामान्यतः स्वाभाविक देखिनुपर्ने हो।

यस्तै बेला टेस्ट राष्ट्र र असोसिएट खेलाडीबीचको भिन्नता देखिने गर्छ।

नेपाली टोलीका पूर्वकप्तान दीपेन्द्र चौधरी भन्छन्, “यस पालि पनि त्यही भएको हो। हाम्रा खेलाडीहरू अब्बल छन्। यद्यपि एउटा मिहिन खाडल बाँकी नै छ। हामी स्किलमा चुकेका होइनौँ, अनुभवमा पछि परेको मात्र हो।”

अब आवश्यक सुधार

समग्रमा भन्नुपर्दा नेपाली टोली पहिलो खेलमा तारिफको हकदार बनेको छ।

चौधरी भन्छन्, “प्राविधिक प्रगति, बलियो मानसिकताको विकासमा अब काम सुरु गर्नुपर्छ।”

मुख्यतः नेपालले ‘डेथ ओभर’ बलिङमा सुधार गर्नु जरुरी देखिन्छ। करण केसीको अन्तिम ओभरको २१ रन नेपाललाई भारी पर्न गयो।

लोकेश बमले अन्तिम बल आफैँले सामना गर्ने निर्णय लिनु बहादुरीपूर्ण थियो। तर दबावविहीन भएर ‘फिनिसिङ’ गर्नु अझै जरुरी देखिन्छ।

नेपाल प्रतियोगिताबाट बाहिरिएको छैन। रन रेट बटुलेको छ र बाँकी तीन खेलमा फेरि मौका बन्ने अवस्था छ।

Share Now